३५ हजार पदमा गठबन्धनकै ७४ हजार उम्मेदवार

काठमाडौँ — गठबन्धनका पाँच दलको मात्रै आवश्यक पद भन्दा दुइ गुना बढी उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी एमालेसँग भिड्न चुनावी मैदानमा उत्रिएको गठबन्धन आफैंभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको छ । ७ सय ५३ पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित सदस्यसहित ३५ हजार २ सय २१ पदमध्ये गठबन्धनभित्रकै दलबाट प्रतिस्पर्धा गर्ने गरी ७४ हजार ७ सय २४ जनाको उम्मेदवारी परेको हो ।

सत्ता गठबन्धन दलबीच करिब दुई दर्जन जिल्लामा मात्र ‘सेट’ मै तालमेल भएकाले बाँकी जिल्लामा ती दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनभित्रै आपसमा प्रतिस्पर्धा हुन थालेपछि संयन्त्रको बैठकले बुधबारसम्म तालमेल मिलाउन निर्देशन दिएको छ । संयन्त्रको बैठकपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गरी गठबन्धनभित्रबाट मात्रै तालमेल गर्न निर्देशन दिएका हुन् । निर्देशन नमाने कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । ‘गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने’ पाँच दलका प्रमुखहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आयोगबाट बुधबार अपराह्न प्राप्त तथ्यांकअनुसार सबै पालिकामा १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ । ७ सय ५३ प्रमुख र अध्यक्ष पदमा गठबन्धनबाट मात्रै १ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ । प्रमुख र अध्यक्ष पदमा कांग्रेसबाट ५ सय ७० जनाले उम्मेदवारी दिएका छन् । प्रमुख र अध्यक्षमा माओवादीबाट ४ सय ६४, जसपाबाट ३ सय ४७, नेकपा एकीकृत समाजवादीबाट ३ सय ३७, जनमोर्चाबाट ८५ पालिकामा उम्मेदवारी परेको छ । एमालेले भने ७ सय ३६ पालिकामा उम्मेदवारी दिएको छ । एमालेले भरतपुर महानगरमा राप्रपासँग तालमेल गरेको छ ।

प्रमुख र अध्यक्षमा जस्तै उपाध्यक्ष/उपप्रमुखमा पनि गठबन्धनको तालमेल न्यून देखिएको छ । ७ सय ५३ पदका लागि उपाध्यक्ष र उपप्रमुखमा गठबन्धनबाट १ हजार ७ सय ९३ उम्मेदवार छन् । कांग्रेसबाट ५ सय ७०, माओवादीबाट ५ सय २५, जसपाबाट २ सय ९३, नेकपा एकीकृत समाजवादीबाट ३ सय ५७ र जनमोर्चाबाट ४६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा प्रायः सबै दलले उम्मेदवारी दिएको देखिन्छ । ६ हजार ७ सय ४३ वडामा गठबन्धनको उम्मेदवार २ गुनाभन्दा बढी छन् । आयोगका अनुसार वडाध्यक्षमा गठबन्धनका उम्मेदवार १५ हजार २ सय २९ जना छन् । जसमा कांग्रेसबाट मात्रै ६ हजार १ सय १६ जना छन् । माओवादीका ४ हजार ४ सय १२, जसपाका २ हजार ६२, समाजवादीका २ हजार ४ सय १५ र जनमोर्चाका २ सय २४ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनमा रहेका सबै दलले हरेक पालिकामा तालमेल नगरेको बताए । ‘कांग्रेसको संगठन व्यापक भएकाले वडा–वडामा आफ्नो उम्मेदवार उठाएको छ । अरू पार्टीको संगठन व्यापक छैन,’ उनले भने, ‘एमालेले जितेको ठाउँमा ०७४ मा कसको कति मतभार छ, त्यसकै आधारमा प्राथमिकता दिएर भागबन्डा गर्ने भनिएको थियो । गठबन्धन हुँदैमा सबै पद बाँड्ने भनेको होइन ।’

Leave a Reply

Your email address will not be published.