प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनको एक सय ६२ क्षेत्रको मतगणना सकिएको छ । दोलखा, स्याङ्जा २ र बाजुरामा भने मतगणना जारी छ ।
आयोगका अनुसार हालसम्म कुल सदर मतको तीन प्रतिशत थे्रसहोल्ड कटाएर सात पार्टी राष्ट्रिय दल बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको हो ।
एक सय ६२ क्षेत्रबाट दुई लाख ९४ हजार मात्रै मत प्राप्त गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्ने सम्भावना क्षीण देखिन्छ । राष्ट्रिय दल बन्न उसले हाल गणना भइरहेका तीन क्षेत्रका एक लाख ८० हजार मतबाट २३ हजार प्राप्त गर्न सके मात्रै थे्रसहोल्ड कटाउन सक्छ । आयोगका अनुसार थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत आवश्यक पर्छ ।
प्रत्यक्षतर्फ एक सय ६२ क्षेत्रको अन्तिम परिणाममा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, एकीकृत समाजवादीले १०, जसपाले सात, राप्रपाले सात र राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिट जितेका छन् । त्यस्तै, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमोर्चाले एक, नेमकिपाले एक, जनमत पार्टीले एक र पाँचजना स्वतन्त्रले जितेका छन् । गणना भइरहेका स्याङ्जा २ र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी उम्मेदवारले अग्रता लिएका छन् । यी तीनवटै क्षेत्रको अन्तिम परिणाम २० मंसिरसम्म आउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
एक सय ६२ क्षेत्रको समानुपातिक मत गणना पनि सकिएको छ । समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार शुक्रबारसम्म एक करोड तीन लाख ९२ हजार मत गणना सकिँदा एमालेले २७ लाख ७९ हजार मत पाएको छ । थ्रेसहोल्ड कटाएका सात दलमा सिट बाँडफाँड हुँदा एमालेले ३३ सिट पाउने देखिन्छ ।
त्यस्तै, २६ लाख ४८ हजार मत पाएको कांग्रेसले ३१ देखि ३२ सिट तथा ११ लाख ६१ हजार मत पाएको माओवादीले १५ सिट पाउने देखिन्छ । ११ लाख २१ हजार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ देखि १४ सिट पाउँछ । त्यस्तै, पाँच लाख ८६ हजार मत पाएको राप्रपाले सातदेखि आठ सिट, चार लाख २० हजार मत पाएको जसपाले पाँच सिट तथा तीन लाख ९४ हजार मत पाएको जनमतले कम्तीमा चार सिट पाउने वाग्लेले बताए । तीन क्षेत्रको मतगणनाबाट एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएमा यो अंकगणित फेरिनेछ ।
एक सय ६२ क्षेत्रको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको सबै गणना सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘तीन क्षेत्रको गणना जारी छ । बाँकी सबै सकिएको छ । आयोगको सूचना प्रणालीमा अद्यावधिक भइरहेको छ । शनिबारसम्म सबै तथ्यांक अपडेट हुन्छ,’ उनले भने । मतपरिणाम आएपछि प्रतिवेदन लेखन कार्य जारी रहेको र २६ गते राष्ट्रपतिलाई बुझाइने आयोगले जनाएको छ ।
थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत चाहिने
आयोगका अनुसार गणना भइरहेका तीन क्षेत्रमा सरदर ६० प्रतिशत मत खसेको छ । यो भनेको करिब दुई लाख २५ हजार मत हो । दोलखामा एक लाख ६१ हजार ४५० मतदाता रहेकोमा ९५ हजार मत खसेको छ । स्याङ्जा २ मा एक लाख १६ हजार ६७८ मतदाता रहेकोमा ६९ हजार ९२८ मत खसेको छ भने बाजुरामा ८३ हजार ५६७ मतदाता रहेकोमा ५९ हजार ७६५ मत खसेको छ ।
आयोगले यी क्षेत्रबाट कम्तीमा १ लाख ८० हजार मत सदर हुने अनुमान गरेको छ । योसहित कुल सदर मत एक करोड पाँच लाख ६० हजार पुग्ने बताउँछन् प्रमुख आयुक्त दिनेश थपलिया । उनका अनुसार यसमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दल मात्रै राष्ट्रिय दल बन्छन् । ‘थ्रेसहोल्ड कटाउन सरदर तीन लाख १७ हजार मत चाहिन्छ । अहिलेसम्म सात दलले तीन प्रतिशत कटाएका छन्,’ उनले भने । अहिले पाएको मतको ट्रेन्ड हेर्दा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना क्षीण हुँदै गएको उनको विश्लेषण छ ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ।
शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ।
यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ। यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाउँदै छौटौँ स्थानमा छ ।
जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ८३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ।
अन्य दलले १ लाखभन्दा बढी मत कटाएका छैनन्।
यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।
हेर्नुहोस् कुन दलले कति मत पाए?
नेपाल कम्युनिष्ट पार्टी (एमाले) – २७,७९,०७६
नेपाली काँग्रेस – २६,४८,०४१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) -११,६१,४०८
राष्ट्रिय स्वतन्त्र पार्टी -११,२१,१५५
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८६,०२७
जनता समाजवादी पार्टी, नेपाल -४,२०,९३८
जनमत पार्टी -३,९४,३६८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) -२,९४,०८३
नागरिक उन्मुक्ति पार्टी -२,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल -१,६७,२७८
नेपाल मजदुर किसान पार्टी – ७५,०४९
हाम्रो नेपाली पार्टी – ५५,६०१
मंगोल नेशनल अर्गनाइजेशन -४८,५१८
राष्ट्रिय जनमोर्चा – ४६,३५२
नेपाल संघीय समाजवादी पार्टी – ४१,८०६
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) -३०,४१३
राष्ट्रिय जनमुक्ति पार्टी – २३,८९४
जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८
नेपाल आमा पार्टी- १७,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -१७,७९७
बहुजन एकता पार्टी नेपाल -१७,०६४
नेपाली काँग्रेस (बी.पी.) -१२,४७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल -१२,२६३
नेपाली जनता दल – ९,९७०
बहुजन शक्ति पार्टी – ९,४३५
नेपालका लागि नेपाली पार्टी – ८,३९६
नेपाल कम्युनिष्ट पार्टी – ७,९९७
नेपाल लोकतान्त्रिक पार्टी – ७,६९२
नेपाल जनता पार्टी – ७,५०६
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२
मितेरी पार्टी नेपाल – ७,०४२
जनजागरण पार्टी नेपाल -६,५३५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,४०६
तराई मधेश लोकतान्त्रिक पार्टी – ५,९६७
जनसमाजवादी पार्टी, नेपाल – ५,८६६
सामाजिक एकता पार्टी – ५,७७९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,१००
विवेकशील साझा पार्टी – ४,०३४
एकीकृत शक्ति नेपाल – ३,७५७
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ३,४०३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ३,३३०
मौलिक जरोकिलो पार्टी – ३,२१३
नेपाल समावेशी पार्टी -२,९५०
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन -२,१९१
राष्ट्रिय नागरिक पार्टी -२,१४१
नेश्नलिष्ट पिपल्स पार्टी – २,०१५