विश्व शान्तिमा सान बढाउँदै नेपाली शान्ति सेना

मित्र भण्डारी

बेरुत (लेबनान), माघ ९ गते । संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल)मा विभिन्न देशका सैनिक र स्थानीयबीच दोभाषेका रूपमा काम गर्नुभएका ६९ वर्षीय लेबनानी नागरिक मुनिफ आतवी नेपाली आएको जानकारी पाउनासाथ स्वागत गर्न आतुर देखिनुहुन्छ ।

युनिफिलअन्तर्गत ४८ देशका झन्डै ११ हजार शान्ति सैनिक तैनाथ रहेको लेबनानमा दोभाषेका रूपमा युनिफिलमा काम गर्नुभएका मुनिफले सबैजसो देशका सैनिकसँग काम गरेको अनुभव छ ।

युनिफिल प्रतिनिधिमण्डल र नेपाली शान्ति सैनिकसँगको छोटो कुराकानीमा मुनिफले नेपाली सैनिकसँग तीन महिना मात्र काम गरेको तर उनीहरूको व्यावसायिकता र इमानदारीबाट आफू प्रभावित भएको अनुभव सुनाउनुभयो । विदेशी भूमिमा आफूप्रति गरेको माया र सद्भावका कारण नेपाली शान्ति सैनिकले पनि उहाँलाई नेपाली फादर भन्ने रहेछन् ।

मिसेज इज जाबेलका स्थानीय यासिरको पसलमा नेपाली झन्डा फहराएको मात्र छैन, साइनबोर्डदेखि पसलको सजावट नेपाली वस्तुबाट गरेको देख्दा लेबनान हो या नेपाल छुट्याउनै मुस्किल पर्छ । यासिरले नेपाली शान्ति सैनिकको व्यवहारबाट आफू अति प्रभावित बनेपछि व्यवसायको बनावट नेपालीजस्तै बनाएको अनुभव सुनाउनुभयो ।

स्थानीय नासिरको नेपाली बोली र उहाँले लगाएको दौरासुरुवाल देख्दा उहाँ नेपाली नभई लेबनानी नागरिक हुनुहुन्छभन्दा झट्ट विश्वास लाग्दैन । युनिफिल मिसनअन्तर्गत लेबनान र इजरायलबीचको सिमाना पूर्वी क्षेत्रीय कमान्डर स्पेनको सेनाका ब्रिगेडियर जनरल मेलक्लोर मारिन एलभिरा र नेपाली सेनाका सहायक रथी जोन्सन खड्का सहकर्मी हुनुहुन्छ ।

युनिफिलअन्तर्गत नेपाली सेनाका १२ वटा युनिटको समेत कमान्ड गरिरहनुभएका एलभिराले सुरक्षा अवस्थाबारे सहायक रथी खड्कालाई जानकारी गराउने क्रममा आफूलाई भन्दा लेबनानको सुरक्षा चुनौतीबारे नेपाललाई बढी जानकारी रहेको बताउनुभयो । यस्ता भनाइ र घटनाक्रमले झन्डै एक शताब्दीदेखि द्वन्द्वग्रस्त मुलुक लेबनानमा नेपाली सैनिकले पु¥याएको योगदानको प्रतिनिधित्व गर्छ ।

सन् १९७८ देखि लेबनान र इजरायलबीचको द्वन्द्वका कारण एक लाख २० हजारभन्दा बढीको मृत्यु र एक लाखभन्दा बढी लेबनानी विस्थापित भएपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा नेपाली शान्ति सैनिक तैनाथ छन् ।

राष्ट्रसङ्घको मध्यस्ततामा सन् २००६ मा सम्झौता भएपछि दुवै देशका सैनिक र गैरसैनिकका लागि सीमा रेखा (ब्लु लाइन) तय गरी शान्ति काय गर्ने प्रयास भएको छ । यद्यपि सिमाङ्कन रेखामा विभिन्न आवरणमा घुसपैठसहित एकअर्काविरुद्ध आक्रमणको प्रयास हुने गरेका कारण जुनसुकै बेला अप्रिय घटना हुन सक्ने अवस्था कायमै छ ।

युनिफिलअन्तर्गत गोरखाबक्स गणका प्रमुख, नेपाली सेनाका प्रमुख सेनानी विकास केसीका अनुसार अनफिल मिसनअन्तर्गत विगतमा अरू देशका सैनिक तैनाथ रहेकामा प्रभावकारी नभएपछि र अरू देशका सैनिकले बढी जोखिम मानेपछि युनिफिलको आग्रहमा नेपाली सैनिक ‘ब्लु लाइन’ सुरक्षार्थ परिचालन गरिएको हो तर पनि बेला–बेला तनावको अवस्था सिर्जना हुने गरेको छ ।

सन् १९३२ देखि जनगणना नभए पनि लेबनानमा झन्डै २७ प्रतिशत सिया र सुन्नी मुस्लिमको प्रतिनिधित्व रहेको अनुमान छ । २१ प्रतिशत क्रिस्चियन र बाँकी १८ वटा जनजातिको बसोबास रहेको अनुमान छ । द्वन्द्व समाधानका लागि सबै समुदायको प्रतिनिधित्व हुने गरी राज्यका प्रमुख चयन हुने गरेको छ ।

जसअन्तर्गत क्रिस्चियन समुदायबाट राष्ट्रपति, सुन्नीबाट प्रधानमन्त्री र सियाबाट सभामुख चयन हुने संवैधानिक व्यवस्था छ । धार्मिक र जनसङ्ख्याका आधारमा शक्ति सन्तुलनको मौलिक व्यवस्था भए पनि अन्य देशको प्रभावमा लेबनानमा शान्ति र स्थिरता कायम हुने सकिरहेको छैन ।

अस्थिरता र द्वन्द्वको चपेटामा परेका लेबनानीलाई विदेशी सैनिकमा नेपालीप्रति भने भरोसा र विश्वास छ । युनिफिलअन्तर्गत नेपाली शान्ति सैनिकले राष्ट्रसङ्घले तोकेको जिम्मेवारी पूरा गर्दा गरेको निष्पक्षता र स्थानीयलाई परेको समस्यामा जुनसुकै बेला सहयोग गरेका कारण लेबनानीको भरोसा बन्न सफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *