काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८४ लाखनजिक पुगेको छ। तीमध्ये साढे चार लाखभन्दा बढीले ज्यान गुमाएका छन्।
वल्डोमिटर्सको तथ्यांकअनुसार बुधबारसम्म विश्वमा ८३ लाख ९२ हजार चार सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार लाख ५० हजार चार सय ५१ जनाको मृत्यु भएको छ।
कोरोनाका संक्रमितमध्ये हालसम्म ४३ लाख ७८ हजार नौ सय ६२ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्।
हाल विश्वमा ३५ लाख ६३ हजार २९ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५४ हजार चार सय ५० जना (२ प्रतिशत)को स्वास्थ्य अवस्था गम्भीर छ भने ३५ लाख आठ हजार पाँच सय ७९ जनाको अवस्था सामान्य छ।
कोरोना भाइरस पहिलोपटक डिसेम्बर २०१९ मा चीनको वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका दुई सय १३ देश तथा क्षेत्रमा फैलिसकेको छ।
कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् भने यसका कारण मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामै छ।
अमेरिकामा हालसम्म २२ लाख ३३ हजार आठ सय ५४ जनामा कोरोना संक्रमण पाइएको छ। तीमध्ये एक लाख १९ हजार नौ सय ४१ जनाले ज्यान गुमाएका छन्।
कोरोना भाइरस संक्रमितको दोस्रो ठूलो संख्या ब्राजिलमा छ। ब्राजिलमा हालसम्म नौ लाख ६० हजार २३ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ब्राजिलमा हालसम्म ४६ हजार ६ सय ६५ जना संक्रमितको मृत्यु भएको छ।
रुसमा कोरोना संक्रमितको संख्या पाँच लाख ५३ हजार तीन सय एक पुगेको छ, जसमध्ये सात हजार चार सय ७८ जनाको मृत्यु भइसकेको छ। भारतमा तीन लाख ६७ हजार दुई सय ६४ जनामा कोरोना संक्रमण रहेकोमा १२ हजार दुई सय ६२ जनाले ज्यान गुमाइसकेका छन्।
बेलायतमा दुई लाख ९९ हजार दुई सय ५१ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ४२ हजार एक सय ५३ जनाको मृत्यु भएको छ।