काठमाडौँ- राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक हुबहु पारित गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले हुबहु पारित गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
राष्ट्रिय सभा अन्तर्गतका संसदीय समिति सभापतिको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार समिति सभापतिरूको निर्वाचन मिति तोकेका हुन् ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार समिति सभापतिहरूको निर्वाचन मिति तय भएको हो । ‘राष्ट्रिय सभा अन्तर्गतका चार समितिको सभापति निर्वाचन मिति तय भएको छ,’ उनले भने, ‘चारमध्ये तीन समिति सभापति गत फागुनदेखि र एउटा गत साउन १६ गतेदेखि रिक्त भएका थिए ।’ समिति सभापतिहरूको पद रिक्त हुँदा समितिका ज्येष्ठ सदस्यहरूले बैठक सञ्चालन गरिरहेका छन् ।
राष्ट्रिय सभाका समितिहरूका सभापति चार मुख्य राजनीतिक दलहरूले भागबन्डा गर्ने समझदारी बनेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार विगतमा जुन दलले जुन समितिको सभापति लिएको थियो, त्यो समिति सभापति सोही दललाई दिइने भएको । जसअनुसार कांग्रेसले दिगो विकास समिति सभापति लिने र प्रकाश पन्थलाई उक्त जिम्मेवारी दिने भएको छ ।
माओवादी केन्द्रले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा, एमालेले राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी थापा रावललाई र विधायन व्यवस्थापन समिति सभापति एकीकृत समाजवादीले लिएर पार्टी महासचिवसमेत रहेका वेदुराम भुसालले लिने भएका छन् । विधायन व्यवस्थापन समितिमा यसअघि एमालेको तर्फबाट सभापति थिए ।