शक्ति बाँडफाँटमा कांग्रेसलाई ढोका खोल्दा एमाले भस्कियो, राष्ट्रपति वा सभामुख काँग्रेसलाई दिने प्रचण्ड योजना

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन्।

नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री स्वयंले राष्ट्रपति र सभामुख पदमा कांग्रेससँग छलफल भइरहेको संकेत गरेका हुन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति हुँदा नै एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख (पहिलो आधा कार्यकाल) पद एमालेले लिने सहमति भएको विश्वास गरिएका बेला प्रचण्डले त्यस्तो सहमति नभएको बताएका हुन्।

‘राष्ट्रपति, सभामुख कसलाई बनाउने भन्ने लिखित सहमति भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले शनिबार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग भने, ‘छलफल गर्दै जाने भन्ने छ, अब माघ ३ गते बस्ने सर्वदलीय बैठकमा त्यसबारे छलफल हुन्छ र सहमतिमा पुगिन्छ।’

 

 

प्रचण्डले आज शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग ३ गते सर्वदलीय बैठक बोलाउने सहमति भएको बताए।

ओलीकै सहमतिमा हुन लागेको सर्वदलीय बैठक कांग्रेससहितको हो, जसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख पद बाँडफाँटबारे छलफल गर्ने सहमति हुनुले एमाले पनि कांग्रेससँग समेत सत्ता बाँडफाँट गर्न तयार भएको जनाउ दिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको शक्ति बाँडफाँटमा हिस्सेदारी गराउन पहल थालेका छन् । संविधानको रक्षाका लागि भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले शक्ति बाँडफाँटमा राष्ट्रपतिमा चासो राखेको छ । तर, सत्तासाझेदारमध्ये सबैभन्दा ठूलो दल एमालेले भने शक्ति बाँडफाँटमा कांग्रेस सहभागी नहुने टिप्पणी गरेको छ ।

सरकारलाई विश्वासको मत दिएसँगै कांग्रेस नेताहरू राष्ट्रपति आफ्नो पक्षमा पार्न गृहकार्यमा लागेका छन् । यसका लागि कांग्रेस नेताले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतासँग भेटघाट जारी राखेका छन् । ५ माघमा हुने सभामुखको निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसले निर्णय गरिसकेको छ ।

कांग्रेस नेताले राष्ट्रपतिमा चासोबारे औपचारिक प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा कांग्रेसका लागि ढोका खुला गरिसकेका छन् । आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिइसकेको भन्दै प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखमा पनि आफूले त्यस्तै अभ्यास गर्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा राष्ट्रिय सहमति जुटाउन आफूले सर्वदलीय बैठकसमेत आह्वान गरेको जानकारी दिएका छन् । बालुवाटारमा सम्पादकहरूसँगको भेटघाटमा प्रचण्डले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग पनि छलफल हुने बताए । ३ माघमा सर्वदलीय बैठक बस्ने र सबै दलको छलफलबाट बाँडफाँट टुंगो लाग्ने उनको भनाइ छ ।

प्रचण्डले एमालेसँग सहमतिका क्रममा कांग्रेसको भूमिका प्रतिपक्षको हुने कल्पना गरेको र विश्वासको मतपछि परिस्थिति फरक परेकाले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्नुपर्ने दायित्व बढेको प्रचण्डको भनाइ छ । ‘ओलीजी र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्षमा हुन्छ भन्ने कल्पना थियो । कांग्रेसले नै मलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि मेरो पनि जिम्मेवारी हुने भयो,’ प्रचण्डले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने भन्नेतिर गम्भीर भएर लागेको छु । ३ माघमा सर्वदलीय बैठक बोलाएको छु, त्यहाँबाट सबै स्पष्ट हुन्छ ।’ प्रचण्डले ओलीसँगको परामर्शमा बैठक बोलाएको दाबी गरे ।

८ पुसमा बसेको पदाधिकारी बैठकले यसको जिम्मा सभापति देउवालाई दिएको छ । देउवाले छलफलका लागि आफूनिकट नेतालाई अगाडि सारेका छन् । शनिबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको पौडेलले बताए । ‘हिजो निर्वाचनमा पनि हामी सँगै थियौँ । अहिले पनि भेट भई नै रहन्छ । समसामयिक विषयमा छलफल भयो, कुनै विशेष छलफल भएको होइन,’ पौडेलले भने । कांग्रेसमा पौडेललाई राष्ट्रपतिका प्रमुख आकांक्षी मानिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *