काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदै छ । फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदै छ ।
उम्मेदवारीका लागि शनिबार १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची शनिबार ४ बजेसम्म सार्वजनिक हुनेछ । दलहरूले उम्मेदवार कसलाई बनाउने भन्ने यकिन हुन बाँकी छ ।
कांग्रेस र एमालेले उम्मेदवार उठाउने सम्भावना छ । संघीय सांसद र प्रदेश सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको अन्तिम नामावली शुक्रबार सार्वजनिक भएको छ । जसमा संघीय संसद्का दुई जनाको नाम समावेश गरिएको छैन । रवि लामिछानेको सांसद पद बदर भएपछि चितवन–२ रिक्त छ ।
त्यस्तै मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा परेका कारण उनको नाम मतदाता सूचीमा समावेश गरिएको छैन । सुरक्षाकर्मी थमन विकको हत्या आरोपमा थुनामा राख्नुपर्ने एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम भने अन्तिम नामावलीमा समावेश गरिएको छ । उनी फरार रहेको प्रहरीले संसद् सचिवालयलाई समेत जानकारी गराइसकेको छ । कानुनी आधार नभएपछि फरार भए पनि उनी सांसदकै हैसियतमा छन् । निलम्बन नभएसम्म सांसद रहने भएकाले मतदाता नामावलीमा नाम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संसद् भवन बानेश्वरमा मतदानस्थल तोकिएको छ । उम्मेदवारी दर्ता पनि संसद्कै ल्होत्से भवनमा हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिनेछ । उजुरी परेमा सोमबार जाँचबुझ गरी त्यही दिन नाम सार्वजनिक हुनेछ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ । २५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले बहुमत ल्याउनुपर्ने हुन्छ । बहुमत ल्याउन नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । मतदानबाट समेत कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ
त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।
तत्कालीन पाँचदलीय गठबन्धनमा निर्वाचनअघि भएको सहमतिविपरीत शक्ति बाँडफाँटमा ‘आत्मघाती’ अडान राख्दा संघदेखि प्रदेशसम्मका राजकीय सत्ताबाट वञ्चित भएको कांग्रेसले राष्ट्रपतिमा बाजी मारेको छ । एमाले–माओवादीसहितको सातदलीय सत्तागठबन्धन दुई महिनामै भत्काएर कांग्रेसले शक्तिमा पुनरागमनको संकेत गरेको छ ।
पुरानो पाँचदलीय गठबन्धनमा थप तीन दल मिसिएर शुक्रबार बनेको आठदलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई अघि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ भएको आठ दलको बैठकमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति बनेको हो । नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चा छन् ।
राष्ट्रपति निर्वाचनमा आठ दलको गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अधिवेशनको प्रारम्भमा नै नेपाल सरकार सदनप्रति अत्यन्त ज्यादा उदासीन देखिएको बताए । सरकारमा प्रधानमन्त्रीसहित १९ जना मन्त्री भए पनि सदनमा कमजोर उपस्थिति रहेको उनको गुनासो थियो । ‘प्रधानमन्त्रीजी साह्रै व्यस्त हुनुहुन्छ, त्यसबाहेक तीनजना उपप्रधानमन्त्री र मन्त्रीहरू हुनुहुन्छ । तर, यो सदनले तीनजनाभन्दा बढी मन्त्रीको अनुहार देख्ने मौका कहिल्यै पाएन । सरकार उदासीन हुँदा सत्तापक्ष उदासीन भयो,’ उनले भने ।
लेखकले सत्तापक्षमा प्रशस्त पार्टीहरू भएको र एक हातको औँलाले त नभ्याउने स्थिति भएर दुवै हातको औँला पुर्याउनुपर्ने अवस्था रहे पनि हाउसमा गणपूरक संख्या नपुग्नु विडम्बना भएको उल्लेख गरे । ‘सरकार र सत्तापक्ष उदासीन भएपछि यो रोग यतातिर पनि सर्ने भयो । प्रतिपक्षी पनि उदासीन हुने भयो । सरकारकै उत्साह मरेपछि प्रतिपक्षीले के गरी उत्साह जगाउने ?’ उनले भने ।
गणपूरक संख्या नपुग्दा कतिपय ऐन–कानुन निर्माणमा असर पुगेको थियो । नयाँ प्रतिनिधिसभाको पनि प्रारम्भमै संसदीय गतिविधिमा सांसदको उपस्थिति न्यून देखिएको हो । शुक्रबार दिउँसो १ बजे बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । सांसदहरूको जिज्ञासा तथा मन्त्रीको धारणापछि सभामुख घिमिरेले सैद्धान्तिक छलफल स्वीकृत गर्न प्रस्ताव गर्दा कोरम नपुगेर बैठक नै स्थगित गर्नुपर्यो ।