विवादबीच अमेरिकी सभामुख पेलोसी ताइवान भ्रमण गर्दै

काठमाडौँ — अमेरिकी संसद्‍की सभामुख न्यान्सी पेलोसीले आफ्नो एसिया भ्रमणको दौरान ताइवान भ्रमण गर्ने बताइउको छ । ताइवान सरकारका वरिष्ठ अधिकारी र अमेरिकी अधिकारीले उक्त भ्रमणबारे जानकारी दिएका छन् ।

पेलोसी ताइवानमा रात बिताउने पनि ताइवानी अधिकारीहरूले बताएका छन् । यद्यपि पेलोसी कहिले ताइपेइमा अवतरण गर्नेछिन् भन्ने यकिन भएको छैन । साथै उनको ताइवान भ्रमणबारे अमेरिकी सरकारले पनि आधिकारिक रुपमा जानकारी गराएको छैन ।

चीन र अमेरिकाबीच विवाद भइरहँदा पेलोसीको उक्त भ्रमण हुन लागेको हो । यस्तै अमेरिकी रक्षा विभागका अधिकारीहरूले उक्त भ्रमणलाई लिएर चिनियाँ गतिविधिहरूको निगरानी गरिएको पनि जनाएका छन् । साथै यसका लागि उनीहरूले हाल निरन्तर काम गरिरहेको बताइएको छ ।

गत बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच १ घण्टा १७ मिनेटसम्म वार्ता भएको थियो । त्यस क्रममा सीले पेलोसीको ताइवान भ्रमणको विषय पनि उठाएका थिए । र त्यसबारे आपत्ति जनाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानको विषयलाई लिएर चीन र अमेरिकाको सम्बन्ध पछिल्लो समय थप बिग्रिँदै गएको छ । दुई शक्तिशाली देशबीच विवाद कायम रहँदा पेलोसीको भ्रमणलाई लिएर अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गरेको पनि अमेरिकी मिडियाले जनाएका छन् ।

अमेरिकी डेमोक्रयाट पार्टीको नेतासमेत रहेकी पेलोसी चिनियाँ कम्युनिस्ट पार्टीको आलोचकको रुपमा पनि चिनिन्छिन् । उनले यसअघि तिब्बती धार्मिक नेता दलाइ लामालाई समेत भेट गरेकी थिइन् । यस्तै पेलोसीले दुई वर्षअघि हङकङमा चलेको प्रजातन्त्रवादीहरूको विशाल जनप्रदर्शनको पक्षमा पनि खुलेर बोलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *