सभापतिमा पराजित शेखरको वरीयता २०औँ नम्बरमा

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पार्टीको वरीयतामा २०औँ नम्बरमा राखेका छन् । यसअघिको महाधिवेशनमा भने सभापतिमा पराजित उम्मेदवारलाई दोस्रो/तेस्रो वरीयतामा राख्ने गरेको पाइएको छ ।  कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित देउवालाई तेस्रो वरीयतामा राखेका थिए ।

पार्टी विभाजनपछि भएको ११औँ महाधिवेशनमा पराजित देउवालाई दोस्रो वरीयतामा राखिएको थियो । १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि उनलाई दोस्रो वरीयतामै राखिएको थियो ।

१३औँ महाधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनै देउवाले दोस्रो वरीयतामा राखेका थिए । तर, शेखर १३औँ महाधिवेशनमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याउने उम्मेदवार हुन् । उनलाई देउवाले पार्टीको वरीयतामा ३६औँ नम्बरमा राखेका थिए ।

शेखरनिकट एक नेता वरिष्ठ नेता पौडेललाई दोस्रो नम्बरमा राखे पनि तेस्रोमा शेखरलाई राख्नुपर्ने बताउँछन् । सभापतिमा ४० प्रतिशत मत ल्याएका शेखरलाई देउवाले वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी भन्दा पनि पछिको वरीयतामा राखेका हुन् ।  यसपटक देउवाले शेखरलाई पेलेरै अघि बढ्ने संकेत दिएर २०औं नम्बरमा राखेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *