प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पराजित गर्नुहुँदै आफ्नो अपराजित यात्रा कायम राख्नुभयो ।
प्रधानमन्त्री देउवाका प्रतिद्वन्द्वी ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा डडेलधुराबाट विजयी हुनुभएको थियो ।
प्रधानमन्त्री देउवाको संसद यात्रा
पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बन्नु भएका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी हुनुभएको छ । यस पटक सातौँ पटक उहाँ विजयी हुनुभएको हो ।
देशको पाँच पटक प्राधनमन्त्रीसमेत भएर इतिहांस बनाउनु भएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल हुनुभएको छ ।
देउवा २०४८ सालमा २४ हजार ५७० मत प्राप्त गरेर पहिलो पटक डडेलधुराबाट निर्वाचित हुनुभएको थियो । देउवाले २०५१ मा २० हजार ७०१ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । २०५६ सालमा २६ हजार ६५१ मतसहित विजयी हुनुभयो भने २०६४ सालको निर्वाचनमा देउवाले २० हजार ५२९ मत प्राप्त गर्नुभयो ।
२०७० सालको निर्वाचनमा देउवा २३ हजार ९२० मतसहित विजयी हुनुभएको थियो । पछिल्लो निर्वाचन २०७४ मा देउवाले २८ हजार ४४६ मत पाउनुभएको थियो ।
एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबाट देउवा उम्मेदवार बन्नुभएको हो । यो ऐतिहासिक विजयले देउवालाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।