काठमाडौँ — सरकारले तीन राजदूतहरुको म्याद तीन महिनाका लागि थप गरेको छ । संयुक्त राष्ट्र संघ (यूएन)का लागि दुई स्थायी नियोगहरु न्यूयोर्क र जेनेभाका राजदूतहरु तथा फ्रान्सका राजदूतको म्याद थप तीन महिना थपिएको हो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार स्थायी नियोग न्यूयोर्कका राजदूत अमृतकुमार राई, स्थायी नियोग जेनेभाका मणिप्रसाद भट्टराई र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको म्याद थप तीन महिना थप्ने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए । ती मन्त्रीका अनुसार तीनै राजदूतहरुले आफ्ना बच्चाहरुको कारण देखाउँदै तीन महिना थपिदिन आग्रह गरेको र सोही अनुसार परराष्ट्रको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।
स्थायी नियोग न्यूर्योकका राजदूत राईको फागुन १९, स्थायी नियोग जेनेभाका भट्टराईको चैत २८ र फ्रान्सका राजदूत अधिकारीको चैत २१ मा नियमित चार वर्षे कार्यकाल सकिँदै छ ।
अब उनीहरुले थप तीन महिना काम गर्ने छन् । त्यसपछि उनीहरु नेपाल फर्कने छन् र उक्त स्थानमा सरकारले नयाँ राजदूत नियुक्ति गर्ने छ ।