नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।
५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ ।
समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।
अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् । पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद भइसकेकी छन् । स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो । विदेश गएका र मरेका व्यक्तिको नाममा मतदान भएको आरोप लगाउँदै एमाले लगायतका दलहरुले पु: मतदानको माग गरेर आन्दोलन गरेपछि १० दिनसम्म मतगणना रोकिएको हो । निर्वाचन आयोगको निर्देशन अनुसार बुधबार रातीदेखी मतगणना सुरु गरिएको थियो । यहाँ सम्पन्न भएसँगै गण्डकी प्रदेशमा मतगणना सम्पन्न भई चुनावी परिणम सार्वजानिक भइसकेको छ ।
बाजुरामा जारी मतगणनामा शनिबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदावरहरूको अग्रता छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन् ।

पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत पाएका छन् । कांग्रेुका पाण्डे एमालेका थापाभन्दा २ हजार २२४ मतले अगासड छन् ।
प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगासड छन् । शाहीले ५ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार बलदेव रेग्मीले ३ हजार ९२८ मत छ ।
यस्तै प्रदेश सभा (२) तर्फ कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ९ हजार २२ मत पुग्दा एमाले उम्मेदवार लालबहादुर थापाको ७ हजार ४४७ मत छ ।
बाजुरामा कूल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ । प्रदेश (१) मा २० हजार ९९४ र (२) मा २९ हजार १५८ मत खसेको छ ।