रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

काठमाडौँ- रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

रुसी सेनामा आबद्ध प्युठान नगरपालिका-४ काठेवरका सोनु सुनारको ज्यान गएको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए ।

रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस पुगेर सेनामा भर्ना भएका थिए ।

रुस-युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या ११ पुगेको छ । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।

रुस जानु भनेको मर्न जानु हो रुसबाट भागेर आएका नेपालीको अनुभव

कुनै गल्ती गरेर रूसबाट फर्केका होइनन् प्युठानका रमेश (परिवर्तित नाम) । तर यतिबेला उनी आफ्नो वास्तविक नाम पनि खुलाउन सक्ने अवस्थामा छैनन् ।

रमेश विदेशिने तर्खरमा थिए । त्यसअघि तीन वर्षसम्म खाडीमा व्यहोरेको भुक्तमान सम्झँदै उनलाई फेरि त्यहाँ जाने इच्छा हराउँथ्यो । रोजगारीका लागि नयाँ गन्तव्यको खोजीमा थिए, उनी ।

त्यहीबेला काठमाडौंमा उनको भेट भयो– सल्यानका गणेश नेपाली, मोहन वली र सुशान्त कुँवरसँग । उनीहरू एजेन्ट थिए । चल्तीको भाषामा दलाल । रमेशलाई तिनीहरूले प्रस्ताव गरे– ‘रूस जाऊ, सेनामा भर्ना खुलेको छ ।’

शासन चलाउनेहरूका लागि युद्ध राजनीति हो । बेच्नेका लागि युद्ध व्यापार । कमाइखाने वर्गका लागि युद्ध रोजगारी । रमेश तेस्रो वर्गमा पर्छन् । रूस र युक्रेनबीच जारी युद्धमा रूसले सेनामा भर्ना खोलेकाले जागिरको मौका नगुमाउन दलालहरूले उनलाई उत्साहित पारे ।

उनीहरूले लोभ देखाए, ‘सेनामा भर्ना भए मासिक तीनदेखि ५ लाखसम्म कमाइन्छ । रेड जोन अर्थात् हिंसाग्रस्त क्षेत्रमा गए त मासिक ७ देखि ९ लाखसम्म कमाइन्छ ।’

यतिमा लोभ देखाउने क्रम सकिएन । उनीहरूले अझै हौस्याए– सेनामा भर्ना भएको वर्षदिनमै रातो पासपोर्ट पाइन्छ । रातो पासपोर्ट पाए सीधै अमेरिकाको भिसा ।

रूखा कमान्डरहरू गाली बर्साउने, कुटपिटमै ओर्लने खालका थिए । चिया र पकौडाको भरमा दिनभर तालिम गर्नुपर्ने ।

रमेशले अनलाइनखबरसँग सुनाए, ‘एक वर्ष रूस बसेपछि सीधै अमेरिका जान पाइन्छ भनेर लोभ देखाएपछि जसलाई पनि आश जाग्छ नि, होइन र ?’

दलालको प्रलोभनमा परिसकेका उनले यस्तो ‘सुवर्ण मौका’ बाट आफ्नो सालोलाई पनि वञ्चित गर्न चाहेनन् । साला–भेनासँगै रोल्पाका अरू तीन गरेर पाँच जना रूसी सेनामा जान तयार भए । प्रति व्यक्ति पाँच–पाँच लाख गरी एजेन्टलाई २५ लाख बुझाए । यो कुरो थियो, यसै वर्ष असारको ।

वर्किङ भिसा वा विद्यार्थी भिसा छैन भने नेपालबाट रूस जान सहज हुँदैन । तर जहाँ इच्छा त्यहाँ एजेन्ट । नेपाल जस्ता सक्रिय श्रमशक्ति निर्यात गर्ने देशहरूका एजेन्टहरूको ‘प्रतिभा’ नै रमेश जस्ताहरूलाई जस्तोसुकै जोखिमग्रस्त इलाकासम्म पनि पठाउन सक्नुमा निहित छ । यहाँनेर आइपुग्छ– भिजिट भिसाको सेटिङ । किनभने एजेन्टहरूले नेपालदेखि रूससम्म नै सेटिङ मिलाएका हुन्छन् ।

खासमा यसो गर्नु अवैधानिक हो, जुन कुरा एजेन्टहरूले पहुँचदार ठाउँहरूलाई प्रभावित पारेर फत्ते गर्छन् ।

रमेश र साथीहरूको भिजिट भिसा लाग्यो । उनीहरू दुबई पुगे । ‘दलालहरूले यसरी जालो विछ्याएका हुँदा रहेछन् कि ठाउँ–ठाउँमा एजेन्ट नै एजेन्ट’ रमेशले भने, ‘काठमाडौंबाट उड्दा नि एजेन्ट, दुबईमा एयरपोर्टमै हामीलाई लिन आउने पनि एजेन्ट । दुबई पुग्दा त हामी पाँच जनाबाट २८ जना भइसकेका थियौं ।’

केही दिन होटलमा राखेर उनीहरूलाई सीधै मस्को उडाइयो । त्यहाँ पनि नेपाली एजेन्ट । त्यो पनि सल्यानकै । तिनको नाम थियो, राज वली ।

राज वली नै ती व्यक्ति हुन्, जसले एयरपोर्टबाट मस्कोस्थित रूसी सेनाको क्याम्प बाहिर लगेर २८ जनालाई छोडिदिए । ‘क्याम्प बाहिर छोडिएपछि, भित्र गएर सेनामा भर्ना हुन आएको भनेर भन्न लगाए’ रमेशले भने, ‘एजेन्टले जे–जे सिकाएको थियो, क्याम्प भित्र गएर त्यही–त्यही भन्यौं ।’ नेपालबाट पाँच जना हिंडेका उनीहरू रूसी सेनाको भित्री क्याम्पमा पुग्दा त नेपाली मात्रै ५२ जना पुगे ।

सैनिकमा जाने भनेपछि न्यूनतम शारीरिक क्षमता जाँच, अरू सबैखाले अवस्थाको रेखदेख गरिन्छ । तर रूसी सेनाले उनीहरूलाई खासै जाँच लिएन । उनीहरूलाई धेरैभन्दा धेरै मान्छे चाहिएको रहेछ भन्ने कुरा नेपालबाट गएकाले बुझ्न थाले ।

अझ भित्रपट्टिको घेरामा पुग्दै गएपछि रहस्यका पर्दा झन् खुल्दै जान थाले । अर्थात् उनीहरू ५ जना, २८ जना वा ५२ जना मात्रै थिएनन् । ‘१३ सय जनाजति तालिममा थिए, तीमध्ये एक हजार जति त नेपाली नै थिए होलान्’ रमेशले सुनाए, ‘तिनलाई पनि दलालले लोभ देखाएर त्यहाँ पुर्याएका रहेछन् ।’

अब दुःख सुरु भयो ।

रूखा कमान्डरहरू गाली बर्साउने, कुटपिटमै ओर्लने खालका थिए । चिया र पकौडाको भरमा दिनभर तालिम गर्नुपर्ने । कुनै कठोर कवाज होइन, तर फरक हावापानीमा सन्तुलित आहार बेगर यो सबै भइरहेको थियो । ‘अरू कुरो छोडिदिऊँ, बिरामी हुँदा उपचार समेत गराउँदैनथे’, रमेशले दिग्दार हुँदै सुनाए ।

करिब १५ दिन जति तालिम गराए । तालिम खास केही थिएन, दौडिन, जमिनमा घस्रिन बाहेक धेरै कुरा सिकाएनन् । डमी बन्दुकमा तालिम सिकाउने बाहेक अरू धेरै भएन ।

रमेशले सुनाए अनुसार १५ दिनको तालिमपछि एक वर्षको सम्झौतापत्रमा सही गर्न लगाइन्छ । त्यसपछि सिधै बन्दुक समाएर युद्धका मैदानमा पठाइन्छ । ‘सम्झौतापत्र रूसी भाषामा भएकाले के लेखिएको हुन्छ भन्ने हामीले बुझेका थिएनौं, एकपटक हस्ताक्षर गरेपछि एक वर्षसम्म सेनाबाट छोड्न पाइँदैन रहेछ’, उनले भने ।

रूसको रणनीति के रहेछ भने युक्रेनसँग जारी युद्धमा आफ्नो सेनालाई सुरक्षित राख्ने र बाहिर मुलुकबाट मान्छेहरू ल्याएर धमाधम सेनामा भर्ना दिने । र, उनीहरूलाई नै युद्धको फ्रन्ट लाइनमा पठाउने ।

त्यसरी राम्रैसँग बन्दुक पनि समाउन नपाउँदै युद्ध क्षेत्रमा पठाइनु भनेको जानाजान मृत्यु अँगाल्नु जस्तै भएको उनले सुनाए । ‘बन्दुक पनि समाउन नपाउँदै युद्धमा पठाइने रहेछ’ उनले भने, ‘युद्धमा पुग्नु भनेको मृत्युको मुखमा पुग्नु हो । त्यहाँ पुगेपछि बाँच्ने सम्भावना निकै न्यून हुन्छ ।’ क्याम्पमा पुग्नुअघि दलालले जुन लोभ देखाएका थिए, त्यस्तो केही थिएन ।

रमेशले भने अनुसार रूसले तालिम केन्द्रदेखि १२–१३ घण्टा गाडीमा लिएर युक्रेनको भू–भागमा लड्न पठाउँछ । रूस र युक्रेनको युद्ध भइरहेको उक्त क्षेत्रमा जताततै हिउँ नै हिउँ छ । उनले भने, ‘युद्धले भन्दा हिउँले कठ्याङ्ग्रिएर ज्यानै जाने जोखिम हुन्छ ।’

त्यसमाथि युद्ध सोचे जस्तो हुँदैन । ठूला–ठूला आधुनिक हातहतियारहरू प्रयोग गरिएका छन् । ‘ड्रोन जस्ता आधुनिक हतियारहरू प्रयोग भएका हुन्छन् कि सानो शहर क्षणभरमै ध्वस्त बनाइदिन सक्छ’ उनले भने, ‘त्यसमा पनि राम्रैसँग तालिममा धेरै कुरा सिकाएको हुँदैन । युद्धको मैदानमा यति जोखिम हुन्छ कि त्यहाँ पुगेपछि बाँचेर फर्किने भन्ने एकदमै कम सम्भावना हुन्छ ।’

रमेश तालिम क्याम्पमै रहँदा सात जना नेपालीको एउटा समूह थियो । उनीहरूलाई तालिम पछि उसैगरी युद्ध मैदानमा पठाइयो । तर दुई महिना बित्दा पनि उनीहरू फर्केनन् । ‘रेड जोनमा उनीहरूलाई पठाइएको थियो’ उनले भने, ‘उनीहरू कहाँ गए, के भयो भन्ने खबर नै आएन ।’ उनका अनुसार रूसले युद्ध मैदानमा युद्धस्थलबाट बचेकाहरूलाई पाँचदेखि १० दिनभित्र क्याम्पमा लिएर फर्कन्छ । त्यसरी युद्धमा गएकाहरू फर्केनन् भने मर्यो भनेर सम्झँदा हुन्छ । त्यहाँ उनले हजारभन्दा माथि नेपाली युद्धको मैदानमा पुगेर नफर्किएको थाहा पाए ।

रूसी सरकारले भने त्यसरी मृत्यु भएकाहरूको घटना नै बाहिर ल्याउँदैन । ‘थुप्रै नेपालीहरू युद्धमा मरिरहेका छन्’ उनले भने, ‘कैयौं बेपत्ता छन्, कतिलाई युक्रेनले बन्धक बनाएर राखेको छ । उनीहरू सबैको घटना गुपचुप राखिएको छ ।’

उनी युद्धको मैदान जान त पाएनन्, तर यी सबै घटनाहरू नजिकबाट नियाल्न पाए । युद्ध क्षेत्रमा फोन नलाग्ने भएकाले रूसी सेनामा भर्ना भएकाहरूको एउटा ह्वाट्स एप ग्रुप बनाइएको हुन्छ । त्यहाँ रूसी सेनामा भर्ना भएकाहरू थिए, जसमा थुप्रै नेपाली पनि थिए । ‘युद्ध क्षेत्रमा भएका नेपालीहरू रुँदै, युद्धमा नआउन भन्दै म्यासेज, भिडियोहरू पठाइरहेका हुन्थे’ उनले भने, ‘कति घाइते भएका, खुट्टा चुँडिएकाहरूले फोटोहरू पठाउँदै रोई–कराई गरिरहेका हुन्थे ।’ रमेश आफू जोगिने प्रयासबारे सोच्न थाले ।

दलालले भने जस्तो रूसी सेनामा भर्ना भएर आफूले रोजे जस्तो सुरक्षित क्षेत्रमा बस्न पाइँदैन । बाहिरबाट सेनामा भर्ना भएकाहरूलाई सीधै युद्धग्रस्त क्षेत्रमा पठाउँछ । एकपटक युद्ध क्षेत्रमा पुगेको मान्छे बाँचेर फर्किने लगभग लगभग मुश्किल नै हुन्छ ।

तालिमपश्चात् उनी रूसी सेनाको क्याम्पमै राखिएका थिए । क्याम्पबाट सीधै युद्ध मैदानमा सेनाहरू पठाइरहेका हुन्छन् । युद्धमा जानुअघि चाहिं सेनामा भर्ना भएकाहरूलाई कन्ट्रयाक पेपरमा हस्ताक्षर गर्न लगाइन्छ । त्यसपछि मात्र युद्ध क्षेत्रमा पठाइन्छ । एकचोटि हस्ताक्षर गरेपछि युद्धमा नगई सुखै हुँदैन । ‘अघिल्लो दिन मात्र युद्धका लागि तयार हुन भनेर फोनमा म्यासेज आयो’ उनले भने, ‘युद्धमा गए जीवन फर्किंदैन भन्ने देखिसकेको थियो । जसरी हुन्छ भाग्ने उपाय खोजें ।’

कन्ट्रयाक्ट पेपरमा हस्ताक्षर गर्नुअघि उनले एउटा उपाय निकाले । घरमा परिवार बिरामी भएको र आफू जसरी पनि जानुपर्ने भन्दै बहाना बनाए ।

सुरुमा रूसी फौजका हाकिमहरूले विश्वास नै गरेनन् । भाग्ने बहाना भन्ठानेर उनीहरू पन्छिए । तर रमेशले जसरी भए पनि मनाएरै छाडे ।

‘केही गर्दा पनि नभएपछि घरमा सिकिस्त बिरामीको निहुँ पारेर बिन्ती बिसाएँ । त्यसपछि मात्रै उनीहरू फर्कन दिन तयार भए’, उनले भने ।

रमेश बाहेक अरू ४ जनाले पनि यस्तै उस्तै कारण देखाएर क्याम्पबाट फुत्किन सके । त्यसरी फुत्किनेमा उनका साला पनि थिए ।

रमेश नेपाल फर्किसक्दा असोज महिना लागेको थियो । उनी यता आएसँगै रूसमा नेपाली मारिन थालेका खबर पनि बाहिर आउन थाले । रोजगारीको चाहनाले दलाललाई पैसा खुवाउँदा थुप्रै पैसा गुमे पनि कालको मुखबाट जोगिएर आउन सकेकोमा धन्य छन्, उनी । ‘अहिले सम्झँदा पनि मन नै सिरिङ्ग हुन्छ’ उनी भन्छन्, ‘रूसी सेनामा गएर फर्किने नसोचे पनि हुन्छ । पैसा कमाउनु त परको कुरा जिउँदो फर्कन पाउनु नै ठूलो कुरा हो ।’

‘भनिए जस्तो छैन रूसी सेना’

रमेश हाकाहाकी भन्छन्, यो बेला रूस जानु भनेको मर्न जानु हो । ‘जुन लोभ देखाएर हामीलाई त्यहाँ पुर्याइएको थियो, त्यस्तो केही पनि छैन’ उनले भने, ‘उल्टो त्यहाँ ज्यानको पासो छ ।’

दलालले भने जस्तो रूसी सेनामा भर्ना भएर आफूले रोजे जस्तो सुरक्षित क्षेत्रमा बस्न पाइँदैन । बाहिरबाट सेनामा भर्ना भएकाहरूलाई सीधै युद्धग्रस्त क्षेत्रमा पठाउँछ । एकपटक युद्ध क्षेत्रमा पुगेको मान्छे बाँचेर फर्किने लगभग लगभग मुश्किल नै हुन्छ ।

एजेन्टले पठाउँदा राम्रो कमाइ हुने लोभ देखाएको हुन्छन् । तर दलालले लोभ देखाए जस्तो रूसी सेनामा पैसा पनि छैन । ‘तीनदेखि पाँच लाख मज्जाले कमाइ हुन्छ भन्थे, तर त्यहाँ पुगेपछि ९२ हजार मात्र तलब दिइँदो रहेछ’ उनले भने, ‘त्यो पनि बाँचेर फर्कियो भने त ठिकै छ, मरिएछ भने त्यो पैसा पनि रूस सरकारले नै लैजाँदो रहेछ ।’

अर्काे दलालले वर्षदिनमै रातो पासपोर्ट पाइने र सीधै अमेरिका जान सकिने भनेर लोभ देखाएका हुन्छन् । तर त्यो कुरा सत्य नभएको उनले बताए । ‘रातो पासपोर्ट दिंदैन’ उनले भने, ‘रूसबाट भिसा लगाएर सीधै अमेरिका जान सकिने बताएको थियो तर पछि अमेरिकाले रूसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाएको रहेछ ।’

यता एजेन्टले यस्ता लोभ देखाएर अवैध रूपमा रूसी सेनामा लगिरहेका छन् । ५ देखि १२ लाखसम्म तिरेर युवाहरू रूसी सेनामा जान खोजिरहेका छन् । तर एजेन्टको त्यस्तो झुटो फन्दामा परेर रूसी सेनामा नजान आग्रह गर्छन् उनी । ‘पैसा त जहाँ जे गरी पनि कमाउन सकिएला’ उनले भने, ‘जीवन भन्दा ठूलो अरू केही छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *