राष्ट्रिय सभामा ओली उम्मेदवार बादलको हार: म स्वतन्त्र बस्छु, एमालेमा फर्किने सम्भावना छैन : डा. देवकोटा

काठमाडौं : बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् ।

बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्।

सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन्।

चुनाव चिह्न कलम भएका देवकोटाले ५०८८ मतभार पाए भने सूर्य चिह्नमा लडेका थापाले चार हजार १४ मतभार पाएका छन्। यता नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त  गरेका छन् ।

प्रदेशसभा सदस्यतर्फ ५८ जनाले देवकोटालाई, ४५ जनाले थापालाई र दुई जनाले तामाङलाई मतदान गरेका छन् । प्रदेशसभा सदस्य एक जनाको मत बराबर ४८ र स्थानीय तहको प्रमुख र उपप्रमुखको मतमध्ये १८÷१८ मतभार रहेको छ । स्थानीय तहतर्फ एक सय २८ जनाले देवकोटालाई, एक सय तीन जनाले थापालाई र दुई जनाले तामाङलाई मतदान गरेको आयोगको कार्यालयले जनाएको छ ।

विजयी देवकोटाले आफूलाई नेकपा एमालेबाट पनि मत प्राप्त भएको र अन्य दलहरुको पनि सहयोग रहेकाले स्वतन्त्र भएर भूमिका निर्वाह गर्ने बताए ।

मतभारका हिसाबले एमालेको प्रदेश र स्थानीय तहमा गरी कुल ५०३४ मतभार छ । कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग कुल ४४ सय ८२ मतभार रहेको छ । माधव नेपाल पक्षबाट केही मत देवकोटालाई गएकाले उनको सहज जित भएको नेकपा एमाले ओली पक्षको दाबी छ ।

 

म स्वतन्त्र बस्छु, एमालेमा फर्किने सम्भावना छैन

स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा

यो जितलाई कसरी लिनु भएको छ ?

जसरी सबैको प्रयासबाट संविधान जारी भयो । त्यसैगरी संघीयता लागू भयो । तर यसका लागि ‘जनयुद्ध’ भयो । जनआन्दोलन भयो र मधेस आन्दोलन भयो । धेरै संघर्ष भयो । तर यतिका धेरै बलिदानले आएको संघीयता राम्रोसँग कार्यान्वयन भइरहेको थिएन । संविधानमाथि प्रहार भएको छ । संघीयता कार्यान्वयनमा ‘कन्ज्युस्याईं’ भइरहेको छ । यसविरुद्ध जसरी दलहरू एक भए । नेताहरु एक भए । संघीयता पक्षधर र संविधान मान्‍ने शक्ति एक भए । त्यसकै निम्ति मेरो उम्मेद्वारी थियो । कांग्रेस, माओवादी, जसपा र एमालेको पनि मतले पनि जित्‍न सफल भएको छु । यो जित मेरो मात्रै होइन, संघीयता चाहनेको, संघीयताको पक्षमा लागेका सरोकारवाला, नागरिक समाज, पत्रकार सबैको जित हो भनेर बुझेको छु ।

राष्ट्रियसभामा तपाईंको भूमिका कस्तो हुन्छ ?

राष्ट्रिय सभामा मेरो प्रमुख मुद्दा भनेकै स्थानीय तहका जनप्रतिनिधिको एजेन्डा उठाउने हो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन ‘कन्जुस्याईं’ गरेको छ । त्यसका विरुद्ध बोल्छु । प्रदेश र स्थानीय तहलाई अधिकार दिलाउन अधिकतम प्रयत्‍न गर्छु । त्यसविरुद्ध आवाज उठाउँछु । मैले मेरा लागि होइन, सबै राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिको आवाज उठाउने हो । त्यसैका लागि मलाई जिताइएको हो ।

अब एमालेमा फर्किनुहुन्छ कि स्वतन्त्र नै बस्‍नुहुन्छ ?

म कांग्रेस, माओवादी, जसपा र एमालेकै पनि साझा प्रतिनिधि हो । एमालेको भोट नपाएको भए मैले जित्‍न गाह्रो पर्थ्यो । कांग्रेस र माओवादीले साझा उम्मेदवार बनाउनु भयो । त्यसैले म कुनै एउटा पार्टीमा रहेर सबैको साझा आवाज उठाउन सक्दिनँ । त्यसकारण म एमालेमा फर्किन सक्दिनँ । एमालेमा फर्किने कुनै सम्भावना छैन । स्वतन्त्र नै बस्छु । मेरो आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्छु ।

अन्तिममा के भन्‍नु हुन्छ ?

धेरैको बधाई र शुभकामना आइरहेको छ । अब यसलाई कायम राखेर सबैको साझा मुद्दाको सम्बोधनका लागि संघर्ष गर्नुपर्ने चुनौती हो । जसरी सबै दलले मलाई विश्‍वास गरेर मलाई भोट दिएर जिताउनु भएको छ । यो ठूलो चुनौती र अवसर हो । संविधानमाथि प्रहार हुँदा पनि मलाई भोट दिइएको हो । अब संविधान र संघीयता दुवै बचाउनुछ । संघीयतालाई थप विकसित मोडलमा लैजानुछ । संघीयता कार्यान्वयनमा सबै इमान्दार बन्‍नुपर्छ । सबैले संविधानअनुसार काम गर्नुपर्छ । त्यसका लागि आवाज उठाउनुपर्छ । म इमान्दार भएर जनप्रतिनिधिको आवाज उठाउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *