संयमित कूटनीतिका पर्याय हेनरी किसिन्जर

हेनरी किसिन्जरविनाको विश्वको कल्पना गर्न कठिन हुन्छ । किसिन्जरविनाको विश्वको कल्पना गर्न कठिन भएको उनी पूरै एक शताब्दी लामो सुदीर्घ आयु बाँचेका कारण होइन, अमेरिकी विदेश नीति एवं अन्तर्राष्ट्रिय सम्बन्धमा उनले आधा शताब्दीभन्दा बढी समय प्रभावशाली स्थान ओगटेको र कतिपय अवस्थामा हाबी नै भएकाले हो ।

सन् १९२३ मा जर्मनीमा जन्मिएका किसिन्जर सन् १९३८ मा संयुक्त राज्य अमेरिका बसाइँ सरे । अमेरिकी सेनामा छँदा जर्मनी गए । त्यसपछि हार्वर्ड विश्वविद्यालयमा विद्यार्थी हुँदै फ्याकल्टी मेम्बर पनि भए । उनले राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा पहिले सन् १९७३ मा राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा र त्यसपछि सन् १९७५ बाट विदेशमन्त्रीको रूपमा आठ वर्ष अमेरिकी सरकारको सेवा गरे ।

 

आफ्नो कार्यकालमा उनले हासिल गरेका उपलब्धि थुप्रा र उल्लेखनीय थिए । पहिलो, चीन–सोभियतबीच विभाजनले सिर्जना गरेको अवसरलाई चिनेर त्यसलाई तत्कालीन रूपमा अमेरिकाको मुख्य प्रतिद्वन्द्वी सोभियत संघमाथि हाबी हुन उपयोग गरे । त्यस कूटनीतिक पहलले अमेरिका र चीनबीच दशकौँदेखिको शत्रुताको अन्त्य मात्र गरेन, ताइवानमाथिको मतभेदलाई चिर्ने एउटा सूत्र पनि तयार गर्‍यो । चीनको आर्थिक रूपान्तरणको जग बसाल्यो, स्थायी र महत्वपूर्ण सम्बन्ध स्थापित ग¥यो ।

विदेश सम्बन्धमा सुधारहरू भए । सोभियत संघसँगको तनाव घटाउने काम भयो । किसिन्जर र निक्सन (उनीहरूबीचको घनिष्ठता किसिन्जरको प्रभावको एउटा प्रमाण हो)बीचको सम्बन्धले आणविक हतियार नियन्त्रणसम्बन्धी वार्ताहरू, आ–आफ्ना सहयोगी सम्मिलित द्वन्द्व व्यवस्थापनका नियम र नियमित शिखर सम्मेलनका लागि मार्ग प्रशस्त गर्‍यो । अझ तातिन र खराब हुँदै आणविक युद्धसम्म पुग्ने सम्भावनाबीच शीतयुद्धलाई चिसो राख्न मद्दत गर्‍यो ।

 

अर्काे सफलता मध्यपूर्वमा देखिन्छ । अक्टोबर ७ मा हमासले आक्रमण गरेको ठीक ५० वर्षअघि इजिप्ट र सिरियाले इजरायललाई अचानक आक्रमण गरेका थिए । सो बखत किसिन्जर र निक्सनले इजरायललाई आवश्यक सैन्य सहयोग सुनिश्चित गरे । साथै, इजरायलीलाई सैन्यबलको अत्यधिक प्रयोग नगर्न दबाबमा पनि राख्ने काम गरे । अन्यथा यसले सोभियत संघलाई युद्धमा तान्न सक्थ्यो वा युद्धपछिको कूटनीतिक समाधानको सम्भावनालाई समाप्त गर्न सक्थ्यो । किसिन्जरको सुक्ष्म  कूटनीति (प्रत्यक्ष वार्ताका लागि अनिच्छुक पक्षहरूबीच मध्यस्थताको कूटनीति) ले युद्धविरामलाई सघाउ पुर्‍यायो, विरोधी सशस्त्र शक्तिलाई अलग गर्न मद्दत पुर्‍यायो, जसले राष्ट्रपति जिमी कार्टरको पहलमा भएको इजिप्ट–इजरायल शान्ति सम्झौताका लागि आधार तयार गर्‍यो ।

यी उपलब्धि एउटा विदेशमन्त्रीका लागि महत्वपूर्ण विरासत निर्माण हो । यो विरासतले विश्व मामिलामा किसिन्जरको दृष्टिकोणको केन्द्रीय तत्वहरू उजागर गर्छ । पक्कै पनि, किसिन्जरले कूटनीतिलाई अँगालेका थिए, तर त्यो शक्तिको अनुकूल सन्तुलनको पृष्ठभूमिमा सञ्चालित कूटनीति थियो । यो कूटनीति मात्र थिएन, संयमित कूटनीति पनि थियो ।

किसिन्जरको झुकाव कन्जर्भेटिभतर्फ थियो । उनले व्यवस्थालाई प्राथमिकता दिए, जसका कारण मुलुकलाई रूपान्तरण गर्ने वा न्यायसहितको शान्ति ल्याउन चाहनेहरूका महत्वाकांक्षी लक्ष्यभन्दा युद्ध पन्छाउने उनको प्रयासले प्राथमिकता पायो । उनको जोड देशहरूबीचको राजनीतिमा भन्दा पनि दुई देशबीचको सम्बन्धमा बढी थियो । उनले भनेझैँ अमेरिकी विदेशनीतिको मुख्य काम अरूको विदेश नीतिलाई आकार दिनु थियो ।

यी कुुरा उनका विद्यावारिधिको शोधग्रन्थदेखि आणविक हतियार, गठबन्धन, कूटनीति र पछिल्लो समय विश्व व्यवस्था, चीन र एआईमाथिका उनका विचार र लेखमा प्रतिबिम्बित पाइन्छन् । किसिन्जर अमेरिकी सरकारमा विदेशमन्त्री हुन्थेनन् भने पनि उनले आफ्नो विचारको शक्ति र आफ्नो लेखनको वाक्पटुतामार्फत अमेरिकी विदेश नीतिमा गहिरो प्रभाव पार्ने थिए ।

निःसन्देह, अमेरिकी विदेशमन्त्रीमा जर्ज मार्सल, डिन एचेसन एवं जेम्स बेकरजस्ता अन्य महान् हस्ती पनि छन् । तर, जब कर्ता र विश्लेषक दुवैको कुरा आउँछ, उनीहरूको पनि किसिन्जरसँग तुलना हुन सक्दैन । उनी आफ्नो युगका एउटा सुविख्यात विद्वान् एवं अभ्यासकर्ता दुवै थिए । तर, यसको अर्थ यो होइन, किसिन्जरले केही कुरा गलत नै गरेनन् । उनीबाट निश्चित रूपमा गल्ती भएको छ । उनका आलोचक र समीक्षकहरूले त्यसको गणना गरेका छन् ।

उनी जोडिएका सबैभन्दा विवादास्पद नीति भियतनाम युद्धसँग सम्बन्धित छन् । यो युद्धका आलोचकहरूले भियतनाम युद्धलाई लम्ब्याउन र कम्बोडियामा विस्तार गर्नमा किसिन्जरलाई दोषी ठहर्‍याउँछन्, जसमध्ये धेरैले यो युद्धलाई जित्न नसकिने र लड्नलायक नरहेको ठानेका थिए । तर, युद्ध टुंग्याउन वार्ताका लागि भूमिका खेलेका कारण उनले युद्ध समर्थकबाट समेत आलोचनाको सामना गर्नुपर्‍यो । ‘शान्ति’का लागि लामो समय लाग्दा त्यसले उत्तर भियतनामलाई दक्षिणमाथि विजय हासिल गर्न अनुमति दिएको थियो ।

सन् १९७१ को घटनामा पनि किसिन्जरको भूमिका विवादास्पद रह्यो । वर्तमान बंगलादेशमा पाकिस्तान सरकारले दमनको ठूलो अभियान चलाइरहेको, अझ नरसंहार नै मच्चाइरहेको रिपोर्टहरूका बाबजुद उनी पाकिस्तान (चीनसँगको सम्बन्ध सुधारमा सहयोग गरेको सहयोगी मुलुक)को पक्षमा उभिन पुगेका थिए । उनको अन्तिम गल्ती, किसिन्जरले चिलीको साल्भाडोर एलेन्डेको प्रजातान्त्रिक तरिकाले निर्वाचित सरकारलाई अपदस्थ गर्न खेलेको भूमिकाका लागि अझै पनि तीव्र आलोचना हुने गर्छ । हुन त, किसिन्जरले आफ्ना नीति र अन्य आरोपबारे खण्डन गर्ने प्रयास पनि गरे । तर, उनका यी प्रयास पूर्णतया विश्वासयोग्य ठहरिन सकेनन्, किनकि केही आलोचना विश्वासयोग्य थिए ।
प्रोजेक्ट सिन्डिकेटबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *