सार्वजनिक यातायात खोल्ने स्वरुप तयार

 

राम डंगोल

सरकारले लकडाउनको अवधि नजिकिंदै गर्दा लकडाउनको स्वरुपमा केही परिवर्तन गर्न लागेको छ । जसअनुसार सार्वजनिक यातायातलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने छलफल शुरु भएको छ । झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायातलाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवालाहरुसंग छलफल थालेको हो । सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ । जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालन गर्ने यातयात व्यवस्था विभागले जनाएको छ । यसरी संचालन गर्ने सवारी साधनहरुको लागि कार्यविधि तयार पारेको छ ।

जसमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने÷लिने कसरी गर्नेलगायतका विषय समावेश छन् । थोरै संख््यामा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा राख्ने र नियमित रुपमा सवारी साधनमा संक्रमण हटाउने कुरा कार्यविधिमा उल्लेख छ । भाडादरका विषयमा भने तत्काल भाडा बढाउन सकिने अवस्था नरहेको विभागले जनाएको छ । यातायात व्यवसायीले भने सार्वजनिक यातायात सञ्चालन गर्नु पहिले सरकारले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन् । यातायात व्यवसायीहरुले आवश्यक स्वास्थ्य सावधानी नभए सार्वजनिक सवारी साधनले कोभिड–१९ फैलाउन सक्ने बताएका छन् । देशभर झण्डै दुई लाख ५५ हजार सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । त्यसमा पाँच लाखभन्दा बढीले रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *