विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।
रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।
फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।
यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ ।
विगतका उदघाटन समारोहजस्तै आयोजक देशको सभ्यता र संस्कृति देखाउने पक्षमा भने यसपाली पनि समानता हुनेछ । जहाँ रुसकी प्रख्यात गायिका गारिफुलिनाको प्रदर्शन हुनेछ । उदघाटन समारोहमा ५ सय डान्सर, जिम्न्यास्ट र कलाकारहरुका प्रस्तुती समावेश हुने बताइएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् ।
‘रुसले विश्वकप आयोजनाको तयारीमा कुनै कसर बाँकी राखेको छैन । हामीले कडा मिहिनेत र खुला मनले तयारीमा काम गरेका छौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको यो संस्करणले विश्वकपलाई नयाँ उचाईमा पु¥याउने हामीले विश्वास लिएका छौं,’ पुटिनलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ, ‘विश्वकपलाई सुविधा सम्पन्न र भव्य बनाउन रुसले कुनै पनि कुरामा सम्झौता गर्ने छैन । पक्कै पनि खेलमा नतिजाको महत्व हुन्छ । तर हामी हाम्रो राष्ट्रिय टिमले गर्ने प्रदर्शनभन्दा पनि देशले आयोजनामा गर्ने प्रदर्शनमा बढि केन्द्रित छौं ।’
लुझनिकी, काजान एरिना, फिसत, निझनी नोभगोरोड, सामरा, रोस्तोभ अन डन, सेन्ट पिट्सबर्ग, स्पार्टक, इकाटेरिनबर्ग एरिना, मोर्डोभिया एरिना, कालिनगार्ड र भोल्गोग्राड गरी विभिन्न ११ सहरका १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन् ।
प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाखभन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ । तर रुसी समर्थकको हुल्याहा व्यवहार आयोजकको लागि टाउको दुखाई बन्न सक्छ ।