अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युयोर्क समय अनुशार आज राती ९ बजे संसदको संयुक्त सदनमा सम्बोधन गर्ने भएका छन् ।
बाइडेनले आजको सम्बोधनमा प्रिस्कुल र कम्युनिटी कलेजहरु निशुल्क गर्ने प्रस्ताव सहित १ दशमलव ८ ट्रिलियन डलरको योजना सार्वजनिक गर्ने ह्वाइटहाउसले जनाएको छ । साथै बाइडेनले आजको सम्बोधनमा चाइल्ड केयर ट्याक्स सुविधा बढाउने घोषणा गर्ने समेत अपेक्षा गरिएको छ ।
अमेरिकन फेमिलिज प्लान नामको यो प्रस्तावमा १५ बर्षका लागि खर्च कभर गर्न धनीहरुका लागि ट्याक्स बढाउने विषय समेत समावेश छ । यो प्रस्तावमा तीन र चारबर्षका सबैलाई प्रिस्कुल र दुईबर्ष निशुल्क कम्युनिटी कलेज प्रदान गर्ने उल्लेख छ । यो योजनामा सन् २०२५ सम्म नै संघीय चाइल्ड ट्याक्स क्रेडिट बढाउने र ट्याक्स क्रेडिट स्थायीरुपमा नै पूर्णरुपमा रिफण्ड हुने व्यवस्था गर्ने उल्लेख छ ।
हाउस स्पीकर न्यान्सी पेलोसीले संयुक्त सदनलाई सम्बोधनका लागि पठाएको निमन्त्रणा बाइडेनले स्वीकार गरेका हुन् । यो सम्बोधन आधिकारिक स्टेट अफ द युनियन सम्बोधन भने होइन । किनभने संसदसमक्ष राष्ट्रपतिको पहिलो सम्बोधनलाई स्टेट अफ द युनियन सम्बोधन मान्ने चलन छैन ।
‘झण्डै एकसयदिन अगाडि जब तपाईले कार्यभार सम्हाल्नुभयो । तब तपाईले ठूलो आशाको भावनाका साथ सहायता आउँदै गरेको प्रतिबद्धता जनाउनुभएको थियो । अहिले तपाईको ऐतिहासिक नेतृत्वको कारण सहायता आइसकेको छ ।’ पेलोसीले बाइडेनलाई लेखेको पत्रमा उल्लेख थियो ।
ह्वाइट हाउसले अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ सम्म सबै सेना फिर्ता गर्ने घोषणा गरेकै दिन पेलोसीको पत्र बाइडेनलाई प्राप्त भएको थियो । अमेरिकामा भएको सेप्टेम्बर ११ को आतंककारी हमलाको २० औं बार्षिकीमा अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ह्वाइट हाउसले घोषणा गरिसकेको
सपथ ग्रहण समारोहको सम्बोधन जस्तै संसद समक्ष बाइडेनको पहिलो सम्बोधनमा पनि कोरोना महामारी लगायतका विषय समेटिने छ । कोरोना महामारीका कारण सम्बोधनका क्रममा च्याम्बरमा सांसदहरुको संख्या सिमित गरिनेछ । बाँकीले हाउस फ्लोर र ग्यालरीमा बसेर सम्बोधन सुन्नेछन् । सांसदहरुका पाहुनालाई पनि अनुमति छैन ।