राष्ट्रपति निर्वाचनको ईतिहास, आज हुने राष्ट्रपति निर्वाचनको विविध पक्षहरु

काठमाडौँ- मुलुकमा  २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने  व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए ।

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरे । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गरे । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।

उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत)ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना (०.९३ प्रतिशत) को मत बदर भएको थियो ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।

 

 निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ ।

राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी व्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो ।

जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नु अघि देखाउनु पर्नेछ ।

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदानस्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आज हुने राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

 

राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस १६२२१, नेकपा माओवादी केन्द्र ७७२८, जनता समाजवादी पार्टी २०९७, एकिकृत समाजवादी पार्टी २४७८, जनमत पार्टी १२४२, लोकतान्त्रिक समाजवादी पार्टी ८२७, नागरिक उन्मुक्ति पार्टी ७६५ र राष्ट्रिय जनमोर्चाको १५८ मतभार रहेको छ ।

त्यस्तै नेकपा एमालेसँग १५२८१ मतभार रहेको छ । २२१० मतभार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्‍ने निर्णय गरेको छ ।

१५८० मतभार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बस्दैछ । त्यस्तै २२३ मतभार रहेको नेपाल मजदुर किसान पार्टी, ९६ मतभार रहेको हाम्रो नेपाली पार्टी र १२८७ मतभार रहेका स्वतन्त्रहरू अनिर्णीत छन् ।

राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३९४ मतभार चाहिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *