सय वर्षीय किसिञ्जरको यो १००औँ चीन भ्रमण: चिनियाँ राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्री किसिञ्जरबीच भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ ।

सन् ७० को दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहं भूमिका निर्वाह गरेका थिए । त्यसवेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।

सय वर्षीय किसिञ्जरको यो १००औँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो ।

विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो १००औँ जन्मदिवस मनाएका थिए ।

सन् १९७१ को उनको ऐतिहासिक चीन भ्रमणको पचास वर्षपछि पनि हेनरी किसिन्जरमा चीनप्रतिको रुचि रत्तिभर घटेको छैन । आधा शताब्दीअघि उनले बेइजिङ–अमेरिका कूटनीतिक सम्बन्ध सुरु गरेर चीनलाई मस्कोविरुद्ध उभिन मनाएका थिए, जसका कारण अमेरिका–सोभियत संघबीचको शीतयुद्धको शक्ति सन्तुलन सधैँका लागि बदलिन पुग्यो । हिजोका दिन सोभियत संघविरुद्ध एक ठाउँमा उभिएका अमेरिका र चीन नै अहिले एक–अर्काको आमनेसामने भएका छन् । हालै १०० वर्ष पुगेका किसिन्जरले यी दुई शक्तिराष्ट्रबीचको सैन्य मुठभेडका ‘भयानक परिणाम’बारे चेतावनी दिँदै आएका छन् । अहिले यी दुई मुलुक ‘शीतयुद्धको प्रस्थानबिन्दु’मा उभिएको उनले सतर्क गराउने गरेका छन् । धेरैले वासिंटनमा किसिन्जरको प्रभाव घटेको बताइरहँदा चीनमा भने त्यस्तो स्थिति छैन ।

‘किसिन्जरले विश्व मामिला र चीनबारे कुरा गर्दा हामीले श्रद्धापूर्वक र ध्यानपूर्वक सुन्नुपर्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक चिनियाँ कूटनीतिज्ञले बताए ।सयौँ जन्मदिनको अवसरमा अमेरिकाका लागि चिनियाँ राजदूत सिई फेङले केन्ट, कनेक्टिकटस्थित किसिन्जरको घरमा पुगेर बेइजिङको तर्फबाट शुभकामना दिएका थिए । ‘भेटमा दुईजनाबीच चीन–अमेरिका सम्बन्ध र साझा चासोको क्षेत्रीय मुद्दाबारे गहन छलफल भएको’ पछि चिनियाँ दूतावासले जानकारी दिएको थियो । किसिन्जर उनको गृह मुलुकभन्दा चीनमा लोकप्रिय छन् । र, यस तथ्यले खासमा बेइजिङले आफूहरूबीचको वैचारिक र भूराजनीतिक प्रतिद्वन्द्विताका बाबजुद अमेरिकासँगको सम्बन्धलाई दिएको उच्च महत्वलाई प्रकाश पार्ने जानकारहरू बताउँछन् ।

 

चीनका पाँच पुस्ताका शीर्ष नेताहरू–माओत्सेतुङ, देङ सियाओपिङ, जियाङ जेमिन, हु जिन्ताओ, सी जिनपिङसँग घनिष्ठ सम्बन्ध विकास गर्न सक्नुलाई अज्ञताहरू किसिन्जरको कूटनीतिक क्षमताको प्रमाण मान्छन् । सन् २०१९ नोभेम्बरमा कोरोना महामारी सुरु हुनु केहीअघिको चीनको पछिल्लो भ्रमणमा उनले सी जिनपिङसँग आत्मीय भलाकुसारी गरेका थिए । त्यस भेटमा सीले चीन–अमेरिका सम्बन्धमा किसिन्जरको ‘ऐतिहासिक योगदान’का अतिरिक्त ‘गहिरो ऐतिहासिक ज्ञान र परम्परागत चिनियाँ संस्कृतिको गहन जानकारी’को प्रशंसा गरे । जवाफमा किसिन्जरले पनि सीको प्रशंसा गरे र पुनः उनको मनपर्ने विषय अर्थात् महाशक्ति राष्ट्रबीचको अप्रत्यासित भिडन्त रोक्ने उपायबारे बोल्न सुरु गरे । त्यस क्रममा उनले विगत पचास वर्षमा झन्डै १०० पटक चीनको भ्रमण गरेको पनि सगर्व बताए ।

अमेरिका–चीनबीचको द्विपक्षीय सम्बन्धमा किसिन्जरको जति महत्वपूर्ण भूमिका सायदै अरू अमेरिकीले निभाएको हुन सक्ने वाङ हुइयाओले बताए । किसिन्जरलाई ‘२०औँ शताब्दीका सबैभन्दा ठूला कूटनीतिज्ञको संज्ञा दिने हुइयाओ बेइजिङसँग नजिक थिंक ट्यांक ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन’का सस्थापक तथा अध्यक्ष हुन् । चिनियाँ सरकारका पूर्वअधिकारी रहिसकेका हुइयाओले चीनको नजरमा किसिन्जरको सबैभन्दा ठूलो योगदान उनले चीन–अमेरिका सम्बन्ध सामान्यीकरण गर्न निभाएको भूमिका रहेको बताए ।

वाङका अनुसार किसिन्जरलाई उनको दृष्टिकोण, चीनबारे गहिरो बुझाइ र शान्ति स्थापना गर्ने असाधारण क्षमताका अतिरिक्त चीनलाई विश्वसँग खुल्न सघाएको र द्विपक्षीय सहकार्य प्रवद्र्धन गर्न सघाएका कारण बेइजिङमा स्नेहपूर्वक सम्झिइने गरिन्छ । अमेरिकासँगको सम्बन्ध सुधार चीनको विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा उदयतर्फको महत्वपूर्ण कदम भएको वाङले बताए । सन् १९७९ मा अमेरिकाको पहिलो राजकीय भ्रमणको समयमा तत्कालीन चिनियाँ नेता देङ सियाओपिङले भनेको उद्धरण दोहोर्‍याउँदै वाङले भने, ‘अमेरिकासँग राम्रो सम्बन्ध बनाउने देशको विकास हुन्छ ।’

वाङका अनुसार किसिन्जरले चीनको अमेरिकासँगको सम्बन्ध व्यवस्थापनमा ‘अद्वितीय र अपरिहार्य’ भूमिका खेलेका कारण चिनियाँ नेता र शीर्ष कूटनीतिज्ञ उनलाई अझै पनि ह्वाइट हाउससँगको संवाद सेतुको रूपमा हेर्छन् । संकटको समयमा उनीसँग नियमित सल्लाह माग्छन् । ‘वासिंटनको दशकौँ पुरानो चीनसँग संलग्न हुने नीति लागू गर्नमा उनको योगदानका कारण चीनले किसिन्जरलाई एक विश्वसनीय पुरानो मित्र मान्छ,’ उनले भने ।

अमेरिका–चीनबीचको द्विपक्षीय सम्बन्धमा किसिन्जरले जस्तो महत्वपूर्ण भूमिका सायदै अरू अमेरिकीले निभाएका हुन सक्छन् । चिनियाँ पक्ष किसिन्जरसँग खुलेर कुरा गर्न सहज मान्छन् ।

सन् २०१६ डिसेम्बरमा राष्ट्रपति निर्वाचित भएर पदभार ग्रहणको पर्खाइमा रहेका डोनाल्ड ट्रम्पले ताइबानी राष्ट्रपति साई इङ–वेनसँग अभूतपूर्व फोन गरे । त्यसको भोलिपल्ट किसिन्जरसँग बेइजिङमा भेटेका चिनियाँ राष्ट्रपति सीले उक्त घटनामा कसरी अघि बढ्ने रायसल्लाह मागेका थिए । सन् २०११ मा प्रकाशित आफ्नो पुस्तक ‘अन चाइना’मा, किसिन्जरले सन् १९८९ को रक्तपातपूर्ण तियानमेन घटनापछि उत्पन्न कूटनीतिक संकटलाई कसरी व्यवस्थापन गर्ने विषयमा देङलाई सल्लाह दिएको उल्लेख गरेका छन् । बेइजिङले सोही वर्षको नोभेम्बरमा किसिन्जरलाई निजी भ्रमणको निम्तो दियो ।

अमेरिकाको बकनेल विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषय प्राध्यापन गर्दै आएका झिकुन झूले एक ‘कट्टर यथार्थवादी’को रूपमा किसिन्जरले अमेरिकी विदेशी मामिलाका स्थापित विचारधारा, मूल्य–मान्यता र मानवअधिकारलाई बेवास्ता गर्दै चीनसँग बलियो सम्बन्धको पक्षपोषण गर्ने गरेको बताए । सन् २०२१ मा न्युयोर्कको एक कार्यक्रममा बोल्ने क्रममा यी अमेरिकी राजनेताले चीनलाई मानवअधिकारको विषयमा विशेष त हङकङ र सिनजियाङका मुद्दामा धेरै पेल्न नहुने चेतावनी दिए ।

‘हामीले मानवअधिकारको मुद्दालाई विद्यमान संरचनालाई कमजोर बनाउने मुद्दाका रूपमा प्रयोग गर्नुहुँदैन । त्यसो गर्यौं भने हामी स्थायी मुठभेडमा फस्नेछौँ,’ किसिन्जरले कार्यक्रममा भनेका थिए । झुका अनुसार किसिन्जरलाई अमेरिकामा कतिपयले युद्ध अपराधीको आरोप लगाउने र उनको विरासत जटिल र विवादास्पद रहेको भए पनि चीनमा भने सरकारी अधिकारी, थिंक ट्यांक र आम प्राज्ञ सबैले उनको निकै सम्मान गर्ने बताए ।

‘सन् १९७२ को निक्सनको चीन भ्रमणदेखिका हरेक चिनियाँ नेता अमेरिका–चीनबीचको सम्बन्ध सामान्यीकरणको प्रक्रियामा किसिन्जरको भूमिका अतुलनीय रहेको विश्वास गर्छन् । त्यसैले उनलाई त्यसयताका हरेक चिनियाँ नेताले ‘पुरानो मित्र’ मान्दै आए,’ झुले भने । तथापि पछिल्लो समय अमेरिकामा बेइजिङप्रति बढ्दो प्रतिद्वन्द्विताको भावनामाझ चीनप्रतिको किसिन्जरको विचारमा केही परिवर्तन भएको झुको बुझाइ छ ।

‘सोभियत संघको विघटन र रुसी शक्तिको ह्रासपछि विश्वव्यापी केन्द्र युरोपबाट एसिया–प्यासेफिक क्षेत्रतर्फ सरेको छ । र, यस भेगमा चीन अमेरिकी प्रभुत्वका लागि चुनौतीको रूपमा देखा परेको छ,’ झुले भने, ‘यस सन्दर्भमा अन्य धेरै यथार्थवादीजस्तै किसिन्जरले पनि चीनलाई अमेरिकी हितका लागि खतराको रूपमा हेर्न थालेका छन् । यसका बाबजुद, उनी अमेरिका–चीन सम्बन्धबारे धेरै अमेरिकी कूटनीतिज्ञभन्दा नरम दृष्टिकोण राख्छन् र उनी चीनसँग भुठभेड पन्छाउनुपर्ने दृष्टिकोणलाई समर्थन गर्छन् ।’

अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको ‘चाइना सेन्टर’का अनुसन्धान सहयोगी जर्ज म्याग्नसले चिनियाँ नेताहरूमा किसिन्जरको निरन्तर लोकप्रियताको एउटा कारण अन्य धेरै अमेरिकी अधिकारीको तुलनामा उनको छवि ‘मित्रवत्, लचक र मुठभेडविरोधी’ हुनुले पनि काम गरेको बताए । हालै सिबिएस टिभीसँगको अन्तर्वार्तामा किसिन्जरले युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय द्वन्द्वमा चीनको मध्यस्थताको नयाँ भूमिकाको प्रशंसा गरे ।

‘चीन वार्तामा सहभागी भएकाले सम्भवतः यो वर्षको अन्त्यसम्ममा युक्रेन युद्ध एक खालको टुंगोमा पुग्ने मेरो विश्वास छ,’ किसिन्जरले उक्त अन्तर्वार्तामा आशा व्यक्त गर्दै भनेका थिए । किसिन्जरले केहीअघि ‘द इकोनोमिस्ट’लाई दिएको अन्तर्वार्तामा सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच प्रत्यक्ष वार्ताको आह्वान गरे । किसिन्जर विश्वमा अमेरिकाको स्थान र जितप्रति चिन्तित हुने गरे पनि महाशक्तिबीचको टकरावको बढ्दो सम्भावनाबारे थप चिन्तित हुने गर्छन् । चीनसँग नियमित सम्पर्कमा रहनुपर्ने किसिन्जरको उदार दृष्टिकोण र वेलाबखत उनले चिनियाँ शासकप्रति देखाउने सम्मानभावले उनी वासिंटनका कट्टर अधिकारीको आलोचनाको निसाना बन्ने गर्छन् ।

जेम्स म्यान ‘अबाउट फेसः ए हिस्ट्री अफ अमेरिकाज क्युरियस रिलेसनसिप विथ चाइना, फ्रम निक्सन टु क्लिन्टन’ नामक पुस्तकका लेखक हुन् । उनका अनुसार धेरै अमेरिकीले समृद्धि बढेसँगै बेइजिङ थप खुला र कम दमनकारी हुने अपेक्षा गरेका थिए, तर त्यसअनुरूप नभएपछि अमेरिकीहरू चीनप्रति निराश भए । ‘सोभियत सैन्य शक्तिले दुई देशलाई नजिक ल्याएको थियो । तर, आज फेरि चीन सोभयित संघको विरासत बोकेको रुससँग नजिकिएको छ । रुसले युरोपममा मच्चाइरहेको युद्ध चीनले सघाएको छ,’ म्यानले भने ।

किसिन्जरले अमेरिका–चीन सम्बन्धमा अझै पनि विशिष्ट र महत्वपूर्ण स्थान ओगटेको जर्ज–टाउन युनिभर्सिटीको ‘इनिसिएटिभ फर युएस–चाइना डायलग अन ग्लोबल इस्युज’का रिसर्च फेलो डेनिस वाइल्डरले बताए । ‘चिनियाँ अधिकारी र प्राज्ञहरू उनलाई ‘पुरानो मित्र’ मान्छन् । विश्वासको यस विरासतको कारण चिनियाँ पक्ष किसिन्जरसँग खुलेर कुरा गर्न सहज मान्छन् ।

चिनियाँहरूमा किसिन्जरले तिनका कुरा अमेरिकी प्रशासनसम्म पुर्‍याउन सक्षम हुन्छन् भन्ने विश्वास देखिन्छ,’ बाइल्डरले भने । तर, अमेरिकामा भने किसिन्जरको यो स्तरको सम्मान छैन । उनीबारे धारणा व्यापक विभाजित पाइन्छ । ‘चीनविरोधी खेमाका अमेरिकी नीति–निर्माता निक्सनले चीनसँग सम्बनध सुधार्नु नै गल्ती भएको मान्न थालेका छन् । यसले चिनियाँ कम्युनिज्मलाई विश्व बजारमा पहुँच दिएर बलियो बन्ने अवसर दिएको तिनको धारणा छ । तर, अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउनुपर्ने विश्वास गर्नेहरू भने किसिन्जरको विचारलाई महत्व दिने गर्छन् ,’ वाइल्डरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *