गतमहिना अर्थात् मार्चमा ५१ जना नेपालीको एसाइलम अमेरिकाको अध्यागमन अदालतबाट स्वीकृत भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार गतमहिना ११९ जना नेपालीहरुको मुद्दामा सुनुवाई भएर विभिन्न निर्णयहरु दिइएकोमा झण्डै ४३ प्रतिशतको एसाइलममात्र स्वीकृत भएको छ ।
अदालतले २१ जना नेपालीलाई देशनिकालाको आदेश दिएको छ । ३२ जना नेपालीको भने अदालतले प्रकृया खारेज गरेको छ । अध्यागमन अदालतले उनीहरुको देशनिकालाको मुद्दा खारेज गरेको हो । प्रशासनिक क्लोजर, पीडी, अन्य माध्यमबाट ग्रिनकार्ड लगायतका कारणले अध्यागमन अदालतले मुद्दाको प्रकृया खारेज गर्छ ।
अमेरिकाको अध्यागमन अदालतले आर्थिक बर्ष २०२३ को मार्चसम्ममात्र ६६२ जना नेपालीको एसाइलमको सुनुवाई गरेर विभिन्न निर्णयहरु दिएको छ । यो अवधिमा ३५५ जनाको एसाइलम स्वीकृत गरिएको छ भने १०९ जनालाई देशनिकालाको आदेश दिइएको छ । त्यस्तै २ जनालाई आफै देश छाड्न आदेश दिइएको छ भने ११६ जनाको एसाइलम प्रकृया रद्द गरिएको छ ।

आर्थिक बर्ष २०२३ को मार्चसम्म ३५ जनालाई पीडी प्रदान गरिएको छ भने ५ जनाको क्रेडिवल फियर नै अस्वीकार गरिएको छ । अरु ५ जनाको क्रेडिबल फियर स्वीकार गरिएको छ । आर्थिक बर्ष २०२३ को मार्चसम्म सुनुवाई गरिएका ६६२ मध्ये सबैभन्दा धेरै २३९ जनाको सुनुवाई न्युयोर्कको न्युयोर्क सिटीमा र ५१ जनाको सुनुवाई न्युयोर्क ब्रोडवेमा गरिएको थियो । १२१ जनाको सुनुवाई क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा गरिएको थियो ।
अहिलेसम्मको इतिहासमा १३ हजार ५१ जना नेपालीहरुको एसाइलम आवेदन अदालतमा सुनुवाई गरिएको छ । जसमध्ये ६ हजार ५ सय ७१ जनाको एसाइलम अदालतबाट स्वीकृत गरिएको छ भने १ हजार १ सय ४६ जनालाई देशनिकालाको आदेश दिइएको छ । १११९ को प्रकृया खारेज गरिएको छ भने ६०२ जनालाई आफै देश छाड्न आदेश दिइएको छ ।
अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् ।
एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे अनविज्ञ रहेका छन् । जसका कारण २० प्रतिशतभन्दा कम एसाइलीहरुलेमात्र त्यस्ता सुविधाहरु लिएका छन् ।
अमेरिकी सरकारको हेल्थ एण्ड ह्युमन सर्भिस डिपार्टमेन्ट अन्तरगत शरणार्थी पुनर्वास कार्यालयले यस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ । नगद सहायता, स्वास्थ्य सुविधा र रोजगार सुविधामात्र होइन, अँग्रेजी कक्षा र जागिरका लागि तालिम समेत उपलब्ध गराइदै आएको छ ।
तर यस्ता सुविधाहरु एसाइलम स्वीकृत भएको मितिले निश्चित अवधिभित्रमात्र लिनसकिन्छ । ग्रिनकार्ड आवेदन दिंदासमेत काम गर्ने निशुल्क स्वास्थ्य जाँचको सुविधा एसाइलम स्वीकृत भएको तीनमहिनाभित्र लिन सकिन्छ । शरणार्थी नगद सहायता र मेडिकल इन्सुरेन्स एसाइलम स्वीकृत भएको ८ महिनाभित्र लिनसकिन्छ ।
निशुल्क अँग्रेजी कक्षा, जागिरको तालिम, रोजगार सहायता लगायतका सुविधाहरु एसाइलम स्वीकृत भएको ५ बर्षभित्र लिन सकिने प्रावधान रहेको छ । एसाइलीले लिने सुविधाहरु उचित समयभित्र प्राप्त गर्नका लागि एसाइलम स्वीकृत हुने वित्तिकै पुनर्वास सेवासँग सम्पर्कमा रहन आवश्यक छ । मुख्य एसाइलीमात्र नभई उनीहरुका दम्पत्ति र छोराछोरीहरु समेत यी सुविधाहरु लिन योग्य हुन्छन् ।
कतिपय एसाइलीहरु भविश्यमा अध्यागमन सुविधामा असर पर्ने डरले एसाइलीका रुपमा पाइने सुविधा लिन हिचकिचाएको पाइन्छ । तर एसाइलीका रुपमा लिइने कुनै पनि त्यस्ता सुविधाले भविश्यमा ग्रिनकार्ड वा नागरिकता आवेदन दिंदा कुनै नकारात्मक असर नपर्ने र ढुक्क भएर त्यस्ता सुविधा लिन सकिने कानून व्यवसायी ज्यासन जुबोको भनाई छ ।
from Khasokhash