कोरोना संक्रमण संकटको बीचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रवासीलाई अल्पकालीन समयको लागि रोक्ने कानूनमा हस्ताक्षर गर्ने बताएका छन् ।
अमेरिकामा विश्वभरबाट मानिस प्रत्येक वर्ष सुखी जीवन खोज्दै प्रवेश गर्ने गर्छन् । यसमा सबैभन्दा ठूलो संख्यामा चीन, भारत, फिलिपिन्स, मेक्सिको र क्यूबाका मानिसकोछ ।
सोमबार राती ट्रम्पले एक ट्विट गर्दै कोरोना महामारीपछि अमेरिकी नागरिको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गर्न लागेको बताएका छन् ।
‘अदृश्य शत्रुबाट भएको आक्रमण र अमेरिकीहरूका जागिरलाई पनि जोगाउनु पर्ने आवश्यकता भएको कारण म आप्रवासीलाई केही समयका लागि अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै छु,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्।
पछिल्ला चार हप्तामा, २० करोडभन्दा बढी अमेरिकीहरूले बेरोजगार भएको दाबी गरेका छन्। केही सातायता ट्रम्प प्रशासनले स्वास्थ्यको मुद्दालाई देखाएर अमेरिका प्रवेश गर्न चाहने शरणार्थीहरु तथा कागजात विहीनहरूलाई रोक्ने कदम ठिक हुने निर्णय गर्दै आएका थिए।
राष्ट्रपति ट्रम्पले पहिलादेखि नै आप्रवासीका लागी कठोर नीति लिँदै आएको देखिन्छ । ट्रम्प प्रशासनले यही आदेशका भरमा यो पक्रियालाई अनिश्चितकालसम्म लब्याउन सक्छ।
अमेरिका कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको देश हो । जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार अमेरिकामा ७ लाख ८७ हजार ९ सय १ मानिस कोरोना संक्रमित भएका छन् भने ४२ हजार ५ सय बढीले ज्यान गुमाएका छन्।