आवश्यक परे ‘लकडाउन’ गर्ने नेपाल सरकारको तयारी , वीरेन्द्र सैनिक अस्पतालमा कोरोनाको परीक्षण गर्ने

 

शारदा खत्रि

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिंदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ ।संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनु पर्ने आँकलन गर्दै गृहमन्त्रालयले यस्तो गृहकार्य गरेको हो ।

त्यसअनुसार संक्रमणका विरामी भेटिए आवश्यकता अनुसार सम्वन्धित शहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने गरी खाका बनाउन लागिएको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटी बनाउने विषयमा छलफल भएको थियो। बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्भावित संकटको साना गर्न सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए।

नेपाली सेनाले कोरोना संक्रमण फैलिए आफ्ना सबै स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ। सेनासँग करिब २ हजार ४ सय जना स्वास्थ्यकर्मी छन्। सेनाका हरेक युनिटले आपतकालीन अवस्थाका लागि अभ्यास पनि थालेका छन्।

सेनाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको ठहर गरी तयारीको स्तर बढाएको हो। फौज तथा नागरिकको उपचारका लागि सेनाले छुट्टाछुट्टै कार्ययोजना बनाइसकेको छ। कार्ययोजना तयार गर्न सेनाले कार्यदल नै गठन गरेको थियो। सो कार्यदलले तत्काल गर्नुपर्ने र जोखिम थपिंदै जाँदा गर्नु पर्ने कामको योजना तयार पारेको छ।

एक सय ८१ जना चिकित्सकको टोलीलाई जंगी अड्डामा क्वारेन्टाइन बनाएर कोरानाको उपचार विधिका बारेमा सेनाले अभ्यास गराइसकेको छ। अरु स्वास्थ्यकर्मीलाई पनि क्रमैसँग अभ्यास गराइने प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिने भएको छ। स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको जोहो पनि सेनाले गरिरहेको छ।

आफ्नो क्षेत्रमा हुन सक्ने खतरा र त्यहाँ रहेका गुल्म, पृतनाले गर्न सक्ने कामको योजना पनि पेस गर्न सेनाले मातहतका युनिटलाई आदेश दिएको छ। कोरोना संक्रमणबाट बच्न फौजलाई आवश्यक तालिम गराउन थालिएको र त्यससम्बन्धी परिपत्र गरिसकेको छ।

वीरेन्द्र सैनिक अस्पतालमा कोरोनाको परीक्षण गर्ने ल्याब पनि सेनाले बनाउने भएको छ।

सोही अस्पतालमा कोरोनाबाट संक्रमित बिरामीको उपचारको निर्देशिका (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर्स) तयार पार्ने काम भइरहेको छ।

वीरेन्द्र अस्पतालको पुरानो एचआईभी सेन्टरमा १० बेडको आइसोलेसन वार्ड तयार पारिसकिएको छ। पोखरा, नेपालगन्ज र इटहरीमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा छन्। फिल्ड एम्बुलेन्समा समेत गरेर सेनासँग ५२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा छ।

वीरेन्द्र अस्पतालको बाहिरपट्टि रहेको सैनिक कल्याणकारी कोषको एक तले भवनलाई पनि प्रयोगमा ल्याइने भएको छ।

त्यस्तै, क्वारेन्टाइन स्थापना गर्नका लागि विभिन्न तालिम केन्द्र, सैनिक महाविद्यालय र मेडिकल कलेजहरु छनौट गरिएको छ।

आवश्यकता अनुसार खाली ठाउँमा मोवाइल फिल्ड अस्पताल राखेर पनि संक्रमितको उपचार गर्न सकिनेगरी तयारी भइरहेको सैनिक स्रोतले जानकारी दियो।

त्यसका लागि सेनाले खुल्ला ठाउँ समेत हेरेर सरकारलाई सिफारिस गरेको छ।

स्वयम्भुको बारुदखानास्थित ट्रान्जिट क्याम्पमा भएको भवनलाई क्वारेन्टाइन सेन्टरका रुपमा छुट्याउन पनि कार्यदलले सिफारिस गरेको छ।

खुला ठाउँमा क्वारेन्टाइन बनाउन सेनाले टेन्टको प्रयोग गर्ने भएको छ। सेनाको स्टोरमा भूकम्पको बेला चीनले दिएका लाखौँ टेन्ट छन्।

त्यसपछि पनि चीनले सेनालाई राहत तथा उद्धारका लागि टेन्ट उपलब्ध गराएकाले तत्कालका लागि अभाव नहुने सैनिक प्रवक्ता पाण्डेले बताए।

त्यसले सम्पूर्ण सैनिकको दैनिक तापक्रम नापेर रेकर्ड राख्ने र रुघा, खोकी तथा ज्वरो आएका व्यक्तिहरुको रेकर्ड छुट्टै राख्ने तयारी भइरहेको छ।

अहिले सैनिक मुख्यालयका दुई वटा गेट बन्द गरिएको छ। बाँकी गेटबाट प्रवेश गर्नेको तापक्रम नापेर मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ। वीरेन्द्र सैनिक अस्पतालमा बिरामीका आफन्तलाई समेत प्रवेशमा कडाइ गर्न थालिएको छ।

Leave a Reply

Your email address will not be published.