काठमाडौं। गत २४ घण्टामा उपत्यकामा दुई हजार ६७२ सहित पाँच हजार ८ जना नयाँ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार २२९ जना रहेको जानकारी दिए।
गत २४ घण्टामा १९ हजार ३२० मा पिसिआर गरिएको छ । त्यो सँगै हालसम्म ११ लाख ६४ हजार ५५७ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या चार हजार ६८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्वीनी एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदुरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ७४ हजार २५२ छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.२ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् । विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड–१९ बाट सङ्क्रमित हुनु भएको छ भने निको हुनेको सङ्ख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको छ ।