सामाजिक क्रान्ति पर्खिरहेको पूर्वी एसिया मान्यता के हो ?

पूर्वी एसियाका नेताहरूले वकालत गर्ने ‘एसियाली मूल्य–मान्यता’को अवधारण सन् १९९७ को एसियाली आर्थिक संकटपछि फेसनबाट हरायो । त्यसपछि नै पतनोन्मुख पश्चिमको तुलनामा पूर्वी एवं दक्षिण–पूर्वी एसियाका सरकारले बढी आर्थिक लाभ दिलाइरहेको तर्कले एकाएक आकर्षण गुमायो । समृद्धशाली पूर्वी एसियामा अहिले ती बहुचर्चित मूल्य–मान्यताको एउटा फरक पक्ष बढी नै खतराका रूपमा देखिन थालेको छ ।

चीन, जापान, दक्षिण कोरिया र ताइवानमा परम्परागत पारिवारिक जीवनप्रतिको तथाकथित एसियाली प्रतिबद्धता धराशयी हुँदै गएको छ । एसियाका करोडौँ युवाले उदार, सानो र पूर्वी एसियाली सन्दर्भमा पुरुषप्रधानता कम भएको परिवार निर्माण गर्न थालेका छन् । विश्व जनसंख्याको ठूलो हिस्सा बसोवास गर्ने यस क्षेत्रमा यसका सामाजिक, आर्थिक र जनसांख्यिकीय असर गहिरो हुनेछन् । यसले करोडौँ जीवनलाई असर गर्ने र अस्थिरता निम्त्याउन सक्ने सम्भावना छ ।

 

परिवारिक बनोटमा बदलावको पहिलो प्रमाण देखिएको जापानमा सन् १९८० मा कम्तीमा एउटा बच्चा जन्माउने विवाहित दम्पतीको संख्या ४२ प्रतिशत र विवाह नगरी एकल बसेका व्यक्तिको संख्या २० प्रतिशत थियो । त्यो प्रवृत्ति उल्टिएको छ । सन् २०२० मा बालबच्चा भएका दम्पतीको हिस्सा २५ प्रतिशत र सिंगलको हिस्सा ३८ प्रतिशत देखिएको थियो, यो गिरावट जारी छ । गत वर्ष जापानमा १८ देखि ३४ वर्ष उमेर समूहका १७ प्रतिशत पुरुष र १५ प्रतिशत महिलाले विवाह नगर्ने बताएका थिए, जुन सन् १९८० को दशकको सुरुमा क्रमशः दुई र चार प्रतिशत थियो । र, चीनमा गतवर्ष अहिलेसम्मकै कम संख्यामा विवाह दर्ता भएको छ, जुन एक दशकअघिको तुलनामा आधा मात्रै हो ।

कुनै न कुनै तरिकामा चिनियाँ, जापानी, ताइवानी र दक्षिण कोरियाली युवाले पश्चिमका धनी देशका युवाकै बाटो पछ्याइरहेका छन् । सन् १९६० देखि २०१० को बीचमा युरोपको विवाहको दर आधाले घटेको थियो । थुप्रै कारणले गर्दा अहिले पूर्वी एसियाको विवाह दर घटिरहेको छ । धेरै मानिसका लागि विवाह बढ्दो रूपले महँगो र पुरातन ढर्रा लाग्न थालेको देखिन्छ । पूर्वी एसियाभर विवाहलाई अझै पनि एउटा प्रभुत्वकारी पुरुष र निरीह(अधीनस्थ) नारीबीचको मिलनका रूपमा (कन्फ्युसियसेली भाष्य अनुसार) बुझिन्छ । दक्षिण कोरियामा एउटी विवाहित महिलालाई ‘जिप–सरम’ अर्थात् ‘गृहिणी (घरकी व्यक्ति)’ र पतिलाई ‘बकात–याङबान’ अर्थात् ‘बाहिर गएर कमाउने व्यक्ति’का रूपमा लिइन्छ ।

घरजग्गाको उच्च मूल्य घरबार जमाउने सवालमा थप हतोत्साहन भएको छ । युवाहरूमा विवाह नगरी एक्लै बस्नेबाहेक ‘लिभिङ टुगेदर’ र समलैंगिक जीवनपद्धति अपनाउने क्रम बढ्दो छ । बढ्दो संख्यामा मध्यमवर्गीय महिलाहरूले आफ्नो करिअरमा ध्यान केन्द्रित गर्न विवाहलाई पन्छाइरहेका छन् । यहाँका परम्परागत मूल्य कामकाजी महिलाका निम्ति उपयुक्त छैनन् । पूर्वी एसियामा विश्वमै सबैभन्दा बढी शिक्षित महिलाहरू छन्, तर पनि महिला सशक्तीकरणमा यहाँको समग्र रेकर्ड कमजोर छ । केही मानेमा खराब बन्दै गएको छ । विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको १५३ देशको लैंगिक समानताको वरीयतामा सन् २००६ मा ६३औँ स्थानमा रहेको चीन सन् २०२२ मा १०२औँ स्थानमा झरेको छ । आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी)का सदस्य मुलुकमा दक्षिण कोरियामा पारिश्रमिकमा सबैभन्दा ठूलो लैंगिक अन्तर छ ।

आर्थिक रूपमा सम्पन्न, पारिवारिक रूपमा रुढीवादी पूर्वी एसियामा परम्परागत धारणा कमजोर हुन थालेको छ

पूर्वी एसियाको सामाजिक परिवर्तनलाई दुई कुराले विशिष्ट र अत्यन्त समस्याग्रस्त बनाउँछ । पहिलो, विवाह नगरी सन्तान जन्माउनुलाई अझै सामाजिक कलंकका रूपमा लिइन्छ, जबकि ओइसिडीमा ४० प्रतिशत जन्म विवाह नगर्ने जोडीहरूबाट हुने गरेको छ । जापान, दक्षिण कोरिया र ताइवानमा भने यो दर पाँच प्रतिशतभन्दा पनि कम छ । (चीनको आँकडा उपलब्ध छैन, तर उसको पनि योभन्दा बढी नभएको मानिन्छ ।)

परिणामतः प्रजननदर घट्दो छ । दक्षिण कोरियाको प्रजननदर विश्वकै न्यून ०.७८ प्रतिशत मापन गरिएको छ भने ताइवानको योभन्दा थोरै मात्र बढी छ । जापान र चीन प्रतिस्थापन दरको आधाभन्दा थोरै माथि छन् । चीनको कठोर एक सन्तान नीतिले उसको जनसांख्यिकीय संकुचनलाई चर्काएको छ, जसबाट अत्तालिएका अधिकारीहरूले यो नीति बदलेर तीनवटा सन्तान जन्माउन आह्वान गरिरहेका छन् । सन् २०२० देखि २०७५ सम्मको बीचमा पूर्वी एसियाका यी चार देशको कुल जनसंख्या २८ प्रतिशतले संकुचित हुने अनुमान गरिएको छ ।

दोस्रो समस्या, सरकारहरूले नै स्थितिलाई थप खराब बनाइरहेका छन् । सामूहिक आप्रवासन (मास इमिग्रेसन) पूर्वी एसियाको घट्दो जनसांख्यिकीलाई सम्बोधन गर्ने एक मात्र नीति हुन सक्छ, तर यसलाई कसैले पनि गम्भीरतापूर्वक लिएका छैनन् । उनीहरूको मुख्य प्रतिक्रिया भनेको आर्थिक सुविधामार्फत विवाह बढाउने प्रयासमा सीमित छ । विवाहलाई प्रोत्साहित गर्न उनीहरू करछुट र अनुदानलगायत सुविधा दिइरहेका छन्, जुन खासै सफल भइरहेको छैन । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आफ्नो देशले यस्ता नीतिका लागि २८ ट्रिलियन वन (दुई खर्ब १५ अर्ब अमेरिकी डलर) खर्च गरेको स्विकारेका छन् । अझ खराब त के भने चीन र जापानका उनका समकक्षीले पनि पुरानै अप्रगतिशील विधिलाई बढावा दिइरहेका छन्, जसप्रति नागरिकको अरुचि बढ्दो छ ।

दक्षिण कोरियाको अघिल्लो सरकारले यो सुविधा एकल अभिभावक र अविवाहित दम्पतीसम्म विस्तारको प्रयास गरेको थियो । तर, न्यून प्रजनन दरका लागि नारीवादलाई दोष दिने वर्तमान राष्ट्रपति युनले नै यसलाई रोकेका छन् । सी चिनपिङ नेतृत्वको चीन आफ्ना नागरिकलाई पुरानै मूल्यमा बसेको देख्न र समलिंगी अधिकारकर्मीलाई नियन्त्रण गर्न दृढ देखिन्छ । जापानको सत्तारुढ लिबरल डेमोक्य्राटिक पार्टी पनि समलिंगी विवाहलाई मान्यता दिन इन्कार गर्दै विवाह कानुन सुधारको विपक्षमा देखिन्छ, जबकि अधिकांश मतदाता यसमा परिवर्तन चाहन्छन् ।

ताइवानमा भने प्रगति देखिन्छ, जसले हालै थप उदार मार्ग लिएको छ । उसले समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ भने गत मेमा समलिंगी दम्पतीलाई बच्चा अपनाउन अनुमति दिएको छ । यद्यपि, यी परिवर्तन तथ्यांकमा देखा पर्लान् कि नपर्लान् अहिले नै भन्न सकिन्न । तर, समग्रमा भन्दा यो क्षेत्र आधुनिकता र परम्पराको बीचमा अड्केको छ, यी दुवैको खराब प्रभाव भोगिरहेको छ । पूर्वी एसियाली परम्परागत पारिवारिक भूमिकालाई तिरस्कार गर्न स्वतन्त्र छन्, तर तिनलाई पुनः परिभाषित गर्न भने स्वतन्त्र छैनन् । त्यसैले लाखौँ मानिस सन्तानविहीनता र एक्लोपन भोग्न बाध्य छन् ।

सरकारले यो अधुरो क्रान्तिलाई पूर्णता दिने प्रयास गर्नुपर्छ । सामाजिक परिवर्तन पूर्णतया उनीहरूको पकडमा हुँदैन र यो रातारात पनि हुँदैन, तर पनि तिनले कमसेकम यसको प्रतिरोध गर्न भने छाड्न सक्छन् । पारिवारिक जीवनलाई अझ आकर्षक बनाउन, उनीहरूले आफ्ना लैंगिक असन्तुलनका साथै नयाँ शिशुको जन्ममा पितालाई पनि स्यहारका निम्ति बिदा दिने व्यवस्था मिलाएर यसको लागत घटाउन आवश्यक छ । उनीहरूले विवाह भनेको विपरीतलिंगीबीच मात्र हुन्छ भनेर हेर्न थाल्नुपर्छ । लिभिङ टुगेदर, समलिंगी विवाह र अन्य गैर–परम्परागत विवाहको व्यवस्थालाई कानुनी मान्यता प्रदान गर्नुपर्छ । तिनलाई वैवाहिक जीवन र विशेषगरी बच्चा हुर्काउनमा सहयोग गर्नुपर्छ । चीनले पश्चिममा चनलमा रहेको अविवाहितले आफ्नो डिम्ब ‘फ्रिज’ गर्नबाट रोक्छ ।

जापानले समलिंगी दम्पतीका लागि बच्चा जन्माउने कुरा लगभग असम्भव बनाएको छ । यो कुरा उनीहरूका लागि आत्माघाती र लज्जापूर्ण छ । यस्ता नीतिले पनि यस क्षेत्रको जनसांख्यिकीलाई दुरुस्त बनाउन त सक्दैनन्, तर तिनले हालका नीतिले भन्दा बढी सकारात्मक प्रभाव भने पार्नेछन् । अझ महत्वपूर्ण, ती नीतिले विशेषगरी महिला र समलिंगीलाई आफूले रोजेको जीवन बिताउन स्वतन्त्रता प्रदान गर्नेछ । पूर्वी एसियाका सरकारले अभूतपूर्व उच्च आर्थिक वृद्धिको साक्षात्कार गरिसकेका छन् । अब उनीहरूले आफ्ना नागरिकको खुसी र स्वतन्त्रताको चिन्ता गर्न थाल्नुपर्छ ।
–द इकोनोमिस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *