काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। लगातार संसद अवरुद्ध भएपछि गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको बताए। बैठकमा संसदमा सहभागी सबै दलका प्रतिनिधिलाई बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ। संसद गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रपति पौडेलले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छलफल गरेका थिए।
संसद गतिरोध हटाउने विषयमा सत्ता गठबन्धनका शीर्ष नेता र पूर्व महान्यायाधीवक्तासमेत रहेका कानुन व्यवसायीहरूबीच छलफल भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालसहित गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका हुन्।
बालुवाटारमा आइतबार साँझ भएको छलफलमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी थिए। बैठकमा पूर्व महान्यायाधीवक्ता खम्बबहादुर खातीलगायत कानुन व्यवसायीहरू सहभागी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै लगातार संसद अवरोध गर्दै आएको छ। साउन महिना यता संसदको कुनै पनि बैठक सञ्चालन हुन सकेको छैन। एमालेले छानविन समितिको अडान कायमै राखे पनि सत्ता गठबन्धनले यसअघि नै समिति नबनाउने निष्कर्ष निकालिसकेको छ।
गृहमन्त्री श्रेष्ठले संसदमा जवाफ दिँदै सुन तस्करी प्रकरण छानविन गर्न सरकारी संयन्त्र नै काफी रहेको बताएका थिए। उनले ३५ दिनभित्र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धानलाई निष्कर्षमा पुर्याउने बताएका थिए। यसैबीच प्रधानमन्त्री दाहालले संसदमा रहेका राष्ट्रिय दलहरूसँग पनि संसद गतिरोध हटाउने विषयमा छलफल गरेका थिए।