काठमाडौँ — दुई तिहाइको महत्त्वाकांक्षासहित निर्वाचनमा होमिएको सत्ता गठबन्धनलाई सामान्य बहुमत पुर्याउनै मुस्किल पर्ने भएको छ । प्रत्यक्षतर्फको परिणामले सत्ता गठबन्धन सफल हुन नसकेको देखाएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले १ सय ६५ निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गरेर उम्मेदवार उठाएका थिए । शुक्रबारसम्मको परिणामअनुसार गठबन्धन दलले प्रत्यक्षतर्फ ७४ सिट जितेका छन् भने १२ मा अग्रता लिएका छन् । अग्रता लिएका सबै स्थान जित्दा पनि प्रत्यक्षतर्फ ८६ सिट मात्रै पुग्छ ।
माओवादीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय कांग्रेसबाट धोका भएको बताउँछन् । ‘गठबन्धन रणनीतिक उद्देश्यमा आधारित थियो, मत परिणाम पूर्ण रूपमा आएपछि गठबन्धनभित्र समीक्षा होला,’ उनले भने, ‘तर स्थानीय तह निर्वाचनमा भन्दा अहिले कांग्रेसबाट धोका भएको हामीले महसुस गरेका छौं ।’ गठबन्धन दलले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि धोका भएको आरोप–प्रत्यारोप हुन थालेको छ । विशेषगरी माओवादी नेता–कार्यकर्ताले कांग्रेसबाट धोका भएको बताउन थालेका छन् । कांग्रेसमा भने सत्ता साझेदार दलबाट भन्दा पनि आफ्नै पार्टीभित्र घात भएको आरोप सुनिन थालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको शेखर कोइराला पक्षले माओवादीलाई मतदान नगर्न आफ्ना मतदातालाई गोप्य रूपमा भनेको निकट नेतासँग बताएका छन् । उनले कांग्रेस संस्थापन पक्ष बलियो रहेका ठाउँमा गठबन्धन सफल भएको तर कोइराला पक्षको प्रभाव रहेका क्षेत्रमा असफल भएको निष्कर्ष निकालेका छन् । माओवादीले आफ्नो भागमा परेको रूपन्देही–१ मा घनश्याम भुसाल र रौतहट–३ मा प्रभु साहलाई समर्थन गरेको थियो । भुसाल र साहसहित माओवादीले ४५ उम्मेदवार उठाएको थियो । तीमध्ये १५ जनाले जितेका छन् भने ३ जनाले अग्रता लिइरहेका छन् । अग्रता लिएका सबै स्थानमा जित्दा पनि माओवादीले प्रत्यक्षतर्फ १८ सिट मात्र जित्नेछ । यो संख्या २०७४ को निर्वाचनमा जितेको भन्दा आधा हो । एमालेसँगको गठबन्धनबाट त्यतिबेला माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो ।
२०७४ मा वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसले यस पटक सिट संख्या उल्लेख्य बढाए पनि गठबन्धनका बलमा जति जित्नुपर्ने हो, त्यसमा सफलता पाउन सकेन । कांग्रेसले ४५ सिट जित्नुका साथै ९ स्थानमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै सिट जित्दा यो संख्या ५३ पुग्नेछ । गठबन्धनको समर्थनमा ९० सिटमा उम्मेदवार उठाएको कांग्रेसले कम्तीमा ६५ सिटमा सहजै जित्ने आकलन गरेको थियो ।
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठ अनुमान गरेजति जित्न नसक्नुमा पार्टीभित्रको आन्तरिक समस्या (अन्तर्घात) प्रमुख कारक रहेको बताउँछन् । ‘गठबन्धनका सहयात्री दलहरूले कांग्रेस उम्मेदवारलाई सक्दो सहयोग गर्नुभयो तर हाम्रो पार्टीभित्रै घात हुँदा कतिपय साथीले हार्नुपर्यो,’ उनले भने, ‘एकआपसमा राम्रो सहयोग नहुँदा र अनुशासनहीन प्रवृत्ति मौलाउँदा कम्तीमा १० सिट गुमेको हामीले प्रारम्भिक अनुमान गरेका छौं ।’
२०७४ को निर्वाचन र गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्नुको साटो पुरस्कृत गर्दा अनुशासनहीन काम मौलाएको उनले बताए ।
टिकट वितरणका क्रममा केही असन्तुष्टि रहे पनि पार्टीले निर्णय गरिसकेपछि एकमत भएर लाग्नुपर्नेमा योजनाबद्ध रूपमै पार्टीका उम्मेदवारलाई हराउने काम भएको उनको भनाइ छ ।
कांग्रेसभित्रको समस्याले गठबन्धनको दोस्रो ठूलो घटक माओवादीलाई पनि स्तब्ध बनाएको छ । माओवादीका अधिकांश उम्मेदवारले पराजय भोग्नुको प्रमुख कारण कांग्रेसको असहयोग रहेको बताएका छन् । कतिपय जिल्लामा नेतृत्वले रोक्न खोज्दा पनि कांग्रेस कार्यकर्ता खुलेआम माओवादीका उम्मेदवारलाई हराउन लागिपरेका थिए । जुम्लामा कांग्रेसको कोइराला समूहले दुइटै प्रदेशसभामा बागी उम्मेदवार उठाएको थियो भने प्रतिनिधिसभामा राप्रपालाई सहयोग गरेको थियो । यसले गर्दा स्थानीय तहमा करिब साढे ५ सय मत मात्र पाएको राप्रपाका ज्ञानबहादुर शाही माओवादीकी गोमा कुँवरलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा आफ्नै पार्टी (कांग्रेस) का प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्दै बागी उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
‘हामीले बागी उम्मेदवारलाई बसाल्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निकै प्रयत्न गर्यौं तर सफलता पाउन सकिएन,’ केन्द्रीय सदस्य कान्तिका सेजुवालले भनिन्, ‘पार्टीभित्र मौलाएको अनुशासनहीनताले जुम्लामा गठबन्धनले ठूलो क्षति व्यहोर्नुपर्यो ।’ एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा संघमा राप्रपाका शाही, प्रदेशसभा (१) मा बागी उम्मेदवार शाही र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् । रोकाया कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री हुन् ।
सत्ता गठबन्धनले सोचेअनुसार सफलता नपाउनुमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको उदय पनि कारक बनेको छ । गठबन्धन दलबाट टिकट नपाएका, गठबन्धनप्रति असन्तुष्ट रहेका र गठबन्धन दलका उम्मेदवारलाई मत दिन नचाहेका नेता–कार्यकर्ताले नयाँ दललाई रोजेका देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका ७ मध्ये ३/३ क्षेत्रमा माओवादी केन्द्र र एक स्थानमा एकीकृत समाजवादीका उम्मेदवार थिए ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले जितेका तीन स्थानमध्ये दुइटामा माओवादी केन्द्र र एउटामा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । नागरिक उन्मुक्ति पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले बर्दिया–२ मा माओवादीका सुरेश पन्थलाई पराजित गरेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक श्रेष्ठले गठबन्धनकै कतिपय नेता–कार्यकर्ताले बाहिर गठबन्धनको प्रचार गरे पनि भित्री रूपमा नयाँ दललाई सहयोग गरेको पाइएको बताए । ‘हाम्रो पार्टी र गठबन्धनभित्र गम्भीर समीक्षा हुने नै छ,’ उनले भने, ‘कांग्रेसको निर्वाचन अनुगमन समितिले पनि यसबारे आफ्नो प्रतिवेदन देला ।’
मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक अर्जुनबहादुर अयडी विगतमा परम्परागत दलहरूलाई मतदान गर्दै आएका मतदाताले गठबन्धन र ती दलप्रति असन्तुष्टिको कारण नयाँ दललाई भोट दिएको बताउँछन् । असन्तुष्ट मतदाताले नयाँ विकल्प खोजेकाले सत्ता गठबन्धनलाई धक्का लागेको उनको भनाइ छ । ‘असन्तुष्टिलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा जतिसुकै गठबन्धन गरे पनि जित्न सकिँदैन भन्ने सन्देश दिएको छ,’ उनले भने ।
गठबन्धन भए पनि माओवादी सुदूरपश्चिममा शून्य भएको छ । माओवादीले सुदूरपश्चिमका चार क्षेत्रमा उम्मेदवार उठाएको थियो । कञ्चनपुर–१ मा बिना मगर, कैलाली–२ भगतबहादुर बडुवाल, कैलाली–३ मा कृष्णकुमार चौधरी र बैतडीमा नरेन्द्रबहादुर कुँवर पराजित भएका छन् । कांग्रेसले भने उम्मेदवारी दिएको ९ मध्ये ७ क्षेत्रमा जितेको छ । कैलाली–१ मा कांग्रेसका रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग पराजित भएका छन् । बाजुरामा विवादका कारण दुईवटा मतदान केन्द्रमा निर्वाचन हुन सकेको छैन ।
कर्णालीमा सत्ता गठबन्धनले जुम्लाबाहेक अन्यत्र सफलता पाएको छ । प्रतिनिधिसभाका १२ मध्ये ९ क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मतगणना जारी रहेका मुगु र हुम्लामा पनि गठबन्धनकै उम्मेदवार जितनजिक छन् । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले कर्णालीको जुम्लाबाहेक अन्यत्र गठबन्धन सफल भएको बताए । ‘कर्णालीमा गठबन्धन दलका शीर्षस्थ नेताहरूको मिहिनेत र सुझबुझले गठबन्धनको भावनाअनुसार चुनावी प्रतिस्पर्धा भई राम्रो परिणाम आएको छ,’ उनले भने । मुख्यमन्त्री शाही हुम्लाको प्रदेशसभा (२) बाट एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै विजयी भएका छन् ।
प्रदेश १ मा कांग्रेसका १९ उम्मेदवार रहेकामा ४ जनाले जितेका छन्, ६ जना पराजित भए भने ९ स्थानको परिणाम आएको छैन । माओवादीले ७ स्थानमा उम्मेदवारी दिएकामा ३ मा जितेको छ । एकीकृत समाजवादीले २ स्थानमा उम्मेदवारी दिएकामा एउटामा हारेको छ, इलाम–१ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल मतगणनामा पछाडि परेका छन् ।
मधेस प्रदेशमा कांग्रेसले १५ क्षेत्रमा उम्मेदवारी दिएकामा ५ मा जित निकालेको छ, ५ मा हार व्यहोरेको छ । पाँच क्षेत्रको परिणाम आउन बाँकी छ । माओवादीले पाएका ६ क्षेत्रमध्ये एउटामा जित र अर्को एकमा हार व्यहोरेको छ । माओवादीको कोटमा गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रभु साहले जितेका छन् । यद्यपि उक्त क्षेत्रमा माओवादीकै उम्मेदवार रवीन्द्र पटेलले ८ हजार ४ सय ५८ मत ल्याएका छन् । एकीकृत समाजवादीले उम्मेदवारी दिएका ३ मध्ये २ सिटमा जितेको छ, एकमा पराजय व्यहोरेको छ । लोसपाले ८ जना उम्मेदवार उठाएकामा ३ ले मात्रै जितेका छन् ।
वाग्मती प्रदेशमा कांग्रेसले सन्तोषजनक नतिजा हात पारेको छ । १७ स्थानमा उम्मेदवारी दिएकामा ११ मा जितेको छ भने ४ वटामा पराजित भएको छ । दुईवटा क्षेत्रको नतिजा आएको छैन । माओवादीले १० क्षेत्रमा गठबन्धनबाट र एक क्षेत्रमा एकल उम्मेदवारी दिएकामा ३ क्षेत्रमा मात्रै जितेको छ । एकीकृत समाजवादीले चार क्षेत्रमा उम्मेदवारी दिएकामा एउटामा जितेको छ ।
गण्डकी प्रदेशमा पनि कांग्रेसले गठबन्धनका अन्य दलको तुलनामा सन्तोषजनक नतिजा पाएको छ । ११ स्थानमा उम्मेदवारी दिएकामा ८ मा जितेको छ । दुई स्थानमा हारेको छ, एक स्थानको नतिजा आउन बाँकी छ । त्यस्तै जनमोर्चाले एउटा क्षेत्रमा उम्मेदवारी दिएकामा जितेको छ । लुम्बिनी प्रदेशमा गठबन्धनले सोचेअनुसार नतिजा ल्याउन सकेन । कांग्रेसले १४ क्षेत्रमा उम्मेदवारी दिएकामा ५ मा जितेको छ, ६ मा हारेको छ । तीन क्षेत्रको परिणाम आइसकेको छैन ।
सत्ता गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा चुनावी रणनीति बनाउनु र उतिबेला आफ्नो दलका उम्मेदवारले पाएको सबै मत आफ्नो पकेटको मत भएको भ्रममा पर्नुले पनि गठबन्धनलाई धक्का लागेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा अधिकांश क्षेत्रमा गठबन्धन अगाडि थियो । गठबन्धनले सोही मतका आधारमा आफ्ना उम्मेदवारले जित्ने प्रक्षेपण गरेको थियो ।
राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट स्थानीय तह निर्वाचन र संसदीय निर्वाचनको परिस्थिति फरक हुने भएकाले त्यसका आधारमा जित्ने आकलन गर्नु गलत भएको बताउँछन् । ‘त्यति मात्र होइन, यो गठबन्धन स्थानीयस्तरको सहमतिबिनै केन्द्रीयस्तरमा ठूला नेताबीच बनेको थियो,’ उनले भने, ‘यसले गर्दा पनि गठबन्धन दलका कार्यकर्ताबीच एकआपसमा सहयोग हुन सकेन ।’ पार्टीका अधिकांश कार्यकर्ताले आफ्नो भावनाविपरीत गठबन्धन बनेकाले गठबन्धनभन्दा बाहिर मतदात गरेका हुन सक्ने उनले बताए ।
एकीकृत समाजवादी सन्तुष्ट
गठबन्धन गरेर सबैभन्दा फाइदा एकीकृत समाजवादीलाई भएको छ । एकीकृत समाजवादीले गठबन्धन पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, जबकि उसका २० ठाउँमा मात्रै उम्मेदवार थिए । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मोटामोटी रूपमा गठबन्धन सफल भएको बताए । ‘गठबन्धन गरेपछि जुन खालको परिणाम आउला भन्ने अपेक्षा गरेका थियौं, त्यस्तो भएन,’ उनले भने, ‘कांग्रेस र माओवादीले पनि जति जित्नुपर्ने थियो, त्यो सकेनन् । त्यसैले सबै कोणबाट समीक्षा गर्नुपर्नेछ ।’
महासचिव भुसालका अनुसार कांग्रेसका उम्मेदवार भएका स्थानमा गठबन्धनका अन्य दलको भोट गएको तर कांग्रेसकै आन्तरिक विवादले उसलाई घाटा लागेको बताए । ‘कतिपय ठाउँमा कांग्रेसको आन्तरिक विवादले काम
गरेको छ, जसको कारण गठबन्धनका उम्मेदवारले हार्नुपर्यो,’ उनले भने, ‘गठबन्धनलाई कांग्रेसको एउटा पक्षले आधारभूत रूपमा सहयोग गरेन ।’ कांग्रेस महामन्त्री गगन थापा चुनाव लडेको क्षेत्रमै प्रदेशसभामा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएको उनले दृष्टान्त सुनाए ।
प्रदेशमा पनि असफल
प्रदेशसभातर्फ पनि गठबन्धनले आशा गरेअनुसार सफलता पाउन सकेको छैन । सातवटै प्रदेशमा कांग्रेसका १ सय ७९ उम्मेदवार रहेकामा शुक्रबार रातिसम्म ९३ स्थानमा जितेको छ भने १२ स्थानमा अग्रता लिएको छ । माओवादीले १ सय १२ उम्मेदवारी दिएको थियो । तीमध्ये ४५ स्थानमा जितेको छ भने ५ मा उसका उम्मेदवार अगाडि छन् । त्यसैगरी एकीकृत समाजवादीले ६६ स्थानमा उम्मेदवार उठाएकामा १२ सिट जितेको छ, ३ वटामा अग्रता लिएको छ ।
सत्ता गठबन्धनले प्रत्यक्षतर्फ सोचेअनुसार सिट जित्न नसकेपछि मधेस र सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने अवस्था निर्माण भएको छ । यसले गर्दा सातवटै प्रदेशमा मिलीजुली सरकार बन्ने देखिएको छ ।