संसद विघटनको घोषणा, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

उनले आम निर्वाचनको मितिसमेत तोकेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसअनुसार ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी हुन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष लगेका थिए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्‍त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन्। बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उपस्थित थिए।

प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको’ जानकारी दिएका छन्।

सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्‍ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको थियो।
बालुवाटारको छलफलमा प्रधानमन्‍त्रीले सबैतिरबाट असहयोग र  घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्‍न वाध्य हुनुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *