सुन तस्करी काण्डमा संलग्न एकजना ली नामका चिनियाँ नागरिक पनि पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागको टोलीले उनलाई आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
तस्करी काण्ड छताछुल्ल भएपछि भाग्न लागेका उनी एयरपोर्ट टर्मिनल पुग्दा त्यहीँबाट पक्राउ परेका हुन्। आज राति पहिलो प्रहरमै विभागले उनको बालुवाटार गोदाममा छापा हानेर उनको पासपोर्ट लिएको थियो।
पासपोर्ट विमानस्थलको अध्यागमनमा पठाएर बिहानै सिज गरिएको थियो। पासपोर्ट सिजपछि उनी चीन भाग्न एयरपोर्ट पुग्दा विशेष सूचनाका आधारमा विभागको टोलीले उनलाई पक्राउ गरेको हो।
यससँगै घटनामा संलग्न सातजना पक्राउ परेका छन्। चिनियाँ नागरिकको पक्राउसँगै अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको विभागले जनाएको छ।
करिब सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको पाइएको छ। विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख बिदामा रहेको पाइएको हो।
विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको पाइएको छ। भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका छन्।
असार १७ गते देखि बिदा लिएका पोखरेलले भदौ १७ गते सम्मको लागि बिदा स्वीकृत गराएका थिए।
विभागका अनुसार ढाडमा समस्या आएको भन्दै उनले बिरामी बिदा लिएका थिए। भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रीलाई समेत उनले बिदाबारे पहिल्यै जानकारी गराएका थिए।
यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उनले एकसाता लामो बिदा लिएका हुन्।
मंगलबारदेखि बिदामा रहेका डीआईजी ठकुरी आगामी मंगलबार मात्रै कार्यालय आउने उपत्यका प्रहरी कार्यालय रानीपोखरीका उच्च अधिकारीले बताए।
विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन पक्राउ गरेपछि भन्सारका कर्मचारी र प्रहरीमाथि प्रश्न उठेको छ।
भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस गरिसकेको छ।
यस्तै, भन्सार विभागले पनि आन्तरिक छानविन गर्ने भएको छ। विभागले मानबहादुर पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।
हङकङ हुँदै आएको करिब सय किलो सुन राजश्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको थियो। सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ। त्यसपछि परिमाण यकिन हुनेछ।