स्थानीय तहको निर्वाचन: निष्ठावान नेता कार्यकर्ता पाखा परिवारवादमा केन्द्रित

शीर्ष नेताले स्थानीय तहको निर्वाचनमा  आफ्ना परिवारका सदस्य र आफन्तलाई टिकट बाँडेका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाको उम्मेदवार बन्नेमा नेताका पत्नी, छोराछोरी, भाइ, बुहारी, ज्वाइँ, भान्जाभान्जीहरू भाग्यमानी भएका छन्। अधिकांशको राजनीतिक पृष्ठभूमि नै छैन। राजनीति गरेको भए पनि टिकट पाउन योग्य होइनन्। पार्टी विधि, नीति, सिद्धान्तमा पोख्त, योग्यता, क्षमता र पार्टीमा वर्षौंदेखि योगदान गरेका व्यक्तिभन्दा शक्तिको आडमा परिवारका सदस्य र आफन्त स्थानीय सरकारको नेतृत्व लिन तम्सिएका छन्। पारिवारिक विरासतका नाममा राजनीतिक योगदानबिना नै पद ओगट्न आएका छन्। सजिलै निर्वाचन जित्न गठबन्धन बन्छ। गठबन्धनको टिकट बाँड्ने जिम्मा पार्टीको उपल्लो निकायले पाउँछ। त्यसमा पनि शीर्ष नेताकै हालीमुहाली र चलखेल हुँदा राजनीति नियुक्तिमा रहेको नातावाद र कृपावाद अहिले स्थानीय तहसम्मै पुगेको छ। लामो समय पार्टी राजनीतिक गरेका र निष्ठावान नेता कार्यकर्तालाई पाखा लगाउँदै शीर्ष नेताहरू नै परिवारवादमा केन्द्रित छन्।

 

वंश राजनीति विश्वमै पुरानो प्रवृत्ति हो। राजतन्त्रात्मक व्यवस्थामा परिवारवाद हुन्थ्यो। अहिले नेताले परिवारका सदस्य र आफन्तलाई सहजै टिकट दिए जस्तो त्यतिबेला सजिलो हुँदैनथ्यो। राज्यको नेतृत्व लिन योग्यता हुनुपथ्र्यो। योग्य बनाउन अस्त्र, शस्त्र, कूटनीति र राजनीति सिकाइन्थ्यो। अनि नेतृत्व हस्तान्तरण हुन्थ्यो। सहजै नेतृत्व नपाए मारकाट हुन्थ्यो।  नेपालको राजसंस्थाको वंश परम्परामा पनि राजा बन्नकै लागि दाजुभाइबीच काटमार चलेको इतिहास साक्षी नै छ। त्यही द्वन्द्वको फाइदा उठाउँदै राणा शासनको उदय भएको थियो। राणाको पतन पनि सत्ता र शक्तिको छिनाझप्टीमै भएको हो।  महाभारतमा पुत्र मोहले धृतराष्ट्रले एक सय वटा छोरा र राज्य गुमाउनु परेको थियो। गुरु द्रोर्णाचार्यले असत्यलाई साथ दिएका थिए। रामायण पनि पुत्र मोहको कथा हो। विश्वका यी अभ्यासले सत्ता र शक्तिको मोहले शासकलाई पतनकै मार्गमा डोर्‍याएको देखाउँछ। अमेरिकामा बुस र क्लिन्टन, सिरियामा बसर अल असद, उत्तर कोरियामा किम जोङ, भारतमा गान्धी, मुलायमसिंह यादव र लालुुप्रसाद यादव, पाकिस्तानमा भुट्टो, श्रीलंकामा सिरिमाओ र राजापाक्षे, बंगलादेशमा शेख हसिना, नेपालमा कोइराला र प्रचण्ड परिवारलाई वंश राजनीतिको मियोको रूपमा हेर्न थालिएको छ। परिवारवादकै कारणले धेरैको यात्रा ओरालो लागिसकेको छ। र, पनि नेताले चेतेका छैनन्। लोकतान्त्रिक व्यवस्थाभित्रै परिवारवादको विकृत प्रवृत्ति मौलाउँदै गएको छ।

चीनमा पनि सर्वोच्च कमान्डर माओत्सेतुङको पालामा उनकी पत्नी च्याङ चिङले पतिको उत्तराधिकारको नेतृत्व लिन खोजेकी थिइन्। माओपछिको पार्टी नेतृत्वले त्यसलाई सच्यायो। त्यस उपरान्त चीनमा नेताकै सन्ततिको आधारमा नेतृत्व लिने आँट कसैले पनि गरेको पाइएको छैन। पार्टीको नीति, विधि, योग्यता र क्षमताका आधारमा सत्ता र शक्तिको नेतृत्व निर्धारण हुन्छ। पार्टी कमिटीले सत्तामा जाने र हटाउने निर्णय गर्छ। त्यहाँ पार्टी पद्धति बलियो छ। त्यही पद्धतिले नेतालाई बलियो बनाउँछ। देशकै मूल नीति राजनीति बलियो भएकै कारण चीन विश्वकै शक्तिशाली राष्ट्रमध्ये एक भएको छ। तब न समुन्नत चीन निर्माण गर्न सम्भव भएको हो। उत्तरी चीनको सफल अभ्यासबाट हामीले किन नसिक्ने ? नेपालमा राजनीतिलाई शक्तिसँग जोडिन्छ। राज्यका उच्च पदको नियुक्तिमा सत्तापक्ष र प्रतिपक्षबीच दलीय भागबन्डा लाग्छ।

प्रजातान्त्रिक दल भने पनि पार्टीमा नेतृत्व र गुटको गँजुवा नेताको सर्वसत्तावाद हाबी छ। यसले दलभित्रै पनि भागबन्डा जन्माएको छ। सजिलै पाउने भागबन्डा परिवारका सदस्य र आफन्तका लागि हुनु दुर्भाग्यपूर्ण छ। नेता परिवारका सदस्य भएकै आधारमा सत्ता र शक्तिको बागडोर सम्हाल्न पाउनु संघीय गणतान्त्रिक मुलुकमा राम्रो संकेत होइन। राजनीति सेवाको क्षेत्र हो। इज्जत, पैसा र व्यक्तिगत शक्ति आर्जन गर्न राजनीतिमा पारिवारिक उत्तराधिकार लाद्नु प्रजातान्त्रिक अभ्यासको भद्दा मजाक हो। यस्तो अभ्यासले निस्वार्थ रूपमा देश र जनताको सेवा गर्ने शपथ खाएको राजनीतिज्ञ परिवारवादको मोहमा परेर भ्रष्टाचारको भासमा पर्छ। असल राजनीति र राजनीतिज्ञले मात्र देशलाई सद्मार्गमा डोर्‍याउँछ। अब्राहम लिंकनले भने झैं ‘जनताको, जनताको लागि जनताद्वारा गरिने’ उन्नत गणतान्त्रिक व्यवस्था हामीले चाहेका हौं भने सत्ता र शक्तिमा परिवारवादको अन्त्य हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *