राजदूत आचार्यले बिहीबार बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्।

बिहीबार मध्यान्ह सवा १२ बजे बकिङहम प्यालेस पुगेर राजदूतले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ ।

कोभिड जोखिमका कारण महारानी भने समारोहमा भौतिक रुपमा उपस्थित हुने छैनन् । उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछिन्।

ओहोदाको प्रमाणपत्र पेश गर्न जानुअघि बकिङहम प्यालेसबाट राजदूतलाई लिन दूतावाससम्म बग्गी पठाउने प्रचलन छ ।

बकिङहम प्यालेसको समारोहलगत्तै राजदूत आचार्यले लन्डन दूतावासमा एक रिसेप्सन आयोजना गर्दैछन् जसमा बेलायत सरकारका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ लगायत आमन्त्रित छन् ।

बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा बेलायत आएका आचार्यले गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका थिए ।

ज्ञानचन्द्र आचार्य संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा अल्प विकशित, भूपरिबेष्ठित विकाशोन्मुख र साना टापु विकाशोन्मुख मुलुकका लागि उच्च प्रतिनिधि रहेका थिए । उनी सन् २०१२ मा राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनबाट नियुक्त भएका थिए । त्योभन्दा अगाडि उनी संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कमा राजदूत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *