८० बर्षीया न्यान्सी पेलोसी प्रतिनिधिसभा सभामुखमा निर्वाचित

अमेरिकाको ११७ औं संसदको प्रतिनिधिसभाले सभामुखमा ८० बर्षीया न्यान्सी पेलोसीलाई निर्वाचित गरेको छ । पेलोसी आगामी २ बर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पेलोसी विगत १७ बर्षदेखि प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टी नेता रहदै आएकी छिन् ।

अमेरिकामा प्रतिनिधि सभाको सभामुख पद वासिंटनको तेश्रो ठूलो पद हो । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको पदका रुपमा सभामुखलाई लिइन्छ । यदि अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ । अमेरिकी विदेशमन्त्री सभामुख पछिको दर्जा हो ।

आजदेखि सुरु संसद महिला, अल्पसंख्यक र समलिंगी तथा तेश्रो लिंगीहरुको सहभागिताका सन्दर्भमा इतिहासमा नै सबैभन्दा धेरै विविध छ । संसदको तल्लो सदन प्रतिनिधिसभामा निर्वाचित हुने रिपब्लिकन महिला सांसदको संख्याले पनि रेकर्ड ब्रेक गरेको छ ।

गत नोभेम्बर ३ मा सिनेटरका लागि एकसयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो । निर्वाचित सांसदहरुले आज सपथग्रहण गरेका छन् । नयाँ संसदको सुरुवातको मिति संविधानले नै तय गरेको छ ।

सिनेट र प्रतिनिधिसभामा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी रहेको छ । जनवरी ५ मा जर्जियामा हुने निर्वाचनले २ जना सिनेटरको संख्या पूर्ति गर्नेछ । नोभेम्बर ३ को चुनावपछि सिनेटमा ४८ जना डेमोक्र्याट्स र ५० जना रिपब्लिकन सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *