हुन्डीको स्वरूप बदलियो, रेमिटेन्सका नाममा फेसबुक र भाइबरबाट कारोबार

हेमन्त काफ्ले

सिड्नी, 

केही समय अगाडि निर्वाध रूपमा मनी ट्रान्सफरका नाममा कार्यालय खोलेर अस्ट्रेलियाबाट गरिने हुन्डी कारोबारको स्वरूप पछिल्लो दिनमा फेरिएको छ।

अहिले विविध नामका एप्स मार्फत रेमिटेन्सको नाम दिएर दिनहुँ करोडौंको कारोबार हुन थालेको छ।

अस्ट्रेलियाबाट पैसा उठाएर सिंगापुर, हङकङ तथा चीन पठाएर वा यतैका कारोबारीलाई दिएर दर्जन बढी संघ संस्थाले निर्वाध रूपमा कारोबार गरिरहेका छन्।

यसका लागि स-सना पसलमा पैसा उठाउनेको बिगबिगीनै छ।

सिड्नीका ४-५ जना व्यवसायीको नेतृत्वमा सक्रिय गिरोहले अष्ट्रेलियाभर पोष्टर र रेमिटेन्सका एप्स बनाएर उपहार योजनासहित आकर्षक रेट दिने होडबाजी चलेको छ।

हरेक दिन सिड्नीमा हुने बैठकले डलरको कमिसनका आधारमा मूल्य निर्धारण गरेर त्यसै अनुरूप दिनभर कारोबार हुने गरेको छ।

अहिले अस्ट्रेलियाबाट करिब दस करोड रूपैयाँ दैनिक नेपाल पठाउने गरिन्छ तर त्यो पैसाको केही अंशबाहेक अधिकांश रकम अन्य मुलुकका कारोबारीसमक्ष पुग्ने गर्छ।

नेपाल सरकारको तथ्यांक अनुसार अस्ट्रेलियाबाट नेपाल जाने डलरको अवस्था एक प्रतिशतभन्दा कम देखिन्छ। त्यसैले नेपाल र अस्ट्रेलियाबीचको ब्यापार घाटा ठूलो देखिएको छ।

उच्च शिक्षा अध्ययनका लागि वर्षेनी हजारौंको संख्यामा आउने नेपाली विद्यार्थीले अर्बौ रूपैयाँ अस्ट्रेलिया भित्र्याएका छन्। तर उनीहरूले यताबाट कमाएर नेपाल पठाएको रकम अवैध बाटोबाट जाने भएकाले सरकारी तथ्यांकमा देखिदैन।

अस्ट्रेलियाबाट नेपाल पैसा पठाउनेमा सबैभन्दा बढी नेपाली विद्यार्थी छन्। उनीहरूको संख्या अहिले करिब ७५ हजार हाराहारी छ। त्यसबाहेक अन्य पिआर र नागरिकहरूले पनि कारोबार गर्ने गर्छन्।

पहिले खुलेआम हुँदै आएको हुन्डी कारोबारको आवरण यतिखेर बदलिएको छ। हुन्डी कारोबार गलत भएको आवाज उठेपछि उनीहरू एप्स बनाएर बिभिन्न रेमिटेन्सको नाममा कारोबारलाई निरन्तरता दिएका छन्।

नेपालको कुनै निजी बैंकमा आवद्धता भन्दै विभिन्न नाम दिएर रेमिटेन्स कम्पनी खोलेर फेसबुक र भाइबरमार्फत पैसा उठाउनेको ताती छ।

यता पैसा बुझाएको एक-दुई घन्टामै नेपालको बैंक खातामा पैसा हालिदिने गरेर उनीहरूले चमत्कारीक काम गर्न थालेका छन्।

कुनै कुनैले त ‘एक घन्टामै पैसा खातामा’ भन्ने नारा सहितको प्रचार गरेका छन्।

बैंकर अनिल शाहले विदेशमा कमाउन आएका नेपालीले केही बढी पैसाको लोभमा वैधानिक बाटो छोडेर हुन्डीमार्फत पैसा पठाउने गरेको बताएका थिए।

केही समय अगाडि सिड्नीमा आयोजित कार्यक्रममा बोल्दै भनेका थिए, ‘चाँडै पुग्ने, चार रूपैया फाइदा हुने बाटो सबैले अपनाउँछन्। तर यो पैसा हङकङ र ग्वान्जाउ पुग्छ, नेपाल पुग्दैन भन्ने कुरो बुझाउनु जरूरी छ।’

उनले सबै कुरा बुझेर जिम्मेवार नागरिक भए मात्र हुण्डिको कारोबार रोकिने दाबी गरेका थिए। ‘सबै कुरा बुझेर नागरिक जिम्मेवार भए मात्र हुन्डीको अन्त्य हुने र आधिकारीक च्यानलमार्फत पैसा नेपाल भित्रिनेछ।’

बैंकर शाहले राज्यको कमजोर नीतिको फाइदा उठाउँदै केही बढी पैसाको लोभमा नेपाली मुलका नागरिकबाटै अस्ट्रेलियामा हुन्डी व्यवसाय फस्टाएको आरोपसमेत लगाएका छन्।

यसैबीच नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अस्ट्रेलियामा मान्यताप्राप्त रेमिटेन्स कम्पनी रहे पनि उनीहरूले आधिकारीक च्यानलबाट काम गरे-नगरेको उनीहरूकै ब्यवहारबाट स्पष्ट हुने बताए।

‘यदि उनीहरूले पठाएको पैसा बैकिङ च्यानलमार्फत आयो भने त्यो आधिकारीक हो नत्र होइन’, उनले सेतोपाटीसँग भने, ‘तर एक घन्टा वा दुई घन्टामा नेपालमै पैसा पुग्ने र अन्य निजी बैंकको सहकार्यमा भने जस्ता विषय आधिकारीक नहुन सक्छन्।’

प्रवक्ता भट्टका अनुसार कसैले हुन्डीमार्फत पैसा पठाएको भए त्यसको सुरक्षाको जिम्मेवार बैंकले नलिने बताए।

प्रवक्ता भट्टले राष्ट्र बैंकसँग आवद्धता प्राप्त केही अन्तर्राष्ट्रिय रेमिटेन्स अस्ट्रेलियामा भए पनि त्यसबाट कति रकम नेपाललाई प्राप्त भयो भन्ने विषयमा यकिन जानकारी नभएको बताए।

पछिल्लो पटक मेलवर्नमा एक हुण्डिवालले नेपाल पैसा पठाउने बहानामा करिब तीन करोड रूपैयाँ ठगि गरेको र कारबाहीमा समेत परेको धेरै भएको छैन।

यस्तै पछिल्लो एक महिना अगाडि एक नेपाली विद्यार्थीले घर पठाएको ८ हजार डलर गायब बनाएर ग्रानभिल (सिड्नी) का एक हुन्डीवाल बेपत्ता भएका थिए।  त्यसपछि केही सुस्ताएको हुण्डि कारोबार अहिले फेरि अस्ट्रेलियाका नेपाली दोकान र चोक चोकमा बढेका छन्।

यस्ता घटना दिनहुँ भइरहन्छन् तर कतिपय बाहिर आउँदैनन्। नेपाल सरकारका कमजोर नीति र हुण्डिको बढ्दो प्रभावका कारण अस्ट्रेलियामा कयैन नेपाली विद्यार्थीको पैसा डुब्यो र फस्यो भन्ने खबर आउने क्रम चलिरहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *