सांसद सरिता गिरिलाई सांसद र पार्टीबाट निष्काशन

समाजवादी पार्टीले प्रतिनिधि सभा सांसद सरिता गिरिलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले गरेको सिफारिशका आधारमा गिरिलाई कारबाही गरिएको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शाअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरिले संशोधन प्रस्ताव दर्ता गराएको र पार्टीले फिर्ता लिन निर्देशन दिँदा पनि नमानेपछि यो कारवाही गरिएको हो । समाजवादी पार्टी भने नक्शालाई संविधानमा अद्यावधिक गर्ने पक्षमा रहेको थियो । संसदका सबै दलको सहमतिमा संविधान संशोधन गरिएको थियो । पार्टी सचिव एवं कार्यदल सदस्य मोहम्मद इस्तियाक राईले गिरिलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिइने बताउनुभयो । जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टी संशोधनका पक्षमा उभिए पनि गिरिले संशोधनविरुद्ध राखेको प्रस्ताव फिर्ता नलिएकाले पार्टी रुष्ट बनेको थियो । यसबारेमा पार्टी महासचिव यादवको संयोजकत्वमा गठित कार्यदलले गिरिले पार्टी निर्देशन अवज्ञा गरेको ठहर गर्दै कार्वाहीका लागि सिफारिश गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य हुनुहुन्थ्यो ।

यता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताउनुभएको छ । उहांले पार्टीको निर्णय अवैधानीक भएको बताउनुभयो । हामीसंग कुराकानी गर्दै सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै यो विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्चको ढोका ढकढकाउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *