‘लाहुर’ गइरहेको देश !

काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ। दिनहुँ सरदर दुई हजार ४०० भन्दा बढी युवा मुलुक छोडेर काम र पढाइका लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ। यसरी देश छोडिरहेकामध्ये कैयौं युवाले सधैंका लागि विदेशमा बसोबास गर्ने योजना बनाएका हुन्छन्।

बितेको वर्ष मात्रै काम र अध्ययनका लागि करीब नौ लाख युवाले देश छोडे। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन्। त्यस्तै, गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क छ। यो चानचुने संख्या होइन, देशको युवा उमेरसमूह १६-४० को करीब सात प्रतिशत हो।

यसअघि एकै वर्ष यति धेरै संख्यामा युवाले देश छोडेको अभिलेख छैन। योभन्दा पनि महत्त्वपूर्ण त युवा पलायनको तीव्रता मत्थर हुने छाँटकाँट छैन। मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार देखिन्छ। जसकारण गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् भने कलेज-विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दो छ। समाजशास्त्री डा. गणेश गुरुङ भन्छन्, “न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ- सिङ्गो देश नै विदेश गइरहेको छ।”

देश छोड्ने हतारो

रसुवाको कालिका-३ का ६ युवा एकैसाथ भदौको पहिलो साता कामका लागि यूरोपेली देश क्रोएशिया प्रस्थान गरे। देशमा बसेर उन्नति गर्न नसकिने निचोड सहित अध्ययन, व्यवसाय र जागीर छोडेर उनीहरूले सात समुद्रपारि पसिना बगाउने निधो गरेका थिए। तिनैमध्येका एक भुवन न्यौपानेको चाहना यूरोपमा दीर्घकालसम्म स्थायी रूपमा बस्न पाइने अनुमति पाइन्छ कि भन्नेमा छ। देश छोड्नुअघि उनले सुनाए, “भाग्यले साथ दिए क्रोएशियाबाट यूरोपको अर्को मुलुकमा सरेर स्थायी आवास अनुमति (पीआर) पाइएला नि!”

नुवाकोटको विदुरका विनोद पौडेलको दैनिकी खल्तीमा हात हालेर यताउता बरालिएर बित्छ। बेरोजगार पौडेल अहिले राहदानी वैदेशिक रोजगार व्यवसायीलाई बुझाएर विदेशिने दिन कुरिरहेका छन्। “यता के गरेर बस्ने? भएका साथीभाइ जति सबै विदेश गइसके,” उनी भन्छन्।

विद्यालय शिक्षा (कक्षा १२) सक्ने बित्तिकै तरुणको ध्यान थप उच्च शिक्षा हासिल गर्ने होइन, विदेश गएर कमाउनेतिर गइरहेको छ। भर्खरै कक्षा १२ सकेकी काठमाडौंको बालाजुकी आकृति तिमल्सिना क्यानडा वा अस्ट्रेलियामध्ये एक देश पढ्न जान तयारी गरिरहेकी छन्। स्टडीपोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपाल सहितका १४ देशबाट रहेको उल्लेख छ। नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १.७ प्रतिशत हिस्सा ओगटेको छ।

अर्थशास्त्री डा. समीर खतिवडा मानिसको आधारभूत चरित्र नै अवसर खोज्दै हिंड्ने भएकाले राम्रो भविष्यका लागि युवाले नेपाल छोड्न खोज्नु स्वाभाविक भएको मान्छन्। खतिवडा भन्छन्, “जसलाई पनि भोलिको दिन राम्रो होओस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ। नेपालमा त्यस्तो आशा नदेखेपछि हिंड्न खोज्नु अस्वाभाविक होइन।”

हुन पनि नेपाली युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनिरहेको छ। समाजशास्त्री दिनेश प्रसाईं नेपाल समाज लाहुरे संस्कृतिसँग अभ्यस्त भएकाले परिवारका सदस्य विदेश जानु गर्वको कुरा भएको अनुभूतिबाट गुज्रिंदै आएको बताउँछन्। त्यसमाथि पछिल्लो समय त सिङ्गो नेपाली समाजले देशबाट आशा नै गुमाइसकेकाले विदेश विकल्प बनेको देख्छन्। प्रसाईं भन्छन्, “राजनीतिप्रति आशा नै भएन। मुलुक सप्रिन्छ भन्ने आशा नै नभएपछि सबैलाई विदेश जाऔं भन्ने लागेको छ।”

त्यसो त नेपाली समाजमा लाहुर जाने र कमाएर ल्याउने परम्परा नौलो होइन्। १९औं शताब्दीको शुरूतिर नै ‘पन्जाब केशरी’ रणजीत सिंहको लाहोर छाउनीमा नेपाली युवा भर्ती भएर धन कमाउन थालिसकेका थिए। सन् १८१६ को सुगौली सन्धिपछि त नेपाली युवाका लागि विदेशी सेनामा गोर्खा भर्तीको औपचारिक ढोका नै खुल्यो। विश्वव्यापीकरण र आर्थिक उदारीकरणको युग शुरू भएपछि बितेका तीन दशकमा भने आम्दानी बढी हुने सम्पन्न र विकासोन्मुख मुलुकतिर नेपाली कामदार ओइरिन थाले।

पछिल्लो दशकमा भने अध्ययनका लागि विदेशिने विद्यार्थी पनि उत्तिकै बढेका छन्। वैदेशिक अध्ययनका लागि देश छोडे पनि प्रकारान्तरले विदेश पुगेकाको उद्देश्य स्वदेश फर्किने होइन, उतै स्थायी बसोबास गर्ने हुन्छ।

आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार, २०७९ फागुनसम्म ५५ लाख २६ हजार ७०० जनाले वैदेशिक रोजगारीमा जान औपचारिक श्रम स्वीकृति लिएका छन्। वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको संख्या पनि सानो छैन। यस हिसाबले भारत बाहेकका तेस्रो मुलकमा रोजगारी, अध्ययनका लागि औपचारिक तथा अनौपचारिक रूपमा पुगेका नेपालीको संख्या ५० लाख हाराहारी रहेको अनुमान गरिन्छ। परिवारबाट अलग भई अक्सर विदेशमा बसोबास गर्ने नेपालीको संख्या करीब २२ लाख रहेको राष्ट्रिय जनगणना, २०७८ ले देखाएको छ। यद्यपि अध्ययन र कामकाजका लागि विदेशमा रहने नेपालीको संख्या योभन्दा क‌ैयौं गुणा धेरै छ।

मुलुकबाट बाहिरिने ताँतीमा श्रम बेच्न मध्यपूर्व वा मलेशिया हिंडेका मात्र होइन, उच्च सीप र शिक्षायुक्त दक्ष जनशक्ति समेत आश्चर्यलाग्दो गरी बढिरहेको छ। देशमा भविष्य नदेखेपछि उच्च शिक्षा अध्ययन गरेका र प्राविधिक ज्ञान पाएको जनशक्ति सुरक्षित भविष्य र आकर्षक आम्दानीका लागि पलायन भइरहेको छ।

देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ। नेपालबाट बर्सेनि कति संख्यामा पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन। समाजशास्त्री गणेश गुरुङ पेशागत विशेषज्ञ र दक्ष जनशक्ति पलायन हुनुले देशको अधोगतिलाई सङ्केत गरेको देख्छन्।

किन देश छोड्दै छन् युवा?

समाजशास्त्री दिनेश प्रसाईं युवा जनशक्तिको विदेश आकर्षणमा आम्दानीको अवसरलाई कारण मान्छन्। एक त देशमा पर्याप्त रोजगारीको अवसर छैन, काम मिलिहाले पनि तलब-ज्याला विदेशका तुलनामा थोरै छ। यही आम्दानीको असमानताका कारण मजदूरी गर्ने मात्र होइन, सीप र व्यावसायिक दक्षता भएका युवा पनि मुलुक छोड्न खोजिरहेका छन्।

त्योभन्दा पनि महत्त्वपूर्ण चाहिं राजनीतिप्रति नेपाली समाजको नै आशा झन् हराएको प्रसाईंको तर्क छ। “राजनीति, प्रशासन सबै भ्रष्ट छन् भन्ने सबैलाई थाहा छ। मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन्,” समाजशास्त्री प्रसाईंले भन्छन्।

अर्थशास्त्री खतिवडा पनि आर्थिकलाई नै युवा विदेशिने प्रमुख कारण मान्छन्। नेपालमा अर्थतन्त्रको स्वरूप नै आम्दानी र खर्चका बीचमा मेलमिलाप नहुने स्थितिमा पुगेको छ। निश्चित आम्दानी भएका घरपरिवारलाई आधारभूत चिजबिज किनेर घर चलाउनै कठिन पर्ने स्थिति छ। “जागीर गरेर घर, गाडी जोडौं, छोराछोरी राम्रोसँग पढाऔं वा रोग लाग्दा उपचार गरौं भन्न सकिने स्थिति छैन। यसैले धेरैलाई विदेशतिर धकेलिरहेको हो,” खतिवडा भन्छन्।

समाजशास्त्री गुरुङ दशक लामो द्वन्द्व र राजनीतिक संक्रमणपछि मुलुकले उन्नति र समृद्धिको बाटो समात्ने नागरिक आशा पूरा नभएपछि आमनिराशा बढेको बताउँछन्। उनका अनुसार कोभिड-१९ महामारीमोचनपश्चात् देशमा आर्थिक गतिविधिको सुस्तताका कारण व्यवसाय र रोजगारीको अवसर खुम्चिएकाले युवाको विदेश जाने क्रम बढेको छ। त्यसैमाथि सरकारको कमजोर कार्यसम्पादन, राजनीतिक अस्थिरता, लथालिङ्ग प्रशासन, यत्रतत्र भ्रष्टाचारले युवालाई देश छोड्न बाध्य पारिरहेको उनको तर्क छ। गुरुङ भन्छन्, “पछिल्लो समयमा त यो मुलुकमा बालबच्चाको भविष्य छैन भनेर उच्च मध्यमवर्गीय परिवार समेतले विदेशमा घरघडेरी किनेर दुई देशमा खुट्टा राख्न खोजेको देखियो।”

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्य मुलुकबाट युवा बाहिरिने अहिलेको प्रवृत्ति भयावह स्तरमा पुगिसकेको बताउँछन्। बज्राचार्य नेपाली समाज छिटो प्रतिफल चाहने, छिटो धनी हुने लालसाले ग्रस्त बनिसकेकाले देशको अवसरभन्दा विदेशै ताकिरहेको देख्छन्। “एकाध दशकअघिका तुलनामा मान्छेको अपेक्षा अनपेक्षित तरीकाले बढेको छ। उपभोग गर्ने प्रवृत्ति उसैगरी फेरिएको छ। त्यसले सबैलाई विदेशतिर आकर्षित गरिरहेको छ, नेपाली समाजका लागि यो चानचुने सङ्कट होइन,” बज्राचार्य भन्छन्।

आत्मविहीन मुलुक

नेपालीको लाहुर गएर धन कमाउने प्रवृत्तिले नेपाली समाजको अर्थ-राजनीतिक चरित्रमा ठूलो फेरबदल ल्याएको तथ्य बिर्सनै मिल्दैन। संसारभरि छरिन पुगेका नेपालीको कमाइ उनीहरूको परिवारको अर्थोपार्जनका लागि मात्रै होइन, देशको अर्थतन्त्रका लागि पनि मुख्य टेको बनिरहेको छ। मुलुकको विदेशी मुद्रा आम्दानीको भरपर्दो आधार रेमिटेन्स नै बनेको छ।

तीन दशकअघि दुईमध्ये एक जना नेपाली गरीब थिए। गरीबीको दर करीब १७ प्रतिशतमा झार्न मुख्य रूपमा विदेशकै धनले काम गरेको मानिन्छ। त्यति हुँदाहुँदै पनि युवाको निरन्तर पलायनले मुलुकलाई ठूलो चुनौती खडा गरेको छ, दीर्घकालसम्मै।

राष्ट्रिय जनगणना, २०७८ अनुसार मुलुकमा काम गर्न सक्ने उमेर समूह १५-६४ को संख्या कुल जनसंख्याको झन्डै ६५ प्रतिशत छ। उच्च श्रम गरेर कमाउन सक्ने उमेर समूहको जनसंख्या धेरै हुनु मुलुकको उन्नतिका लागि हितकर मानिन्छ। अर्थशास्त्री र जनसंख्याविद्हरूले यसलाई ‘जनसांख्यिक लाभ’ भनेर अर्थ्याउने गरेका छन्।

तर, नेपालमा उपलब्ध श्रमशक्तिको लाभ लिन मुलुक चुकिरहेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारी बताउँछन्। अधिकारी भन्छन्, “जनसांख्यिक लाभ मुलुकले सधैं पाउँदैन। यो अवसर छोप्न सके मुलुकले काया फेर्न सक्छ, उपयोग गर्न नसके देश बूढो हुँदै जान्छ र मुलुकको गति पछाडि पर्छ। नेपालमा काम गर्न सक्ने युवा धमाधम विदेशिइरहेकाले अवसर गुमिरहेको छ।”

कुनै पनि देशको जनसांख्यिक लाभको अवस्था लामो समय टिक्दैन। विगतमा उच्च जन्मदर भएका वेला जन्मिएकाको ठूलो संख्या क्रमशः तन्नेरी र युवामा रूपान्तरित भई तिनको श्रमले मुलुकलाई छिट्टै समृद्ध बनाउन सक्ने सम्भावना हुक्छ। तर, जन्मदर कम हुँदै जाँदा र वृद्धवृद्धाको अनुपात बढ्दै जाँदा कुल जनसंख्यामा युवा शक्तिको अनुपात घट्छ। यसले श्रम गर्ने भन्दा उत्पादनमा न्यून सक्रिय र अरूप्रति आश्रितको अनुपात धेरै बनाउँछ।

२०७८ सालको जनगणना अनुसार देशको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा ओर्लिएको छ। दुई दशकअघि मात्रै जन्मदर २.२४ प्रतिशत थियो। अहिले ६५ वर्षमाथिका वृद्धवृद्धाको संख्या कुल जनसंख्याको झन्डै सात प्रतिशत पुगेको छ।

औसत आयुमा वृद्धि, खानपान-स्वास्थ्योपचारको सुधारका कारण बढी समय बाँच्ने वृद्धवृद्धाको संख्या भविष्यमा बढ्दै जानेछ। जसले गर्दा देशमा ज्येष्ठ नागरिकको अनुपात बढ्दै जान्छ। तर, ती ज्येष्ठ नागरिकलाई रेखदेख गर्ने छोराछोरी नेपालमा हुनेछैनन्। जसले गर्दा तिनको वृद्धावस्था एक्लो बित्नेछ।

राष्ट्रिय योजना आयोगको डेमोग्राफिक चेन्ज अफ नेपालः ट्रेन्ड्स एन्ड पोलिसी इम्प्लिकेसन्स प्रतिवेदनका अनुसार नेपालले जनसांख्यिक लाभ पाउने समय सन् १९९२ बाट शुरू भएको हो र यो सन् २०४७ सम्म कायम रहन्छ। अर्थात्, श्रम शक्ति उच्च हुने समयावधिबाट अवसर लिन नेपालसँग अब अढाई दशक मात्रै बाँकी छ। तर, श्रम शक्ति धमाधम विदेशी भूमिमा पुगेपछि त्यो अवसर समात्ने सक्नेमा सन्देह उब्जिएको छ।

श्रम गर्न सक्ने क्षमता भएका जनशक्ति र बौद्धिक पलायनले नेपाल जस्तो अति कम विकसित देशको उन्नतिको अवसर समाउने प्रयत्नमा असर परिरहेको अर्थशास्त्री डा. अधिकारी बताउँछन्। उनी राजनीति र सरकारले नागरिकलाई उत्साहित र देशमै काम गर्न प्रोत्साहन गर्न नसकेको तर्क गर्छन्। अधिकारीका मतमा तरुण वयका युवालाई देशमै अवसर सिर्जना गर्न सकिने वा विदेश जाँदाका जोखिमबारे सही सूचना नै पुगिरहेको छैन। अधिकारी भन्छन्, “अर्धसूचनाका भरमा धेरै युवा विदेश गइरहेका छन्। सही सूचना दिने हो भने सबैथोक छोडेर विदेश हाम फाल्ने प्रवृत्ति रोकिन्छ।”

समाजशास्त्री प्रसाईंका मतमा देश छोडेर विदेश हानिन खोज्ने अहिलेको प्रवृत्ति नेपाली समाजको नैतिक सङ्कट नै हो। “यो सङ्कटको आत्मसमीक्षा नीतिनिर्माता, राजनीतिज्ञ कसैले पनि गरेको छैन। कसैलाई केही मतलब नै छैन। तर, युवा रित्तिंदै गएको मुलुक भने झन् झन् आत्माविहीन भइरहेको छ,” उनी भन्छन्।

विदेश गइरहेका युवा र उनीहरूका आफन्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। गोपेन राई/हिमालखबर
अर्थशास्त्री बज्राचार्य विदेशिने युवाका लागि देशभित्रै कामको अवसर सिर्जना गर्न, आशा देखाउन हतारोसाथ काम थाल्नुपर्ने बताउँछन्। हरेक वर्ष विदेशिनेमध्ये निश्चित प्रतिशतलाई देशभित्र राख्ने, अवसर सिर्जना गर्नेमा चरणबद्ध रणनीति र योजना अघि सार्नुपर्ने उनको भनाइ छ। “विदेश जाने अहिलेकै प्रवृत्ति कायम रहे भविष्यमा नेपालको राजनीतिक, सामाजिक र आर्थिक मात्रै होइन, सार्वभौमसत्ताकै सङ्कट आउने जोखिम छ,” बज्राचार्य भन्छन्।

त्यसो त युवा जनशक्ति द्रुत गतिमा विदेशिएकोमा सरकार र राजनीतिक नेतृत्व खुशी छैन। अर्थमन्त्री प्रकाशशरण महतले भदौको दोस्रो साता एक सार्वजनिक कार्यक्रममा विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले एक सार्वजनिक कार्यक्रममा पनि देशमा निराशाको खेती भइरहेको बताएका थिए।

अर्थमन्त्री महतले त पढ्न जाने युवालाई छात्रवृत्ति बाहेक जानै दिन नहुने तर्क समेत गरे। तर, अर्थशास्त्री खतिवडा यस्तो तर्क घातक रहेको बताउँछन्। उनी भन्छन्, “देशमा गुणस्तरीय जीवनयापन हुने वातावरण नबनाउने, तर विदेश जान नदिन हातखुट्टा बाँध्ने प्रवृत्ति बिल्कुल सही होइन। यो झन् घातक हुन्छ।”

आखिर मानिस किन विदेश जान्छ?

वर्तमान नेपाल राज्य बन्नुभन्दा पहिलेबाट नै शुरू भएको विदेशगमन लाहुर हुँदै यूरोप-अमेरिकासम्म पुग्दा डायस्पोरा बनेको छ। तर, नेपाली डायस्पोराले नेपाली समाजमा सङ्कीर्ण राष्ट्रवादलाई नै मलजल गरिरहेको छ।

पहाडका बासिन्दाको विदेशगमनको इतिहास वर्तमान नेपाल राज्य बन्नुभन्दा पहिलेबाट नै शुरू हुन्छ। अवसरको खोजीमा पहाडका मानिस तल-माथि गर्ने गर्थे। बलभद्र कुँवर नै किल्ला-काँगडामा लड्दालड्दै पन्जाबका राजा रणजित सिंहको सेनामा काम गर्न गएको इतिहास छ।

त्यसो त काठमाडौं उपत्यकाका बासिन्दा पनि देश छोडेर बाहिर जाने, आउने गर्थे। यहाँ देश शब्दले आजको जस्तो अर्थ बोक्दैन। रिचर्ड बर्घटले व्याख्या गरे जस्तै ‘उस्तै रहनसहन र संस्कृतिका मानिसहरू बस्ने थलो’ बताउँछ। काठमाडौं वा नेवाः देशका बासिन्दा मूलतः व्यापारको सिलसिलामा हिंड्ने गर्थे। भक्तपुरको वैभव तिब्बतसँगको व्यापारले सिर्जना गरेको हो।

पहाडका मानिसको विदेशगमन व्यापारभन्दा पनि बढी श्रमसँगै जोडिएको छ। भारतमा बेलायती उपनिवेश सुदृढ हुँदै जाँदा यो श्रम आप्रवासन पनि फैलिंदै गयो। त्यसको मुख्य कारण थियो, उनीहरूले शुरू गरेको चियाखेती। चियाखेतीले सिर्जना गरेको अवसरका कारण नेपालको पहाडका मानिस दार्जीलिङ, डुवर्स, आसामतिरका चिया बगानमा गए। बिस्तारै अरू नेपाली पनि पूर्वोत्तर भारतदेखि बर्मासम्मका जङ्गल फँडानी गरेर खेतीपाती र पशुपालन गर्न पुगे।

बेलायती उपनिवेशले श्रम आप्रवासनको अर्को महत्त्वपूर्ण शुरूआत पनि गर्‍यो। त्यो थियो, बेलायती फौजमा नेपाली युवाको सहभागिता। नेपाल-अंग्रेज युद्धपछि नै नेपाली युवा अनौपचारिक रूपमा बेलायती सेनामा भर्ती हुन जान थालेका थिए। वीरशमशेरको उदयपछि राज्यले नै अनुमति मात्र दिएन, भर्तीका लागि आह्वान नै गर्‍यो। यसरी ठूलो संख्यामा पहाडका मानिस मूलतः भारतमा कामका लागि जान थाले। त्यसैले विदेशगमन ऐतिहासिक छ।

चिया बगानमा काम गर्न होस् वा सैनिक बनेर, दुवै संगठित श्रम आप्रवासन थियो। सैन्य सेवा त संगठित हुने भइहाल्यो, चिया बगानको काम पनि संगठित नै थियो। किनभने चिया खेती संगठित उद्योग हो। सैनिक कमान्ड जसरी नै चियाको खेती हुन्छ। चिया मजदूरका लागि बस्ती बनाइएको हुन्थ्यो। त्यहाँ डिस्पेन्सरी, सामुदायिक भवन आदि हुन्थे। त्यसैले चिया कमान्ड भनिन्थ्यो, जुन अहिले अपभ्रंश भएर चिया कमान भएको छ।

यीमध्ये पनि लाहुरे इतिहासको ठूलो महत्त्व छ किनभने यसले नेपाली समाजमा प्रशस्त प्रभाव पारेको छ। नेपाली समाजको चेतना निर्माण र आधुनिकतातर्फको यात्रामा यसको महत्त्व छ। लाहुरेहरू जतिसुकै टाढाको युद्ध मैदानमा लड्न पुगे पनि बाँचेकाहरू गाउँ फर्किन्थे। त्यसैले ‘लाहुरे सधैं गाउँ फर्किन्छ’ भनिन्थ्यो। फर्किएन भने त्यो एउटा विषाद बन्थ्यो। गाउँ फर्किने लाहुरे सधैं अन्य युवाको आकर्षण बन्थ्यो।

बिस्तारै श्रम आप्रवासनमा विविधीकरण आउन थाल्यो। संगठित रूपमा नभई व्यक्तिगत तवरमा अन्य श्रम क्षेत्रमा पनि जान थाले। यस्तो खालको विदेशगमनको शुरूआत भने समुद्रपारको संसारबारे जानकारी हुन थालेपछि नै भएको हो। जंगबहादुरको बेलायत यात्रापछि नेपालीलाई समुद्रपारका देशबारे थाहा हुन थाल्यो। शुरूमा पानीजहाज चढेर जान्थे। हवाई यातायातको विकासले यो विदेशगमनलाई तीव्रता दियो। त्यो क्रम सन् १९९० पछि शुरू भयो।

यो विदेशगमनलाई विश्वमा भइरहेका परिवर्तनसँग जोडेर हेर्नुपर्छ। सन् १९७० को दशकमा पेट्रोल सङ्कट भएपछि खाडी मुलुकमा तेलको उत्पादन बढ्न थाल्यो। त्यस्तै, सन् १९८० को दशकमा लिटिल टाइगर्स भनिने दक्षिण-पूर्वी एशियाका मलेशिया, कोरिया जस्ता देशमा आर्थिक उन्नति शुरू भयो।

त्यहाँ शुरूआतमा उद्योगभन्दा पनि सेवा क्षेत्रको बढी विकास भएको थियो। यी दुवै क्षेत्रमा श्रमको माग बढ्यो। त्यसको प्रभाव नेपालसम्म पर्‍यो। पासपोर्ट भयो भने धेरै टाढा नगई खाडी मुलुक र मलेशियामा काम गर्न गएर कमाउन सकिन्छ भन्ने थाहा पाए।

सन् १९९० को परिवर्तनपछि नेपालमा पासपोर्ट खुकुलो भयो। त्यसअघि बाहिर पढ्न जानका लागि पनि पासपोर्ट पाउन गाह्रो थियो। एकातिर खाडी मुलुक र मलेशियामा खुलेको अवसर, अर्कातिर नेपालमा भएको खुलापन, यी दुवै कारणले नेपाली ठूलो मात्रामा श्रमका लागि विदेशिन थाले। त्यो श्रम आप्रवासन पहिले लाहुरे हुँदा वा चिया बगानमा जाँदा जस्तो संगठित थिएन। यो श्रम आप्रवासनले विदेशगमनको चरित्रमा नै परिवर्तन ल्यायो। माओवादी विद्रोह चुलिंदै गएपछि यो श्रम आप्रवासन झनै बढ्दै गयो।

यो विदेशगमनको अर्को पाटो, पहाडका मानिस मात्र होइन, देशका हरेक क्षेत्रका युवा विदेशिन थाले। पुरुष मात्र नभई महिला पनि जान थाले। यी युवाले पठाएको रेमिटेन्स नेपालको अर्थतन्त्रको एउटा बलियो आधार बन्दै गयो। यद्यपि यसले नेपाली डायस्पोरा सिर्जना गरेको होइन। लाहुरे नभए पनि यी युवा निश्चित समय काम गरेर आफ्नै घर-गाउँ फर्किन्छन्।

विदेश जाने र उतै बस्ने क्रम भने मूलतः यूरोप र अमेरिका जान थालेपछि शुरू भएको हो। हुन त बेलायती फौजमा काम गर्न गएका नेपाली गोर्खा सन् १९९० दशकका अन्त्यबाट नै हङकङमा बस्न थालेका हुन्। जब सन् १९९७ मा हङकङ चीनलाई फर्काइने चर्चा शुरू भयो, त्यहाँ बसेका गोर्खाले आफ्नो आवाज उठाउन थाले। त्यति वेलासम्म हङकङ आइडी कार्डको व्यवस्था हुन थालिसकेको थियो।

बेलायती फौजमा काम गरेका नेपालीले ‘हामीले यत्रो वर्ष बेलायत सरकारको सेवा गर्‍यौं, अब हामी र हाम्रा सन्तानले यही बस्न पाउनुपर्छ’ भनेर आवाज उठाए। त्यो न्यायोचित पनि थियो। त्यसरी उनीहरू बस्न थाले। यो पुरानो संगठित श्रम आप्रवासनकै सिलसिलामा आएको नयाँ मोड थियो।

यूरोप, अमेरिका र अस्ट्रेलिया जाने क्रम भने योभन्दा फरक हो। सन् १९८० दशकको अन्त्यतिरबाट नेपाली अस्ट्रेलिया जान थालेको पाइन्छ। यूरोप र अमेरिकामा त त्योभन्दा पहिलादेखि जाने गरेका थिए। त्यहाँ काम वा पढ्नका लागि गएका नेपाली उतै बस्न थालेपछि भने नेपाली डायस्पोरा पनि बिस्तारै सिर्जना हुन थाल्यो। सन् १९९० को दशकमा अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) खुलाउन थालेपछि त उतै बस्ने गरेर जाने नेपाली झनै बढ्न थाले।

अर्कातर्फ सन् १९९० को दशकमा यूरोपमा जनशक्तिको अभाव भएपछि नेपाल जस्ता विकासशील देशका मानिसलाई लैजान थाले। त्यसले पनि विदेश गएर उतै बस्ने प्रचलन शुरू हुन थाल्यो। त्यसरी नेपाली बस्न थालेपछि त्यहाँ बजारको आवश्यकता पर्‍यो। नेपाली खानाको रेस्टुरेन्ट खोल्ने अवसरको सिर्जना भयो। त्यसैले अरू मानिस पनि जान थाले।

नेपाली डायस्पोरालाई सरसर्ती नियाल्दा निश्चित देशमा निश्चित ठाउँका मानिस गएको पाइन्छ। जस्तो- जापानमा बाग्लुङ, म्याग्दीका मानिस धेरै छन्। फिनल्यान्डमा गुल्मीका मानिस धेरै छन्। जापानमा पनि गुल्मीका धेरै मानिस रेस्टुरेन्टमा काम गर्छन्।

यसरी नेपाली बाहिर जानुको पछाडि सामाजिक मनोविज्ञानले पनि काम गरेको छ। साधनस्रोतमा सानो, वैदेशिक सहायता र ऋणमा निर्भर र अर्थतन्त्र सानो भए पनि नेपाली समाजको आधुनिकताको आकांक्षा एकदमै बढी छ। यो आकांक्षाको सिर्जना विदेशगमनले नै भएको हो। खासगरी लाहुरेले आधुनिक जीवनशैली नेपालमा भित्र्याए। बनारस, कलकत्ता, अलाहबाद लगायत भारतका शहरमा पढ्न जाने युवाले पनि आधुनिकतालाई आफ्नो समाजसम्म फैलाए। सूचना-प्रविधि र यातायातको विकासले आधुनिकतातर्फको यात्रालाई गति दियो।

शुरूमा आधुनिकताको आकांक्षा नेपाली हुनुमा थियो। अहिले त्यो आधुनिकताको आकांक्षामा परिवर्तन भएको छ। त्यो सम्पन्नताको पक्षसँग जोडिन्छ। त्यही आधुनिकताको आकांक्षाकै कारण नेपाली विदेश गइरहेका छन्। अहिले भइरहेको विदेशगमन यही आधुनिकताको आकांक्षासँग जोडिएको छ। त्यसैले आधुनिकता र विदेशगमनको एउटा चक्र निर्माण भएको छ।

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि भन्दै विदेश जाने क्रम बढेको छ। धेरै मानिस बाहिर गइरहेछन्। जसरी बत्तीको उज्यालोमा पुतली झुम्मिन्छन्, त्यसैगरी नेपाली युवा पनि विदेशको आकर्षणमा गइरहेछन्। सामाजिक विज्ञानको भाषामा त्यसलाई ‘ब्राइट लाइट सिन्ड्रोम’ भनिन्छ। तर, यसरी गएकामध्ये सबैले सुख नै पाएका छन् भन्न गाह्रो छ। दुःख पाउने पनि प्रशस्त छन्।

अहिले त विदेश जाने प्रक्रिया नै जोखिमयुक्त छ। कोभिड-१९ महामारी सकिएपछि दिल्ली जाँदा मैले हवाईजहाजमा जापान जाने विद्यार्थीको हुल भेटेको थिएँ। उनीहरूलाई त्यहाँ गएर के गर्ने, कसो गर्ने भन्ने सामान्य जानकारी पनि गराइएको थिएन। हुन त मानिसले लडेर पनि सिक्छ, तर उनीहरूले कुन हदसम्मको हन्डर-ठक्कर खानुपर्ला भन्ने सोचेर म चिन्तित भएँ।

अहिले बेलायतमा राम्रै व्यापार गरिरहेका एक जना व्यक्तिलाई चिन्छु म। उनी भन्थे, “दाइ, म सुँगुर र गाईको मासु बोक्ने चिसो कन्टेनरमा कठ्याङ्ग्रिंदै आएको हुँ। मलाई लाग्छ, त्यो कन्टेनरमा भएका सबै बाँचेनन्।”

अमेरिका जान भनेर हिंडेको नेपाली युवा अफ्रिका वा क्यारेबियनका जङ्गलमा भेटिन्छ। यूरोप हिंडेको मानिस कन्टेनरमा भेटिन्छ। यसरी जोखिम उठाएर जाने मानिस को हुन्? पक्कै पनि गरीबीको रेखामुनि परेको गरीब गइरहेका छैन। केही हदसम्म सूचना भएको, आफन्त वा चिनेजानेका मानिस अमेरिका-यूरोप-अस्ट्रेलिया भइरहेका मानिस गइरहेका छन्।

देशमा सुरक्षित भविष्य नदेखेर विदेश गइरहेका छन् भन्ने गरिन्छ। मेरो मनमा प्रश्न उठ्छ, जो मानिस १०, १५ वा ५० लाख तिरेर अमेरिका जाने सोच बनाउँछन् उनीहरूले यहाँ के सुरक्षा देखेनन्? उनीहरू जुन जोखिम भोगेर त्यहाँ गइरहेका छन्, त्यो र आफ्नो देशमा हुने जोखिममा फरक के छ? आखिर मानिस के सोचेर बाहिर जान्छ? त्यसबारे राम्रो ‘इथ्नोग्राफिक स्टडी’ हुनुपर्छ।

त्यस्तै, एउटा कन्सल्टेन्सीले कति मानिस पठाउँछ? तीमध्ये कति टिकेर बस्छन्? कति दुःखको भुमरीमा पर्छन्? यस्ता विषयमा ‘इम्पिरिकल’ अध्ययन हुन जरुरी छ। यति मानिस बाहिर गइरहेका छन्, यो देश खत्तम भयो भनेर हुँदैन। कति मानिस बाहिर गएका छन् भन्ने थाहा पाउनुपर्छ।

अहिले खासगरी कक्षा १२ वा स्नातकसम्म नेपालमै पढेर बाहिर जाने संख्या बढिरहेको छ। त्यसरी बाहिर जानेले के पढ्छन्? कस्ता कलेजमा पढ्छन्? मलाई थाहा छैन। तर, स्वयंसिद्ध तथ्य हो- उनीहरूमध्ये अधिकांशले बाहिर गएर काम नै गर्ने हो। मुख्य उद्देश्य पैसा कमाउने नै हो। यहाँनेर अर्को प्रश्न उठ्छ- त्यसरी जाने युवा यहाँ निराश भएकाले गएका हुन् वा आकांक्षा बोकेर गएका हुन्?

यी दुई फरक अवस्था हुन्। आकांक्षा बोकेर जाने मानिसको कोही न कोही ‘रोल मोडल’ हुन्छ, फलानो दाइ गए, फलानो काका गए आदि। उनीहरूलाई कुनै किसिमको बन्देज हुँदैन। निराश भएर जाने मानिसलाई त्यहाँ पनि जीवन सुखमय हुन्छ भन्नेमा मलाई दुविधा छ। यहाँको अवस्थाप्रति निराश भएर गएका हुन् भने त्यो निराशा चिर्न जरुरी छ। त्यो जिम्मेवारी सरकार र समाज दुवैको हो।

अर्को प्रश्न पनि उठ्छ- नेपाली समाजको चाहनाको सीमा कति हो त? एउटा मानिसले कमाउन सक्ने कति हो? आर्थिक कोणबाट हेर्दा नेपाली अर्थतन्त्र बाँच्न पुग्नेसम्मको रहेछ। हामीसँग फुर्मास गर्ने अर्थतन्त्र छैन। तर, परदेशको पैसाले नेपालमा बजार विस्तार गर्‍यो। फुर्मास गर्न सक्ने वर्गको विकास गर्‍यो। त्यसको असर सामाजिक जीवनमा पनि पर्‍यो।

हिजोसम्म गाउँ-समाजमा राम्रै मानिएका पेशा र पदमा बसेकाहरू पनि अब कमाउन नसक्नेमा पर्न थाले। जसले देशमै बसिरहनेहरूमा एक प्रकारको नैराश्य सिर्जना गरेको छ। यो कोणबाट हेर्दा अर्को प्रश्न उठ्छ, नेपाली समाजको स्थिरताको द्योतक के हो?

नेपाली समाज स्थिर छ भन्ने आधार के हो भने यो अस्थिर समाज नै हो। त्यसैले यहाँका मानिसको मन पनि अस्थिर छ। कहाँ गयो भने के हुन्छ भनेर खोजिरहेको देखिन्छ। यी सबै अनुभवका आधारमा गरिएको विश्लेषण हो। नेपाली समाजको मनोविज्ञान, यसको दशा र दिशा हेर्न एउटा विधा नै सिर्जना हुनुपर्छ।

नेपाली डायस्पोरा विकास हुँदै जाँदा नेपाली समाजमा यसको राजनीतिक प्रभाव पनि परेको छ। यसले सङ्कुचित लोकरिझ्याइँ (कन्जरभेटिभ पपुलिज्म) बढाइरहेको छ। विदेशमा बस्दैमा मानिसमा खुला विचार निर्माण हुन्छ भन्ने होइन रहेछ। उतै बस्ने गरी जानेहरूमा आफ्नो देश, गाउँठाउँप्रतिको कामना बढी नै हुने रहेछ। अंग्रेजीमा त्यस्तोलाई ‘लंगिङ’ भनिन्छ। बसोबास उतातिर, मन यतातिर। एक प्रकारको दुविधामा बाँचिरहेको हुँदो रहेछ।

भारतीय डायस्पोराको यही दुविधालाई व्याख्या गर्न अंग्रेजीमा एउटा वाक्यांश छ- ‘एबीसीडी (अमिरकन-बर्न कन्फ्युज्ड देसी)’। त्यो दुविधा नेपाली डायस्पोरामा पनि छ। उसलाई गाउँको चौपारी पनि चाहिएको छ, अनि काठमाडौंमा खुला फूटपाथ पनि चाहिएको छ। बाहिर जाने मान्छेको स्मृतिमा आफूले छोडेको नेपाल हुँदो रहेछ। उसले नेपाली समाजले फड्को मारेको नदेख्दो रहेछ।

यो दुविधा र सङ्कुचित विचार केही हदसम्म सम्पत्तिको मोहसँग पनि जोडिएको छ। विदेशमा बसेर उतैको नागरिकता लिए पनि यताको सम्पत्ति त्याग्न नसक्ने मोहका कारण उसको बसाइ नै अधकल्चो भएको छ। ऊ मर्दापर्दा नेपाल नै आउँछ। तर, भविष्य उता देख्छ। फेरि यताको सम्पत्ति त्याग्न सक्दैन।

गत आमनिर्वाचनमा चितवनमा रवि लामिछानेप्रति जुन आकर्षण देखियो, त्यसमा पनि यही फ्याक्टरले भूमिका खेलेको छ। त्यहाँ अधिकांशका छोराछोरी बाहिर गएका छन्। उनीहरूलाई के लाग्यो भने मेरा सन्तान पनि कुनै दिन यसैगरी नेपाल फर्किनेछन् जसरी रवि लामिछाने फर्किए। रविमा उनीहरूले त्यो फर्किएको मानिस देखे। रविको नागरिकताको सङ्कटमा उनीहरूले पनि आफ्ना छोराछोरीका समस्या देखे।

यी सबै कारणले नेपाली डायस्पोराले नेपाली समाजमा सङ्कीर्ण राष्ट्रवादलाई नै मलजल गरिरहेको छ।

(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित।)

 

from himalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *