लकडाउन फेरि एक साता बढाउन सुझाव

शारदा खत्री

काठमाडौं – कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए। कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनलगायतपछि मात्र लकडाउन खुल्न सक्ने बैठकपछि उनले बताए। उनले जोखिम कम भएका जिल्लामा छोंटो दुरीको यातायात सेवा अवस्था हेरी सञ्चालन गर्न सकिने जानकारी पनि दिए। अझै एक साता लकडाउन लम्बाएपछि अवस्था हेरेर थप निर्णय लिनुपर्ने उनको भनाइ छ। ‘कम जोखिम भएका जिल्लामा छोटो दुरीमा सवारी साधन चलाउन पनि सकिन्छ, स्थिति हेर्न अझै बाँकी छ’, उनले भने।

भारतले एकैपटक तीन साताका लागि लकडाउन घोषणा गरेको थियो भने नेपालले पटकपटक गरी दुई साता लकडाउन गरेको छ। अर्को लकडाउन तेस्रो साताका लागि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *