रुसी सेनामा नेपालीको अवैध भर्ती : तत्काल फिर्ता गर्न रुसलाई कूटनीतिक ‘नोट’

काठमाडौँ — रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई कूटनीतिक नोट पठाएको छ । नेपाल सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गर्दै आइरहेको पनि स्मरण गराएको हो ।

रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको औपचारिक जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुससमक्ष नेपाली युवालाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेका युवालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो । ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ,’ परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले गत साउन १६ मा नै विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रबाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको स्पष्ट गरेको थियो । परराष्ट्रले मृतकका शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई अनुरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले रुसी सेनामा भर्ती भएका नेपालीको विवरण रुस सरकारसँग लिन प्रधानमन्त्रीबाट परराष्ट्रलाई निर्देशन दिइएको बताए ।

रुसले गत चैतदेखि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसी र नेपाली मानव तस्करहरूबीच सम्बन्ध स्थापित भएपछि गत जेठबाट भर्ती प्रक्रियाले तीव्रता लिएको बुझिएको छ । नेपालले त्रिभुवन विमानस्थल हुँदै रुस जान रोक लगाएपछि विकल्पमा भारत हुँदै रुस जानका लागि २८ जना नेपाली युवा दिल्लीस्थित नेपाली दूतावासमा नो अब्जेक्सन लेटर (एनओसी) लिन पुगेका थिए ।

अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय नेपाली रुस पुगेका थिए । त्यसबाहेक यूएईबाट पनि नेपालीहरू रुस गएका छन् । कात्तिक २७ मा मारिएका इलामका गंगाराज मोक्तान पनि यूएईबाटै गएका थिए । उनी चार वर्षदेखि यूएईमा सुरक्षा गार्ड थिए । रुसी सेनामा काम गरेको एक वर्षमा नागरिकता पाइने र महिनाको तीन लाख रुपैयाँसम्म तलब पाउने लोभमा नेपाली युवा मानव तस्करको जालोमा फसेका हुन् ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) का पूर्वव्यवस्थापक डा. मीना पौडेलले ‘युद्धका लागि हुने तस्करीको सञ्जाल नेपालको गाउँसम्म फैलिसकेको’ टिप्पणी गरिन् । ‘रुस प्रकरणले नेपालमा मानव तस्करीको दायरा झन् बढ्दै गएको देखाएको छ । युद्धमा सेना वा सेनाका लागि सहयोगी बनाएर लैजान मानव तस्करी हुन्छ । यस्तो दृश्य इराक, अफगानिस्तान, अफ्रिका, यमन र श्रीलंकामा देखिएको थियो,’ आप्रवासन विद पौडेलले कान्तिपुरसँग भनिन्, ‘नेपाली तस्करले रसियन तस्करसँग मिलेर नेपाली नागरिकलाई रुसी सेनामा भर्तीका लागि पुर्‍याएको देखियो ।’ उनका अनुसार हालै प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले रुसले आफ्नो सेनामा भर्ती गर्न मध्य पूर्वी एसियाका नागरिकलाई पहिलो प्राथमिकता दिएको उल्लेख गरेको छ । मध्य पूर्वी एसियाका नागरिकका लागि पनि पछिल्लो समय रुस प्रमुख गन्तव्य बनिरहेको छ । त्यसपछि मात्रै बर्मा र नेपालजस्ता देशका नागरिकलाई दिइएको छ । ती देशका नागरिकलाई सेनाको सहयोगी भनिए पनि युद्धको अग्रपंक्तिमा नै खटाइने गरेको पाइएको छ ।

सप्तरीका सन्तोष यादवले आफू रुसी सेना छोडेर नेपाल आउन चाहेको कान्तिपुरलाई बताए । ‘हामीलाई रुसी सेनाको सहयोगीका रूपमा काम गर्ने भनिएको थियो । तर केही हप्ता तालिम दिएर ‘रेड जोन’ को फ्रन्ट लाइनमा युक्रेन पठायो,’ यादवले भने, ‘हामी सम्झौता खारेज गर्न चाहन्छौं । तर त्यसका लागि रुसी सेनालाई शुल्क तिर्नुपर्नेछ भनिएको छ । अहिले हामी निकै अप्ठ्यारो परिस्थितिमा छौं ।’

पूर्वसचिव पूर्णचन्द्र भट्टराईले रुसले अन्तर्राष्ट्रिय कानुनबाहिर गएर सशस्त्र सेनामा नेपालीलाई भर्ती गरेको बताउँछन् । ‘अर्काको देशका नागरिकलाई साधारण काममा लगाउन पनि त्यो देशको सहमति लिनुपर्छ । त्यसैका लागि श्रम सम्झौता वा समझदारी गरिने हो । झन् सशस्त्र सेनामा नै भर्ती गर्ने विषय निकै गम्भीर हो,’ भट्टराईले भने, ‘बिनासम्झौता वा समझदारी जोखिमपूर्ण कार्यमा अर्काको देशको नागरिकलाई लगाउन पाइँदैन ।’ उनले रुसी सेनामा नेपाली भर्ती हुने विषय सरकारको कूटनीति असफलतासँग जोडिएको बताए । ‘रुसी सेनामा नेपालीको भर्ना हुँदै छ भन्ने थाहा पाउनेबित्तिकै सरकार बोल्नुपर्थ्यो,’ उनले भने ।

भिजिट र विद्यार्थी भिसामा पुगेका नेपाली धमाधम रुसी सेनामा भर्ती हुन थालेपछि मस्कोस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको थियो । तर, त्यतिबेला दूतावासले प्रस्ट रूपमा रुसी सेनामा भर्ती हुन नपाइने बताएको थिएन । परराष्ट्र मन्त्रालयले पनि रुसी सेनामा भर्ती भएको विषय अध्ययन गर्न एक समिति बनाएको थियो । तर समितिको रिपोर्टलाई राजनीतिक र प्रशासनिक नेतृत्वले गम्भीर रूपमा लिएनन् । ‘त्यतिखेरै परराष्ट्रमन्त्रीले गम्भीर ढंगले रुससँग कुरा गर्नुपर्दथ्यो । कूटनीतिक बाहिर गएर नेपालीलाई सेनामा भर्ती नगर्नु भन्न सक्नुपर्दथ्यो,’ एक कूटनीतिक अधिकारीले कान्तिपुरलाई भने, ‘गलत भइरहेको छ है भनेर हामीले रुसलाई महसुस गराउनुपर्थ्यो ।’

पूर्वपरराष्ट्र सचिव अर्जुनबहादुर थापाले नेपाल १९४९ को जेनेभा कन्भेन्सनको पक्ष राष्ट्र भएकाले कुनै पनि मुलुकले नेपालीलाई लगेर युद्धमा प्रयोग गर्न नमिल्ने बताए । ‘नेपालीलाई अनेक गिरोहले उता पुर्‍याएको देखिन्छ,’ उनले भने, ‘रुस वा अन्य मुलुकको सवालमा भने यताबाट अर्कै प्रयोजनका लागि गएर सेनामा भर्ती गराइएको छ । यो मिसनरीजस्तो भयो । सरकारले रुसी राजदूतलाई बोलाएर नेपालीलाई रुसी सेनामा भर्ना नगराऊ भन्नुपर्छ ।’ थापाले रुस मात्र नभई युक्रेनलगायत अन्य द्वन्द्वग्रस्त मुलुकमा पनि नेपालीलाई सैनिकका रूपमा लड्न पठाउन नहुने बताए । ‘अहिले नै कुनै व्यक्ति मस्को पढ्न जान्छु भन्दा रोक्नु हुन्न । तर त्यहाँ नेपालीलाई रुसले सेनामा भर्ना गर्न हुन्न,’ उनले भने ।

अवकाश प्राप्त उपरथी पूर्ण सिलवालले युद्धरत देशले आफ्ना नागरिक लड्न नचाहेपछि आवश्यक जनशक्ति उपलब्ध हुने देशबाट लैजाने गरेको बताए । ‘अहिले रुसको सवालमा त्यही देखियो । रुसमा नेपालीहरू सिधै पैसाका लागि गएका हुन् । यो नेपाल सरकारले रोक्न सक्नुपर्छ । सरकारले युद्धग्रत मुलुकहरूमा नेपालीहरू नजाने स्पष्ट नीति ल्याउनुपर्छ,’ उनले भने । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले संसारको जुनसुकै कुनामा बसे पनि नेपाली नागरिकले नेपालको कानुनलाई पालना गर्नुपर्ने बताउँछन् ।

‘नेपालको नागरिक संसारको जुनसुकै कुनामा बसे पनि नेपालको कानुनको पालना गर्नुपर्छ । हरेक देशमा सशस्त्र सेनामा भर्ना नहुनु भनेर दूतावासमार्फत पठाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसलाई पालना गर्नु नागरिकको पनि कर्तव्य हो ।’ नेपालले भारत र बेलायत सरकारको बीचमा सन् १९४७ नोभेम्बरमा भएको त्रिपक्षीय सन्धिबाहेक अन्य देशसँग नेपालीलाई सेनामा भर्ती गर्न नपाइने नीति लिएको छ । जुन त्रिपक्षीय सन्धिमा गोर्खा ब्रिगेडका ६ बटालियन भारत र ४ बटालियन बेलायती सेनाअन्तर्गत रहने उल्लेख छ । ‘भारत वा बेलायत जान चाहनेहरूलाई आफूखुसी छनोट गर्न पाउने गरी उपयोग गरिनेछ,’ सन्धिमा उल्लेख छ ।

मृत्यु हुने ६ जना

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई मारिएका ६ जना नेपालीको विवरण पनि सोमबार सार्वजनिक गरेको छ । यसअघि चार जनाको मृत्युको विवरण मात्रै परराष्ट्रले दिएको थियो ।

गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका र इलाम–५, इलामका गंगाराज मोक्तानको मृत्युको पुष्टि यसअघि नै गरिसकेको परराष्ट्र मन्त्रालयले सोमबार जारी विज्ञप्तिमार्फत वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राईको पनि मृत्यु सूचीमा नाम उल्लेख गरेको छ ।

तर उनीहरूको कहाँ, कसरी र कहिले मृत्यु भएको थियो भन्ने विवरण भने अझै सार्वजनिक गरिएको छैन । रुस–युक्रेन युद्धमा घाइते भएका कम्तीमा ८ जना नेपाली रुसी अस्पतालमा उपचाररत रहेको विवरणलाई पनि परराष्ट्रले सार्वजनिक गरेको छैन । रुसी सेनामा कार्यरत नेपालीका अनुसार कम्तीमा ५ सय जना नेपाली रुसी सेनामा भर्ती भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *