राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ। आइतबार सरकारबाट बाहिरिएसँगै रास्वपाका तीन जना मन्त्रीले राजीनामा पनि दिएका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन्।
रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि गत शुक्रबार लामिछानेले राजीनामा दिएका थिए।
आइतबार निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४० दिन नपुग्दै टुंगिएको छ। गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए। रास्वपाका अन्य मन्त्रीहरूले भने माघ ३ गते मात्र सपथ लिएका थिए।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो। अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।
आइतबार लामिछानेले पत्रकार सम्मेलन गर्दै सरकारबाट बाहिरिने जानकारी दिएका थिए। पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए। उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए। लामिछानेको उक्त अभिव्यक्ति अशोभनीय भएको भन्दै पत्रकार महासंघले आपत्ति पनि जनाएको छ।
‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्छ। साथै आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्छ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
काठमाडौं । सरकारमा सहभागी भएको ४२ औं दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएको छ । आइतबार साँझ रास्वपाका मन्त्रीद्वय डीपी अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका छन् ।
आइतबार दिउँसो पार्टी कार्यालय, बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन जारी राख्ने, तर सरकार छाड्ने निर्णय गरेको थियो ।
नेताहरुका अनुसार सरकार छाड्ने निर्णयमा पुग्नुको मुख्य कारण गृह मन्त्रालय नदिनु नै हो । तर प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै गठबन्धनमा खटपट सुरु भइसकेको थियो र त्यसको मारमा आफूहरु पर्न थालेको रास्वपाका नेताहरु बताउँछन् ।
१० पुसको विहानसम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्डले गठबन्धन बदलेका थिए । र उनलाई प्रधानमन्त्री बनाउन संसदमा २० सिट भएको रास्वपा ‘निर्णायक’ बनेको थियो । त्यही कारण ११ पुसमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका थिए ।
तर प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म पुग्दा नपुग्दै गठबन्धनमा खटपट सुरु भइसकेको थियो । संसदको पहिलो बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले गरेको प्रतिनिधिसभा विघटन सही थियो भन्दै बचाउ गरे भने प्रधानमन्त्री प्रचण्डले फरक मत राखे । भोलिपल्ट कांग्रेसले विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा एकअर्काप्रति आशंका झन् बढ्यो ।
त्यसको मारमा आफूहरु परेको रास्वपाका नेताहरु बताउँछन् । उनीहरुका अनुसार रास्वपालाई ४ मन्त्रालय दिने सहमति भएको थियो । तर सुरुमा मन्त्रीहरुको नियुक्तिमा आनाकानी भयो, बल्ल बल्ल मन्त्रिपरिषद् विस्तार हुँदा पनि रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री मात्र पायो । रास्वपाका एक सांसद भन्छन्, ‘राष्ट्रिय योजना आयोगको नियुक्तिमा हामीसँग कुनै सल्लाह भएन । हामीले जिम्मेवारी पाएको मन्त्रालय मातहतका नियुक्तिमा समेत हस्तक्षेप हुन थाल्यो ।’