काठमाडौँ — संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।

बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ । कांग्रेसका तर्फबाट महाराजगन्जको उपप्रमुख उम्मेदवार सुभावती कुर्मीको मंगलबार मृत्यु भएकाले जेठ ३ मा निर्वाचन हुनेछ । त्यस्तै दाङको तुलसीपुर नगरपालिका–१७ को निर्वाचन पनि जेठ ३ लाई तय गरिएको छ । एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मृत्यु भएपछि निर्वाचन सरेको हो ।
निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ४ सय ९६ जना छन् । करिब २१ लाख मतदाता रहेको अनुमान छ ।
पालिकाअनुसार सबैभन्दा बढी काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता छन् । प्रदेशअनुसार सबैभन्दा बढी मतदाता प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ मतदाता छन् । मतदानस्थल पनि प्रदेश १ मा सबैभन्दा बढी १ हजार ८ सय ७७ छ ।
निर्वाचनबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । ‘यो महत्त्वपूर्ण दिनमा आफ्नो मतको विवेकपूर्ण उपभोग गरी मतदानमा सहभागी भइदिन मतदातालाई आग्रह गर्छु,’ उनले भने, ‘मतदान ५ वर्षमा एकपटक मात्रै आउने भएकाले कोही पनि विमुख हुनु
हुँदैन । अवरोधबिना मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिदिन सबैलाई आग्रह गर्दछु ।’ निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउन सबै व्यवस्थापन सकिएको उनले बताए । शान्तिपूर्ण वातावरणमा मतदानको अधिकार सुनिश्चित गर्न सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको आयोगले जनाएको छ । कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।
निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् । यसमा ८९ हजार ३ सय १३ पुरुष र ५५ हजार ६ सय ९८ महिला उम्मेदवार छन् । आयोगका अनुसार २ सय ९३ नगर प्रमुखको पदमा ३ हजार २ सय ३८ जना र ४ सय ६० पालिकाको अध्यक्षमा ३ हजार ९२ जनाले उम्मेदवारी दिएका छन् । २ सय ९२ उपप्रमुखको पदमा १ हजार ९ सय ६४ र ४ सय ६० उपाध्यक्षको पदमा २ हजार १ सय ६३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै ६ हजार ७ सय ४३ वडा अध्यक्षको पदमा ३२ हजार ४ सय ९५ ले उम्मेदवारी दिएका छन् । ६ हजार ७ सय ४३ महिला सदस्यको पदमा २५ हजार ६ सय जना प्रतिस्पर्धामा छन् । १३ हजार ४ सय ८६ खुला वडा सदस्य पदमा ५३ हजार १ सय ७४ जना र ६ हजार ७ सय ४३ दलित महिला वडा सदस्यमा २३ हजार २ सय ८५ ले उम्मेदवारी दिएका छन् ।
आयोगले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरेको छैन । आयोगले विगतमा परिचयपत्र नपाएका, हराएका र नयाँ मतदातालाई मतदान केन्द्रबाटै बुधबार र बिहीबार परिचयपत्र वितरण गरिसकेको छ । परिचयपत्रमा नाम भएकाले परिचयपत्र नभएर मतदानबाट वञ्चित हुनु नपर्ने व्यवस्था आयोगले मिलाएको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको पनि मताधिकार सुरक्षित गरिएको आयोगले जनाएको छ । मतदाताले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र र फोटोसहितको जग्गाधनी पुर्जा देखाएर पनि मतदान गर्न सक्ने छन् । फोटोसहितको जुनसुकै प्रमाण देखाए पनि मतदान गर्न पाउने आयोगले जनाएको छ । ‘मतदाता नामावलीमा नाम नभएका व्यक्तिले भने जुनसुकै कागज देखाए पनि मतदान गर्न पाउने छैन,’ थपलियाले भने ।
निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम विभागले अनुमान गरेको छ । पानी परे पनि मतदान प्रभावित नहोस् भन्नका लागि आयोगले मतदानस्थलमा त्रिपाल, प्लास्टिकको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ । मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने ठाउँमा ‘भित्र’ र बाहिर निस्कने ठाउँमा ‘बाहिर’ लेखिएको कार्ड राखिएको हुन्छ । मतदान केन्द्रमा महिला र पुरुष मतदाता अलग–अलग रूपमा लाम लाग्ने ठाउँको व्यवस्था गरिएको हुन्छ ।
त्यस्तै, मतदाताको नाम रुजु गर्ने कर्मचारी र लाममा बसेका मतदाताबीचमा सुरक्षाकर्मी खटिनेछन् । नाम रुजु गर्ने कर्मचारी, नमेटिने मसी वा मार्करले औंलामा चिनो लगाउने महिला स्वयंसेवक र मतपत्र दिने सहायक मतदान अधिकृत खटिएका हुन्छन् । मतदान केन्द्रमा उम्मेदवार र उसले तोकेको प्रतिनिधि पनि बसेका हुन्छन् ।
मतपत्रको अधकट्टीमा मतदाताले हस्ताक्षर गर्नुपर्ने हुन्छ । मतदान अधिकृत वा सहायक मतदान अधिकृतले मतदातालाई मतपत्र दिनुभन्दा पहिले नै मतपत्रको अर्धकट्टीको माथिको भागमा हस्ताक्षर गर्नुपर्छ । लेख्न नसक्ने मतदाताको दायाँ हातको बुढीऔंलाको छाप लगाउने व्यवस्था गरिएको छ । मतदान गरेको संकेतका रूपमा हातको बुढीऔंलामा नङ र मासुको जोर्नीमा नमेटिने मसीले चिनो लगाइदिन्छन् । कसैले पनि दोहोर्याएर मत हाल्न नआओस् भनेर मतदान गरेको प्रमाणका रूपमा मसी लगाउने गरेको हो ।
मतपत्र लिन मतदान अधिकृतले हस्ताक्षर गरेको मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । हस्ताक्षर नभएको मतपत्रमा छाप लगाएमा बदर भएको मानिन्छ । मतदान अधिकृतले गर्भवती, अशक्त, वृद्ध, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिनेछन् । कुनै मतदाताले मतदान सम्बन्धमा आफूले नजानेको कुरा मतदान अधिकृतलाई सोध्न पाइन्छ । कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मतदान गर्ने/नगर्ने कुरा भने मतदान अधिकृतले सिकाउन पाइँदैन । दृष्टिविहीन वा शारीरिक रूपले अशक्तता भएका व्यक्तिलाई परिवारको सदस्यले सघाउन सक्नेछन् ।