सेनाको नेतृत्व परिवर्तन हुँदै कस्ता छन भावी सेनापति शर्मा

अबको तीन महिनामा कुनै ठूलो उथलपुथल नभए नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिने निश्‍चित छ । युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरेका शर्मा सेनाभित्र ‘एक्सन म्यान’का रूपमा चित्रण गरिने सैन्य अधिकारी हुन् । उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी वहन गरिरहेका छन् ।

उनीपछिका रथी ईश्‍वर हमाल फोर्स कमाण्डरका रूपमा ‘गोलन हाइट’मा कार्यरत रहेका कारण दुवै जिम्मेवारी उनमा आएको हो । छिमेकी भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्माले भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य शिक्षा/कला हासिल गरेका छन् । त्रिभुवन विश्‍वविद्यालयबाट इतिहासमा स्‍नातकोत्तर उनी सामूहिक नेतृत्वमा नै विश्‍वास गर्ने व्यक्तिको छवि बनाएका मिलनसार सैन्य अधिकारी हुन् ।

प्रधानसेनापतिले एक हजार दिन पूरा भएको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत आफ्नो कार्यकालमा भए-गरेका काम-कारबाही  समीक्षा गर्ने भएका छन् । भावि सेनापतिलाई परिचय गराउने  कार्यक्रम पनि छ ।

नेपाली सेनामा पहिलो पटक ब्राह्मण समुदायका शर्मा नेतृत्वमा पुग्‍न लागेका हुन् । हुन पनि संयोग नै मान्‍नुपर्छ, आठ पृतनाबाट तीन जोड एक कमाण्डमा गएको नेपाली सेनाको दुई स्थानको नेतृत्व पनि ब्राह्मणकै छ । क्षत्री समुदायबाट जनजातिको नेतृत्व (प्रधानसेनापति) एक पटक र अहिले ब्राह्मणमा नेतृत्व जान लाग्दा बाहिर अनेकन् हल्ला भइरहेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले त्यो हल्ला चिर्दै आएका छन् ।

थापाले नयाँ आउने नेतृत्वको टिमलाई आफ्नोमा सँगै सहकार्यमा लगाउन थालेका छन् । नयाँ नेतृत्वले आफू अनुकूलको संरचना तयार गर्ने प्रचलन हुन्छ । केही पुरानै र केही नयाँ टिम त्यहाँ रहन्छ ।

४३औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै गर्दा थापाले संगठनभित्रका आम समस्या स्वीकार गर्दै सुधार गर्ने पहिलो जिम्मेवारी सुनाएका थिए । संगठनको नेतृत्वकर्ता ठीक भए सबै ठीक हुने उनको बुझाइ थियो । त्यही अनुरूप उनले आँट गरे, कैँयनलाई कारबाही गरे, कैँयनले जागिर नै छोड्न पर्‍यो । उनले जिम्मेवारी लिएपछि खराब प्रवृत्तिमा रहेका र त्यससँग निकट मानिएका केही राम्रा पनि बिदा भए । प्रधानसेनापतिले लिएको ‘बोल्ड’ निर्णय थियो, यो ।

आगामी जेठ २३ गते उनले सेनामा जिम्मेवारी सम्हालेको एक हजार दिन पुग्दैछ । त्यही अवसरमा उनले आफूले गरेका कामका कमी-कमजोरी र भएका सुधारको समीक्षा गर्ने उनको सचिवालयले जनाएको छ । सेनाबारे बाहिर चल्ने नकारात्मक हल्ला चिर्ने काम उनले गरिसके .

सेनाभित्रको चेन अफ कमाण्ड र अनुशासनको विषयमा उनी निर्मम नै भए । अहिले पनि प्रधानसेनापति समय थप गर्न लागेको, वरियता बिगार्न खोजेकोलगायतका अनेकन् आरोप लागे तर उनले त्यसलाई चिरेका छन् ।

उनले आफू सेवा निवृत्त हुनुभन्दा तीन महिना अगावै भावी नेतृत्वलाई जिम्मेवारीको सहजिकरण गर्दै, सुम्पँदै गएको जानकारी पत्रकारलाई साक्षी राखेर नै दिने भएका छन् । उनको कार्यकाल भदौ २४ मा सकिदैछ । सेनाको परम्पराअनुसार साउन २४ बाट घरमा बस्‍ने हो तर उनले अगावै स्पष्ट पारिदिन लागेका हुन् ।

उनले साउन २३ गते नै त्यसबारे जानकारी दिएर बस्‍न सक्थे तर भ्रम चिर्न र एक हजार दिन पुगेपछि आफ्नो प्रतिबद्धता अनुरूपको काम भए/नभए बताउने र गर्न पर्ने कार्य आफ्ना सहकर्मीलाई बुझाउने जमर्को अनुरूप उनले कार्यक्रम राखेका हुन् ।

प्रधानसेनापति थापाले नेतृत्व वर्ग आफैँमा स्पष्टता, शुद्धता, इमानदारी, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताउँदै आएका र त्यसअनुरूपको छवि देखाएर जान लागेका छन् ।

उनले पटक-पटकको भेटमा भन्‍ने विषयमध्येको एक हो, ‘प्रधानसेनापति भएँ । एक दिन भूतपूर्व हुनैछ । मैले यस्तो नचाहिँदो कोसिस के आधारमा गर्ने ? किन समय थप्‍नु छ र मलाई ? समय थपेर अरु एक-दुई वर्ष नै बसेँ भने पनि त्यसपछि त भूतपूर्व भइहाल्छु । यो बाँचुन्जेल हुने पद होइन ।’

यहाँ जे पनि हल्ला चल्दो रहेछ भन्दै गम्भीर भएर पनि भन्‍ने गरेका थिए, ‘मेरो वरपर रहनुभएका मात्र होइन संगठनलाई नै स्पष्ट छ । म घोषित कार्यकाल सकेर विधिपूर्वक नै बिदा हुनेछु । आफैँ सुधारको कुरा गर्ने आफैँ पदावधि थपेर बस्‍ने काम गर्छु होला त ? नजिकबाट चिन्‍नेहरूलाई मेरो रोडम्याप स्पष्ट छ ।’

प्रधानसेनापति थापाको चरित्र हत्या गर्ने कामसमेत भए होलान् तर सेनाभित्र एक प्रकारको सुधारको हिम्मत उनले गरेको थापाका कटु आलोचकले समेत बताउने गरेका छन् । पृथ्वीनारायण शाह मुलुकको एकताको प्रतीक मात्र नभएर नेपाली सेनाका कुशल नेतृत्वको आरम्भकर्ताका रूपमा चित्रण गर्दै सेनाले राष्ट्रिय एकतामा प्रहार हुन नदिने वाचा गरेअनुरूप थापाले काम गर्दै आएका छन् । उनीपछि आउने नेतृत्वले पनि त्यसलाई निरन्तरता दिनेमा थापा ढुक्क छन् ।

सेनामा आउने नयाँ नेतृत्व निर्वाचन जितेर बाहिरबाट आउने पद त होइन किनकि एउटा राष्ट्रपति गएर अर्को राष्ट्रपति आउँदा पो अनेकन परिवर्तन होलान् । सेनामा त सँगै रहेर सारथीका रूपमा काम गरेकाले नै नेतृत्व सम्हाल्ने हुन् । त्यसैले ठूलो परिवर्तन हुँदैन । तर सामान्य टिम बनाउने र काम गर्ने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *