राष्ट्रसंघमा नेपाल बढाउँदै छ सक्रियता

 

एसिया प्रशान्त क्षेत्रबाट सबैभन्दा धेरै मत ल्याएर नेपाल यस वर्ष संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिल (आर्थिक तथा सामाजिक परिषद्)मा सदस्य निर्वाचित भएको छ । इकोनोमिक एन्ड सोसल काउन्सिलमा जम्मा ५४ सदस्य रहने प्रावधान छ । काउन्सिलमा नेपालको कार्यकाल आगामी वर्षबाट सुरु हुँदै छ ।

महासभाको गोप्य मतदानबाट नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन् । यो क्षेत्रबाट नेपालले एक सय ४५ मत पाएको थियो, जुन सबैभन्दा धेरै हो । नेपाल यसअघि दुईपटक (सन् २००३ देखि ५ सम्म र २०१३ देखि २०१५) काउन्सिलमा सदस्य निर्वाचित भएको थियो ।

राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघमा नेपालको विश्वसनीय र परिपक्व छवि बन्दै गएको र साधनस्रोतको सीमितता माझ पछिल्लो निर्वाचन जितिएको बताए । ‘हामी साधनस्रोतको सीमितता माझ राम्रो मत ल्याएर जित्न सफल भयौँ । हामी जित्नुको कारण संयुक्त राष्ट्रसंघमा नेपालको परिपक्व छवि हो,’ राईले भने, ‘यो निर्वाचनमा नेपालले निकै मिहिनेत गरेको छ ।’

इकोनोमिक एन्ड सोसल काउन्सिलमा जित निकालेको नेपालले आगामी वर्षदेखि १३ वर्षपछिका लागि उम्मेदवारी घोषणा गरेको छ । हाल राष्ट्रसंघका १० निकायमा नेपाल सामेल छ, भविष्यमा तीनवटा निर्वाचनका लागि नेपाल उम्मेदवार छ । समग्रमा पछिल्लो डेढ दशकयता संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा नेपाल सक्रिय सहभागी छ ।

सन् २०३७ देखि २०३८ सम्मको अवधिका लागि नेपालले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको छ । अबको १३ वर्षपछि सन् २०३६ जुनमा निर्वाचित हुँदै छ । यसअघि नेपाल दुईपटक (सन् १९६९–१९७० र १९८८–१९८९) सुरक्षा परिषद्को अस्थायी सदस्य थियो ।

नेपाल सन् २०२६–२०२८ का लागि युएनडिपी, युएनएफपिए, युएनओपिएसको कार्यकारी बोर्डको सदस्यको उम्मेदवार हो । महासभाको ८१औँ सत्रका लागि पहिलो समितिको अध्यक्षमा पनि नेपालले उम्मेदवारी दिएको छ । सन् २०२५ जुनमा निर्वाचन हुँदै छ ।

हाल नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य छ । २०२१ मा निर्वाचित भएको नेपालको कार्यकाल यो वर्षसम्म छ । यसअघि सन् २०१८ देखि २०२० सम्म पनि परिषद्को सदस्य थियो । सन् २०२१ देखि २०२४ सम्मका लागि नेपाल सेडाको सदस्य छ । स्वतन्त्र विज्ञका रूपमा यसमा बन्दना राणा सदस्य छिन् ।

नेपाल २०२० देखि यो वर्षसम्म नाकोटिक ड्रग्ससम्बन्धी समिति (सिएनडी)मा पनि सहभागी छ । कम विकसित मुलुकहरू तथा अति कम विकसित मुलुकहरूको ब्युरो सदस्यका रूपमा नेपाल छ । यसैगरी नेपाल संयुक्त राष्ट्र महासभा (२०२२–२०२३)को ७७औँ सत्रको उपाध्यक्ष छ ।

नेपाल भूपरिवेष्टित विकासशील देशहरूका लागि अन्तर्राष्ट्रिय थिंकट्यांकको अध्यक्ष छ । भूपरिवेष्टित विकासशील देशहरूमा तेस्रो संयुक्त राष्ट्र सम्मेलनको अन्तरसरकारी तयारी समितिको ब्युरोमा नेपाल छ ।

शान्ति स्थापक सेनामा दोस्रो ठूलो सुरक्षा फौज सहभागी भएको नेपाल पिस बिल्डिङ कमिसनको सदस्य छ । स्थायी प्रतिनिधि राईको भनाइमा यो नेपालका लागि महत्वपूर्ण स्थान हो । यसअघि पनि सदस्य रहेको नेपाल उक्त कमिसनमा आगामी वर्ष (२०२४)सम्म सदस्य रहनेछ । नेपाली स्थायी नियोगका अनुसार नेपालबाट सुरेशराज शर्मा २०२३–२०२५ को कार्यकालका लागि स्वतन्त्र लेखा सल्लाहकार समिति (आइएएसी)को सदस्य छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमध्ये नेपाली सेनाका एकजना उपरथी फोर्स कमान्डर र एकजना सहायकरथी सहायक कमान्डरका रूपमा कार्यरत छन् । नेपाली सेनाका अनुसार राष्ट्रसंघीय १३ मिसनमा नेपालका ६ हजार ७३ जना सुरक्षाकर्मी कार्यरत छन् ।

नेपाल कहाँ ? 
नेपाल सामाजिक विकास आयोगको सदस्य (२००८–११) भयो भने सन् २०१३ मा यसको अध्यक्ष भयो । सन् २०१० देखि २०१४ सम्म नेपाल अति कम विकसित मुलुकहरूको समूहको ब्युरो सदस्य निर्वाचित भयो ।

सन् २००९ देखि २०१२ सम्म नेपाल एलडिसी मुलुकहरूको वैश्विक समन्वय ब्युरोको अध्यक्ष भयो । सन् २०१३ मा विश्व व्यापार संगठनमा एलडिसीका तर्फबाट परामर्श समूहको संयोजक भयो । सन् २००५, २०११ र २०१४ मा नेपाल अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)को परिचालक निकायको सदय भयो । नेपाल सन् २०१४ देखि २०१६ सम्म युएनडिपी, युएनएफपिए, युएनओपिएसको कार्यकारी बोर्डको सदस्य थियो ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७०औँ अधिवेशनमा सन् २०१५/२०१६ को पाँचौँ समिति (प्रशासनिक तथा बजेट)को अध्यक्ष रह्यो । सन् २०१४ देखि २०१७ सम्म नेपाल यातना विरुद्ध महासन्धि सम्बन्धी संयुक्त राष्ट्र संघीय समिति (क्याट)को विशेषज्ञ सदस्य रह्यो । सन् २०१४ देखि २०१७ सम्म नेपाल आइएलओको परिचायक निकायको सदस्य (विशेषज्ञ)को भूमिकामा रह्यो । यही अवधिमा नेपाल विश्व स्वास्थ्य संगठन र युनेस्कोको कार्यकारी बोर्ड सदस्य थियो । सन् २०१६/२०१७ मा संयुक्त राष्ट्रसंघीय महासभाको ७१औँ सत्रको उपाध्यक्ष थियो नेपाल ।

साना हतियारको अवैध व्यापारलाई रोक्ने र उन्मूलन गर्ने कार्यक्रमको कार्यान्वयनमा भएको प्रगति समीक्षासम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलन (२०१८)को नेपाल उपाध्यक्ष थियोे । सन् २०१८/२०१९ मा नेपाल संयुक्त राष्ट्र निशस्त्रीकरण आयोगको उपाध्यक्ष रह्यो । यही वर्ष नेपाल सम्मेलनसम्बन्धी समितिको अध्यक्ष थियो ।

सन् २०१६ देखि १८ सम्म युनिसेफको कार्यकारी बोर्डको सदस्य रहेका वेला सन् २०१६/२०१७ मा नेपाल उपाध्यक्ष थियो । संयुक्त राष्ट्रसंघीय सम्मेलनसम्बन्धी समितिको नेपाल सन् २०१८ देखि २०२१ सम्म सदस्य रह्यो । सन् २०१९/२०२० मा नेपाल समितिको प्रतिवेदक थियो ।

सन् २०१७ देखि २०२० सम्म आइएलओको परिचायक निकायको नेपाल उपसदस्य थियो । सन् २०१८ खेखि २०२० सम्म नेपाल युएन वुमेनको सदस्य थियो । सन् २०१९ देखि २०२० सम्म नेपाल प्रमाण समितिको सदस्य थियो ।

महासभाको ७५औँ सत्रका लागि दोस्रो समितिको ब्युरोको अध्यक्ष तथा छैटौँ समितिको ब्युरो सदस्य रहेको नेपाल सन् २०१९ देखि २०२२ सम्म विज्ञान तथा प्रविधि आयोगको अध्यक्ष थियो । सन् २०१८ देखि २०२२ सम्म नेपाल जनसंख्या तथा विकास आयोगको सदस्य रह्यो । ७६औँ सत्रका लागि दोस्रो समितिको ब्युरोको प्रतिवेदक रहेको नेपाल अल्पविकसित देशहरूमा संयुक्त राष्ट्रसंघको पाँचौँ सम्मेलनको तयारी समितिको सदस्य थियो ।

from Nayapatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *