काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित २ सय ७५ सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने भएका छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ ।

बैठक ढिलो बसे पनि सांसदहरूले शपथग्रहण गरेदेखि नै सुविधा पाउने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ ।
सांसदहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांसदले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ । सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् । बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ ।
सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ । नियमित पारिश्रमिकबाहेक थप रकम चाहिए पेस्की लिने सुविधा हुनेछ । सांसदले आफूले पाउने तलबको बढीमा तीन महिनाको तलबबापतको पेस्की पाउने व्यवस्था छ । बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता दिइन्छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् ।
के के हुन्छ सांसदलाई सुविधा ?
मासिक तलब– ६६०७०
अधिकृतस्तरको १ स्वकीय सचिवको तलब
विशेष भत्ता– १०००
टेलिफोन, इन्टरनेट, पत्रपत्रिका– ३०००
घर नहुनेलाई आवास– १८०००
घर हुनेलाई मर्मत खर्च– ९०००
फर्निचर– १५००० एकमुष्ट
बिजुली, पानी– २०००
अतिथि सत्कार– १०००