काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी परेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार मंगलबार साँझ यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको छ । तर यसबारे प्रहरीले थप केही खुलाएको छैन ।
प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाण्डौ र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाडौँमा ल्याइ एक होटेलमा राखेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ-९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । ‘रातको अं. २३:५५ बजे र रातको अं. ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ’ जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । जाहेरीउपर जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले संयुक्तरूपमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सन्दीप यतिबेला विदेशमा छन् । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।