अहिले सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनीहरूले यसबारे केही निर्णय गर्न सकेका छैनन्। मुद्दा टुङ्गिएसँगै राष्ट्रपतिबाट माफी गराएर रिहा गराउने तयारी गरिएको हालै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले खुलाएका हुन्।
चौधरीले राष्ट्रपतिबाट आममाफी पाएमा कारागार मुक्त त हुनेछन् तर उनको राजनीतिक यात्रामा विराम लाग्नेछ। राष्ट्रपतिले माफी दिएर कारागार मुक्त गरे पनि उनीमाथि लागेको अपराध भने कायमै रहनेछ। प्रहरी नाबालकको हत्याको आरोपमा उनी विरुद्ध जन्मकैदको सजाय भएको हो। माफी पछि उनको सांसद पद समेत कायम रहनेछैन।
बहुल राष्ट्रको माग उचाले महतोले
उपप्रधानमन्त्री बने लगत्तै महतोले बहुल राज्यको माग पुन उचाल्न थालेका छन्। मधेस आन्दोलनताका नै उनले बहु राष्ट्रको माग गर्दै आए पनि पछि यो मुद्दा छाडेका थिए। देश टुक्राउने अभियानमा लागेको आरोपपछि उनी मौन भएका थिए। उनी उपप्रधानमन्त्री भए लगत्तै नेपाल बहुलताले भरिएको देश भएकाले एकल राज्य हुन नसक्ने दाबी गरे।
शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरूको स्वागतका लागि आयोजित कार्यक्रममा उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने दाबी गरे।