६ महानगरको मतपत्रमा उम्मेदवारको मात्रै चुनाव चिह्न हुने

काठमाडौँ — निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ हुने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १ महिना अगाडि नै त्यस्तो निर्णय गरिएको भन्दै शनिबार सबै महानगर र भक्तपुरका चारवटै नगरपालिकाको मतपत्रमा उम्मेदवारको मात्रै चुनाव चिह्न हुने जानकारी दिएका हुन् ।

अन्य पालिकाको मतपत्रमा पनि उम्मेदवार रहेको दलको मात्रै चुनाव चिह्न राख्न समयको अभावले नसकिने भएकाले ६ महानगरपालिका र भक्तपुरका ४ पालिकाको मतपत्रमा मात्रै उम्मेदवार हुने दलको मात्रै चुनाव चिह्न हुने थपलियाले बताए । ‘भक्तपुरका ४ नगरपालिका र ६ महानगरपालिकाको मतपत्र १७ गते उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भइसकेपछि डिजाइन गरेर छपाइका लागि पठाउने आयोगले तयारी गरेको छ । यो एक महिना अगाडि गरेको निर्णय हो,’ उनले भने ।

निर्वाचनको मिति तय गरेर निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेपछि मतपत्र छपाइ र ढुवानीको अवधि हेरेर काम भइरहेको पनि थपलियाले बताए । मुलुकभर ८७ प्रकारका मतपत्र डिजाइन छपाइको काम भइरहेको पनि उनले बताए ।

उम्मेदवारी तय भएपछि मात्रै मतपत्र छपाउने हो भने ६ हजार सात सय ४३ प्रकारका मतपत्र छाप्नुपर्ने भएकाले नसकिएको थपलियाको भनाइ छ ।

अन्य पालिकाका लागि भने त्यसरी उम्मेदवारको अन्तिम नामावली आएपछि मात्रै मतपत्र छाप्न सक्ने अवस्था नरहेको उनले बताए । इलेक्ट्रोनिक भोटिङमा नजाने हो भने अहिलेको अवस्थामै जानुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.