आम निर्वाचन–२०७९ मा आफ्नो सहज बहुमत आउने निष्कर्ष लोकतान्त्रिक वाम गठबन्धनले निकालेको छ। १ सय १२ निर्वाचन क्षेत्रमा सहज जित र बाँकी सिटमा पनि तीव्र प्रतिस्पर्धा हुने र सोमध्येबाट केही सिट जित्ने आकलन गठबन्धनको छ।
गठबन्धनमा आवद्ध दलहरुको जिल्ला तहबाट प्राप्त सूचना र सुरक्षा निकायहरुले तयार पारेको निर्वाचन सम्बन्धी आँकडाका आधारमा गठबन्धनले एक प्रतिवेदन तयार पारेको छ। जसमा प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रहरुलाई ग्रिन (सुरक्षित), एल्लो (कम सुरक्षित) र रेड (जोखिमयुक्त) गरी तीन ‘जोन’ मा विभाजित गरिएको छ।
मंगलबारसम्मको अपडेट अनुसार तयार गरिएको प्रतिवेदनमा गठबन्धनका उम्मेदवारहरु १ सय १२ स्थानमा ‘ग्रिन जोन’ मा छन्।
स्थानीय तह निर्वाचनमा प्राप्त मतका आधारमा गठबन्धनमा आवद्ध दलहरु निकै ठूलो मतअन्तरका साथ अगाडि रहेका कतिपय निर्वाचन क्षेत्रलाई समेत गठबन्धनले ‘एल्लो जोन’ र ‘रेड जोन’ मा राखेको छ।
यसबाट स्थानीय तह निर्वाचनको परिणामलाई मात्र आम निर्वाचनमा जित–हारको आधार बनाउँदा सही निष्कर्ष निस्कँदैन भन्ने गठबन्धनको तर्क देखिन्छ। स्थानीय तह निर्वाचनका आधारमा जोखिमयुक्त मानिने कतिपय निर्वाचन क्षेत्रलाई गठबन्धनले ‘ग्रिन जोन’ मा पनि राखेको छ।
यसअनुसार गठबन्धनले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय १२ वटा क्षेत्रलाई ‘ग्रिन जोन’, ४० वटा निर्वाचन क्षेत्रलाई ‘एल्लो जोन’ (कम सुरक्षित) र १३ वटा निर्वाचन क्षेत्रलाई ‘रेड जोन’ (जोखिमयुद्ध क्षेत्र) मा राखेको छ।
प्रतिवेदन अनुसार गठबन्धन ‘ग्रिन जोन’ मा रहेका १ सय १२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस एक्लै ६१ वटा क्षेत्रमा एकदम सुरक्षित छ। माओवादी केन्द्र २९, एकीकृत समाजवादी १२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ६ र राष्ट्रिय जनमोर्चा (राजमो) २ वटा क्षेत्रमा सुरक्षित छन्।
गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवार पनि एक क्षेत्र (रुपन्देही– १) मा ‘ग्रिन जोन’ मा रहेको रिपोर्टमा उल्लेख छ।
प्रतिवेदनअनुसार गठबन्धनमा रहेका दलहरुको प्रदेशगत स्थिति यस्तो देखिन्छः
प्रदेश–१
नेपाली कांग्रेस ११, माओवादी केन्द्र १, र नेकपा एकीकृत समाजवादी एक क्षेत्रमा ‘ग्रिन जोन’ मा देखिन्छन्। यस हिसाबले २८ सिट रहेको प्रदेश–१ मा लोकतान्त्रिक वाम गठबन्धन १३ सिटमा सुरक्षित देखिन्छ।
प्रदेश–१ का १६ वटा निर्वाचन क्षेत्रमा गठबन्धन ‘एल्लो जोन’ मा छ। १६ मध्ये नेपाली कांग्रेस ५, माओवादी केन्द्र १० र एकीकृत समाजवादी १ क्षेत्रमा कम सुरक्षित छन्। गठबन्धनका लागि ४ वटा क्षेत्र रेड जोन अर्थात् जोखिमयुक्त क्षेत्र ४ वटा छन्। तीमध्ये ३ वटामा नेपाली कांग्रेस र एक निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार छन्।
प्रदेश १ मा स्वतन्त्र र बागी उम्मेदवारहरू धेरै रहेका कारण निर्वाचन परिणाम प्रक्षेपण गर्न कठिन भइरहेकाले १६ वटा निर्वाचन क्षेत्र ‘एल्लो जोन’ मा राखिएको गठबन्धनका नेताहरूको भनाइ छ।
मधेश प्रदेश
मधेश प्रदेशका ३२ सिटमध्ये २४ सिटमा गठबन्धनलाई ‘ग्रिन जोन’ मा राखिएको छ। नेपाली कांग्रेस ११, माओवादी केन्द्र ५, एकीकृत समाजवादी २ र लोसपाका लागि ६ निर्वाचन क्षेत्र ‘ग्रिन जोन’ मा छन्।
यो प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्र २–२, एकीकृत समाजवादी १ र लोसपा २ ‘एल्लो जोन’ मा छन् भने ‘रेड जोन’ मा नेपाली कांग्रेसका २ र माओवादी केन्द्रका १ उम्मेदवार परेका छन्।
सर्लाही २ मा मैत्रीपूर्ण प्रतिस्पर्धा रहेकाले लोसपा र माओवादी केन्द्रमध्ये जसले जितेपनि गठबन्धनमा जोडिन्छ। त्यसैले यो क्षेत्रलाई ‘ग्रिन जोन’ र ‘एल्लो जोन’ दुवैमा जोडिएको छ।
बागमती प्रदेश
कूल ३३ सिट रहेको बागमती प्रदेशमा २३ सिट सुरक्षित (ग्रिन जोन) रहेको गठबन्धनको विश्लेषण छ। जसअनुसार नेपाली कांग्रेस १३, माओवादी केन्द्र ७ र एकीकृत समाजवादी ३ क्षेत्र ‘ग्रिन जोन’ मा छन्।
यो प्रदेशमा गठबन्धनका लागि ९ क्षेत्र ‘एल्लो जोन’ मा छन्। तीमध्ये ५ नेपाली कांग्रेस, ३ माओवादी केन्द्र र १ एकीकृत समाजवादीका लागि कम सुरक्षित छन्। ‘रेड जोन’ मा एउटा मात्र क्षेत्रलाई पारिएको छ, जुन माओवादी केन्द्रका उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको क्षेत्र हो।
गण्डकी प्रदेश
यो प्रदेशमा प्रतिनिधि सभातर्फ कुल १८ सिट छन्। यसमध्ये १२ क्षेत्र ‘ग्रिन जोन’ मा राखेको गठबन्धनले ४ क्षेत्रलाई ‘एल्लो जोन’ र २ क्षेत्रलाई ‘रेड जोन’ मा राखेको छ।
‘ग्रिन जोन’ मा रहेका १२ क्षेत्रमध्ये ८ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्र र एउटामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार सुरक्षित छन्। ‘एल्लो जोन’ मा राखिएका ३ मध्ये २ वटामा नेपाली कांग्रेस र एउटामा माओवादी केन्द्रका उम्मेदवार छन्।
यो प्रदेशका ‘रेड जोन’ मा ३ वटा क्षेत्र छन्। तीमध्ये २ वटामा नेपाली कांग्रेस र एउटामा एकीकृत समाजवादीका उम्मेदवार छन्।
लुम्बिनी प्रदेश
यो प्रदेशका २६ क्षेत्रमध्ये गठबन्धनले १७ क्षेत्र आफ्ना लागि सुरक्षित (ग्रिन जोन) ठानेको छ। यसमध्ये कांग्रेसका ८, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ छन्।
यहाँ गठबन्धनले रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल (चुनाव चिन्ह त्रिभुज) लाई समर्थन गरेको छ। र, उसले यहाँ भुसालको विजय सुनिश्चित देखेको छ।
यो प्रदेशका ६ वटा निर्वाचन क्षेत्रलाई गठबन्धनले ‘एल्लो जोन’ अर्थात् अलिक कम सुरक्षित ठानेको छ। तीमध्ये ४ वटा क्षेत्रमा नेपाली कांग्रेस र २ वटा क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार छन्।
‘रेड जोन’ मा ३ वटा क्षेत्र छन्। यसमध्ये २ वटामा नेपाली कांग्रेस र एउटामा माओवादी केन्द्रका उम्मेदवार छन्।
कर्णाली प्रदेश
जम्मा १२ सिट रहेको कर्णाली प्रदेशका ११ सिट आफ्ना लागि एकदम सुरक्षित (ग्रिन जोन) ठानेको गठबन्धनले यसमध्ये ४ वटा नेपाली कांग्रेस, ५ वटा माओवादी केन्द्र र २ वटामा एकीकृत समाजवादीले विजय हासिल गर्ने निष्कर्ष निकालेको छ।
गठबन्धनले यो प्रदेशको एउटा क्षेत्रलाई मात्र कम सुरक्षित अर्थात् ‘एल्लो जोन’ मा राखेको छ, जुन एकीकृत समाजवादीको भागमा परेको क्षेत्र हो। यहाँका कुनैपनि क्षेत्रलाई गठबन्धनले ‘रेड जोन’ मा राखेको छैन।
सुदूरपश्चिम प्रदेश
प्रतिनिधि सभाका लागि यो प्रदेशमा १६ वटा क्षेत्र छन्। यसमध्ये गठबन्धनले १२ वटा क्षेत्रलाई पक्का जित हासिल हुने अर्थात् ‘ग्रिन जोन’ मा राखेको छ। ‘ग्रिन जोन’ का १२ मध्ये ६ वटामा नेपाली कांग्रेस र ३–३ वटामा माओवादी केन्द्र तथा एकीकृत समाजवादीका उम्मेदवार छन्।
गठबन्धनले यो प्रदेशका कुनैपनि क्षेत्रलाई ‘रेड जोन’ मा राखेको छैन। कम सुरक्षित क्षेत्र अर्थात् ‘एल्लो जोन’ मा ४ वटा क्षेत्रलाई राखेको छ, जसमा ३ वटा क्षेत्रमा नेपाली कांग्रेस र एउटा क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्।
यस हिसाबले हेर्दा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले झण्डै शतप्रतिशत नतिजा निकाल्ने आकलन गरेको देखिन्छ। किनभने, कर्णाली प्रदेशका १२ क्षेत्रमध्ये ११ वटामा उसले आफूलाई ‘ग्रिन जोन’ मा राखेको छ, एउटा क्षेत्रलाई पनि उसले ‘रेड जोन’ मा राखेको छैन।
सुदूरपश्चिमका १६ मध्ये ४ वटा क्षेत्रलाई मात्र कम सुरक्षित (एल्लो जोन) क्षेत्रका रुपमा परिभाषित गरेको गठबन्धनले यहाँ पनि कुनै निर्वाचन क्षेत्रलाई ‘रेड जोन’ अन्तर्गत राखेको छैन।