काठमाडौं : पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।
प्रवक्ता डा. पौडेलका अनुसार १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार २१९ जनाले कोरोना जितेका छन्। यो ८० दशमलव ८ प्रतिशत हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १०१ जनाको कोरोनाबाट मृत्यु भएको छ।
हालसम्म १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ८३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा १४ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ९६९ भक्तपुर १८१ र ललितपुरमा ३०६ जनामा संक्रमण देखिएको हो।
काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञा १० दिन थप भएको छ।
उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाको समय थपिए पनि यसको मोडालिटी परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान ९ बजेसम्म खुल्ने दिने निर्णाय गरेको हो।
प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको छ।
अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ। उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन्। आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो।
यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा बिहीबार राति मध्यरातमा सकिँदै छ। सीडीओ कार्यालयले यसअघि खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको थियो।
केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ। विज्ञले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।
मंगलबार कोरोना संक्रमणबाट ६ हजार ८५ जनामा संक्रमण पुष्टि थियो। २० हजार १६५ नमूनामध्ये ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १७ हजार १४७ नमूनाको पीसीआर र ३ हजार १८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ हजार ८९८ जनाले स्वास्थ्य लाभ गरेका थिए भने ६८ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ४७ हजार ८९ पुगेको छ।