राजदुत नियूक्तिः ओरालो लागेको कुटनीतिक

सरकारले बढीमा तीन वर्षदेखि रिक्त रहेकासहित विभिन्न ११ मुलुकका लागि गरेको राजदूत नियुक्तिको सिफारिसलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भैरहेका छन् । राजदूत नियुक्तिमा आफैंले बनाएको निर्देशिकालाई सरासर कुल्चिइएको त छ नै, कूटनीतिक सर्वोच्चताको यो पदलाई वाञ्छनीय अनुभव र योग्यताको धज्जी उडाउँदै ‘राजनीतिकेन्द्रित’ पनि बनाइएको छ

परराष्ट्र सेवाबाट दुई जना मात्र र बाँकीमा अधिकांश सत्तारूढ नेकपा एमालेको कार्यकर्तापंक्तिका पात्रलाई चयन गरिएको छ । यसले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ को अर्थ र औचित्यमाथि नै प्रश्न उठाएको छ । केही पात्रलाई छाड्ने हो भने, राजदूत पदको मर्यादाकै बर्खिलाप हुने गरी गरिएको यो सिफारिस आफैंमा हास्यास्पद र कूटनीतिक दृष्टिकोणबाट अशोभनीय छ ।

बाहिरी विश्वमा सिंगो मुलुकको प्रतिष्ठासित जोडिएको तथा राष्ट्रहित प्रवर्द्धनमा समेत अहम् भूमिका राख्ने राजदूत नियुक्ति प्रक्रियामा छनोट गरिने पात्रको बौद्धिक, प्राज्ञिक र सामाजिक चिनारीको जति अर्थ रहन्छ, सिकाइ र बुझाइको अलग पाटोमा उभिएको कूटनीतिक वृत्तमा प्रवेशका निम्ति उत्तिकै विषयगत जानकारी पनि आवश्यक पर्छ । तर, यस पटक प्राध्यापन क्षेत्रका केही दिग्गजलाई छाडेर विशुद्ध राजनीतिक कार्यकर्ता तथा पार्टी संगठन, प्रधानमन्त्री र सीमित निकटस्थको गुनपैंचो तिर्ने–तिराउने प्रयोजनमा छानिएकालाई राजदूतमा सिफारिस गरिएको देखिन्छ । यसरी सिफारिस गर्दा परराष्ट्र सेवा र बाहिरबाट ५०–५० प्रतिशतको बराबरी हिस्सा हेर्ने परिपाटी रहिआएकोमा यसपालि भने दूतावासहरूलाई दलीय भर्तीकेन्द्र नै बनाउन खोजिएको छ ।

परराष्ट्र सेवाभित्रका अब्बल कार्यसम्पादन गरेकाहरूलाई प्रोत्साहित गर्न र उनीहरूमा भएको सम्बन्धित क्षेत्रको दीर्घअनुभवबाट लाभान्वित हुनबाट यसरी सरकार पन्छिन खोज्नु उचित होइन । यसको सट्टामा सरकारले चाकडी–चाप्लुसीको प्रवृत्तिलाई प्रश्रय दिएको प्रस्टै देखिन्छ, जुन विडम्बनापूर्ण छ । यसमा राजनीतिक नेतृत्व मात्र होइन, सधैं कार्यसम्पादन मूल्यांकनको रटान सुनाउने तर व्यवहारमा भने यो हदको राजनीतिक पक्षपोषण गराउन लागिरहने परराष्ट्र मन्त्रालयभित्रकै प्रशासनिक संयन्त्र पनि जिम्मेवार छ । पद्धति बसाल्ने कुरामा कहीँकतैबाट हस्तक्षेप हुनासाथ त्यसको प्रतिवाद जनाउन परराष्ट्रमन्त्री र सचिव स्वयं अग्रसर हुनुपर्नेमा माथिल्लो तहबाट जति गलत अभ्यास भइरहे पनि ‘तैं चुप मै चुप’ बस्ने संस्कारले यस्तो प्रवृत्तिलाई थप मलजल गरिरहेको बुझ्न सकिन्छ ।

कोभिड संक्रमणको संकटमा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट सहयोग र समन्वयको अपेक्षा गर्दै परराष्ट्रले पत्राचार गरिरहेको यो बेला नयाँ राजदूत नियुक्तिमा भएको सिफारिसको प्रक्रिया र छनोटले हाम्रो प्रशासनयन्त्रमा जकडिएर बसेको ‘गलत अभ्यास’ लाई पुनः उजागर गरेको छ । आफूमा कूटनीतिक अभ्यास र संस्कार हुर्काउनै नसकिरहेका ‘राजनीतिक राजदूत’ हरूले बाहिरी विश्वबाट भनेजति सहयोग–समन्वय जुटाउन नसकिरहेको यथार्थलाई यहाँ पूरापूर बेवास्ता गरिएको छ । पार्टी संगठनमा रहेको एउटा अमुक पात्रलाई निकटता र भनसुनकै भरमा राजदूत बनाएर फेरि पनि पठाइँदै गरेको अवस्थामा आर्थिक कूटनीतिको अर्थ र अन्तर्य के रहन्छ ? अरू द्विपक्षीय वा बहुपक्षीय सम्बन्धका आयाम विस्तारमा एउटा कोरा कार्यकर्ताले कस्तो कूटनीतिक सम्पर्क स्थापित गर्न सक्ला ? यी पक्षमा सरकारले विचार पुर्‍याएको पाइँदैन ।

यसको मतलब, परराष्ट्र सेवाबाहिरको राजनीतिक नियुक्तिको औचित्य र अपरिहार्यता नरहेको भनिएको होइन, त्यसो भन्न पनि मिल्दैन । तर, कूटनीतिक मुकामहरूमा पठाइने भागबन्डा र निगाहको यो तहको सिफारिसबाट कूटनीतिक ओज र उपलब्धिको खासै आस रहन्न, यति भने निश्चित छ । पछिल्लो राजदूत नियुक्तिमा सिफारिसको नामहरू हेर्दा परराष्ट्र मन्त्रालय यसबेला कुनै निश्चित पद्धतिबमोजिमभन्दा पनि लहडले मात्रै काम गर्न थालेको प्रस्टै देखिन्छ । कूटनीतिजस्तो संवेदनशील र गम्भीर मामिलामा यस्तो लहडको कति दूरगामी असर पर्छ भन्ने जिम्मेवारहरूलाई जानकारी नै छ, त्यसको समयोचित हेक्का पनि राख्नुपर्छ ।

राजदूत भन्ने पद स्वयंको एउटा औकात हुन्छ, र यो हाम्रो राष्ट्रिय हितको जगेर्नासित मात्र होइन, प्रत्यक्ष–परोक्ष रूपमा आतिथेय मुलुकको मान–सम्मानसित पनि जोडिएको हुन्छ । भनिरहनु परोइन, हामीले राजदूत पठाउने सबैजसो मुलुक विश्व कूटनीतिक मञ्चमा हामीभन्दा अघि नै छन् । कुनै देशमा हामीले कुन तहको, कुन क्षमताको अर्थात् केकस्तो योग्यता भएको व्यक्तिलाई आवासीय दूत बनाएर पठाउँछौं भन्ने कुराले उक्त राष्ट्रसित हामी के–कस्तो कूटनीतिक तथा मित्रसम्बन्ध राख्न चाहन्छौं भन्ने सन्देश पनि बोकेको हुन्छ । हामीले त्यो देशलाई कुन मूल्यका साथ हेरिरहेका छौं भन्ने पनि यसबाट छर्लङ्ग हुन्छ । त्यसैले, कुनै पनि देशमा हामीले कूटनीतिप्रति बिलकुल बेसरोकार व्यक्तिहरूलाई राजदूत बनाएर पठाउने भूल घरीघरी दोहोर्‍याइरहनु हुँदैन । त्यसो गर्दा मित्रराष्ट्रको सम्मान त हुँदैन–हुँदैन, हाम्रै राष्ट्रिय स्वार्थको पनि प्रवर्द्धन हुन सक्दैन, जिम्मेवार तहमा भएकाले यति अक्कल पुर्‍याइदिने हो भने हाम्रो कूटनीति सधैं दुरवस्थामा रहिरहनु नै पर्दैन ।

मनपरी राजदुत नियूक्तिमा

तीन वर्षदेखि खाली हुन लागेका मुलुकमा सरकारले राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत लिनु अगावै राजदूतको सिफारिस गरेका हुन् । परराष्ट्र मन्त्रालयका कर्मचारीलाईसमेत जानकारी नदिइकन प्रधानमन्त्रीले राजदूत सिफारिस गरिएको भन्दै परराष्ट्रभित्र असन्तुष्टि चुलिएको छ । वासिङटन बसेर आएका र कार्यकाल सकिन लागेकाे मात्र होइन बहु-विवादित सहसचिवलाई राजदूत सिफारिस गरेर सरकारले गलत नजिर कायम गरेको भन्दै मन्त्रालयमा असन्तुष्टि देखिएको हो । २७ वर्षको करिअरमा २४ वर्ष  विदेशमा नै बिताएका राजदूत हुने अनि महत्वपूर्ण महाशाखा हेरेकाहरू खुरुखुरु घर जानुपर्ने अवस्था सरकारले निम्त्याएको उनीहरूको तर्क छ ।

कन्सुलर र प्रशासनबाहेक दुईपक्षीय कार्यमा दख्खल नराख्‍ने, विदेशमा आफ्ना मानिस लगेर छाड्ने कर्मचारी सिफारिस भएको दाबीसहित सहसचिवहरूले सामूहिक असन्तुष्टि आइतबार परराष्ट्र मन्त्रीसमक्ष व्यक्त गर्ने भएका छन् । राजदूत सिफारिस भएको एक साता भइसक्दा पनि परराष्ट्रका सहसचिवहरूलाई समेत जानकारी नदिएकाले पनि उनीहरू रुष्ट भएका हुन् ।

एक साताअघि अस्ट्रेलियाबाट राजदूत फिर्ता बोलाएर त्यहाँ पनि अर्को राजदूत नियुक्ति सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ११ राजदूत सिफारिस गरिएको जानकारी संसद् सचिवालयमा आएको छ ।

उजुरी बुझ्‍ने परराष्ट्र सचिव यतिबेला मुख्य सचिव छन् । सिफारिसमा परेका श्रेष्ठ दुई सातापछि सेवा निबृत्त हुँदैछन् । यसअघि पनि सरकारले सेवा निवृत्त हुन लागेकालाई राजदूत नबनाउने भनिरहेको मात्र होइन कूटनीति र बाहिर ५०/५० प्रतिशत हुने भनिएको थियो । त्याे निर्देशिका अझैँ परराष्ट्रमा धमिरा लागेको छैन होला । किनकि ज्ञवाली परराष्ट्रमन्त्री भएपछि त्यो निर्देशिका आएको हो भने यिनै मुख्यसचिव त्यतिबेला परराष्ट्र सचिव थिए । अर्का सेवा निवृत्त हुन लागेका यज्ञबहादुर हमाललाई भने राजदूत सिफारिस गरिएको छैन ।

त्यस्तै मन्त्रालयमा रहेको आधार हेर्ने हो भने भरतकुमार रेग्मी छन् । यसअघि कालीप्रसाद पोखरेल पनि नियुक्ति नपाइ घर गएका हुन् । अन्य यस्ता धेरै उदाहरण छन् । परराष्ट्रबाटै अर्का सहसचिव  निर्मलराज काफ्ले पनि राजदूत सिफारिस भएका छन् । उनी यसअघि नै सिफारिस हुन पर्ने भए पनि उनलाई पनि सरकारले  सिफारिसमा ढिलाई गरेको एक सहसचिवले सुनाए ।

शुक्रबार मात्रै पुनर्नियुक्त भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै राजदूत सिफारिस एक साताअघि भएको बाहिर ल्याएका हुन् । संसदीय सुनुवाइमा शुक्रबार संसद् सचिवालयमा नाम पठाइएको छ । सबै स्थानमा पूरा हुने गरी राजदूत सिफारिस भएको जानकारी ज्ञवालीले दिएका छन् ।

परराष्ट्र सेवाका सहसचिव काफ्ले अस्ट्रिया (भियना)का लागि राष्ट्रसंघ स्थायी प्रतिनिधिको रुपमा सिफारिस भएका छन् भने अमेरिकामा नियोग उपप्रमुख रहेर  केही समय अघि फर्केका जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट चयन गरिएको हो । अन्य सबै राजनीतिक तहबाट सिफारिस भएकाहरु अधिकांश प्राध्यापक नै छन् । पूर्व मन्त्री,  पूर्व सांसद, पूर्व मेयर र एनजीओकर्मीलगायतकाहरू राजदूतमा सिफारिस छन् ।

पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिविका राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया, पद्‍मरत्‍न तुलाधरकी छोरी सुम्‍निमा तुलाधर- अस्ट्रेलिया, काठमाडौँ विश्वविद्यालयका जंगबहादुर चौहान-रुस, नारायणप्रसाद संग्रौला-म्यानमार, पूर्वमन्त्री युवराज कार्की-बहराइन, पूर्वसांसद कुलप्रसाद नेपाल- ब्राजिल र झापाकी सुमित्रा सुवेदी-डेनमार्कमा र मेराज मुसलमान-साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् ।

जापान र ओमानको भने चार महिना कार्यकाल थप गरिएकाले त्यहाँ भने नियुक्ति सिफारिस गरिएको छैन । सिफारिसमा परेकाहरू कूटनीतिबारेमा खासै जानकारी नराखेकाहरू परेका हुनाले यसमा लामो प्रशिक्षणसहित पठाउन पर्ने देखिन्छ । कूटनीति सेवामा पनि न्याय हुनेगरी सिफारिस हुन आवश्यक छ भने बाहिरबाट पनि सम्बन्धित मुलुक बुझेका व्यक्ति राजदूत बनाउँदा राम्राे हुने सुझाव विभिन्न चरणमा आइरहेको छ । तर, त्यसलाई बेवास्ता गरिएको देखिन्छ ।

सेवामा भएका भन्दा बाहिरबाट गएकाको काम गराई राम्राे छ । तर, बाहिरबाट पनि त्यो तवरको काम गर्न सक्ने क्षमता भएकालाई पठाउन आवश्यक छ । क्षेत्रगत विज्ञलाई पठाउन आवश्यक देखिए पनि अधिकांश त्यही गएर कूटनीतिको कखरा नपढुन् । सिफारिस भएका सबै नियुक्त हुँदा नेपालकाे कूटनीतिक नियोग भरिभराउ हुनेछ । यसरी भरिएका राजदूतमा २१ मुलुकमा कूटनीतिक सेवा बाहिरबाट राजदूत हुनेछन् भने ९ मुलुक र तीन राष्ट्रसंघीय स्थायी नियोगमा कूटनीतिक सेवाका राजदूत रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *