यतिखेर रवि लामीछानेको विषयमा भएका दोषहरु देखाउँदा पनि उनका साईबर स्यालहरु भुक्न थाल्छन । तर देशमा बेथिति भयो भनेर थिती बसाल्न आएको बताउँदै त्यहि बेथितिलाई आड बनाएर उनले मैले चाही जे गरेनी हुन्छ भन्ने जुन नीति लिए त्यहि नै उनको पतन बन्न सक्छ । उनले जसरी प्रेस काउन्सिलले मागेको विवरण लत्याएर साईबर स्यालको हुइयामा लागेर कानुनलाई हातमा लिंदै गए आज अदालतले कानुन सिकायो । त्यो अत्यन्तै स्वागतयोग्य छ । उनले नागरिकताको विषयमा जे टुंगियो त्यो भन्दा ठुलो त झुटो विवरण पेस गरेर पासपोर्ट दिएको कुरा अदालतमै प्रबेस पाएको छ । यदि यसै गरी खेलाजी गर्दे जाने हो भने रवि लामीछाने यो पासपोर्ट काण्डमा जेल जाने संभावना पनि छ ।
रविको नागरिकताको विषय अदालतले टुंग्याएको छ। अब उनले जिल्ला प्रशासन कार्यालयमा गएर, तोकिएको प्रक्रिया पूरा गरी नागरिकता लिन सक्ने छन्। एउटा नेपालीका रूपमा उनको त्यो हक सुरक्षित छ। उनी फेरि पनि वंशजको नागरिक हुने छन्। नेपाली नागरिकका रूपमा उनका सारा हक स्थापित हुने छन्।
रविले अमेरिकी राहदानी बोकेकै बेला झुटा विवरण पेस गरी नेपाली राहदानी लिएको आरोपबाट भने सफाइ पाएका छैनन्। यो गम्भीर फौजदारी आरोप हो। यसको उचित छानबिन हुन जरूरी छ। छानबिन गरेर अदालतमा मुद्दा जान्छ भन्ने सुनिश्चित गर्ने जिम्मेवारी अब प्रधानमन्त्री प्रचण्डको हो। यो मुद्दाको किनारा नलागुन्जेल रवि गृह मन्त्रालय फर्किने छैनन् भन्ने ग्यारेन्टी गर्ने जिम्मेवारी पनि प्रधानमन्त्रीकै हो।
बहसका क्रममा रविका वकिल वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमले राहदानी रिटको विषय नभएको बताएपछि इजलासमा रहेका न्यायाधीश ईश्वर खतिवडाले सोधेका थिए, ‘तपाईंले राहदानीको कुरा कोट्याइहाल्नुभयो। रवि लामिछानेले अमेरिकी नागरिकता लिएको, सन् २०१५ मा कायम नरहेको नेपाली नागरिकता प्रयोग गरी नयाँ राहदानी बनाएको र सन् २०१८ मा अमेरिकी राहदानी त्यागेको त स्थापित तथ्य हुन्?’
त्यसपछि खतिवडाले अधिवक्ता गौतमलाई थप सोधे— कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ?
यसरी रविको राहदानी कसुर अदालतमा बहसका क्रममा पनि स्थापित भएको छ। अब यसमा उनलाई सत्तासीनहरूले आफ्नो स्वार्थमा उन्मुक्ति दिन सक्दैनन्। यसमा अन्तिम सफाइ वा सजाय अदालतले मात्र दिन सक्ने छ।
अब यो विषय संसदमा पनि प्रवेश गर्ने छ। हिजोसम्म रविको मुद्दा अदालतमा भएकाले कतिपय सांसदहरूले चाहेर पनि यो विषय उठाएनन् होला। यति गम्भीर फौजदारी आरोप लागेको व्यक्तिले अब अदालतबाट सफाइ नपाई वा अदालतले दिएको सजाय भुक्तान नगरी सरकारमा जान मिल्दैन भन्ने कम्तीमा प्रतिपक्षी सांसदहरूलाई थाहा छ। र उनीहरूले यो विषय उठाउने छन्।
यसमा सबभन्दा ठूलो जिम्मेवारी स्वयं रवि लामिछाने र उनको दलको छ।
रवि अब के चाहन्छन्? राष्ट्रिय स्वतन्त्र पार्टी के चाहन्छ?
रविमाथि मिडियाले प्रश्न उठाएपछि कतिपयले टिप्पणी गरेका छन्— रवि नेता बनेको, अझ एकैपटक उपप्रधानमन्त्री र गृहमन्त्री बनेकोमा सबैभन्दा धेरै डाह नेपालका पत्रकारलाई भएको छ!
कम्तीमा स्वयं रविलाई पनि के थाहा छ भने, आज उनी टिभीमा कार्यक्रम चलाउँथे भने र कुनै राजनीतिज्ञ रविको जस्तै राहदानीको विषयमा आरोपित हुन्थ्यो भने उनले पनि खबरदारी गर्ने थिए। आजका मूलधारका पत्रकारले उठाउनेभन्दा चर्को स्वरमा, औंला ठड्याएर खबरदारी गर्ने थिए। फौजदारी आरोप लगभग स्थापित भएको मानिसलाई छानबिन प्रभावित गर्ने गरी गृह मन्त्रालयको जिम्मा दिने नेताहरूको ‘नाकको डाँडी भाँच्नुपर्ने’ टिप्पणी गर्ने थिए सायद।
त्यसैले आज रविविरूद्धको खबरदारी कसैले, कसैको डाह गरेको विषय होइन। पत्रकारिताको आधारभूत जिम्मेवारीको विषय हो।
जसको नेतृत्वमा सरकार बने पनि रवि सत्तामा जान चाहन्थे, त्यो प्रष्ट छ। अहिले प्रचण्डको नेतृत्वमा गए। शेरबहादुर देउवा वा ओलीको नेतृत्वमा सरकार बनेको भए उनी त्यो सरकारमा पनि जान्थे। सरकारमा उनले सकेसम्म गृह मन्त्रालय नै दाबी गर्थे। किनभने गृहमा गएपछि आफूविरूद्धको अनुसन्धान सामसुम हुन्छ भन्ने उनलाई थाहा थियो। सायद सत्तामा पुगेपछि अदालतमा रहेको मुद्दाबाट पनि छुटकारा पाउँछु भन्ने भ्रम र आशा उनलाई थियो।
नेपालको राज्यसत्ताका संयन्त्रहरू कति कमजोर र लाचार छन् भने, तिनले सत्तासीन जो कसैको ताबेदारी गर्छन्। चाहे उसका लाख कमजोरी किन नहुन् वा उसले गम्भीर अपराध नै गरेको किन नहोस्!
हाम्रो लोकतन्त्रका इँटा कति कमजोर छन् भन्ने यसले पनि देखाउँछ। सच्चा लोकतन्त्रमा सत्तासीनहरूको गल्ती वा अपराध ढाक्न राज्य प्रयोग हुँदैन। राज्यले त ती अपराधको छानबिन गर्छ। चाहे आरोपित जतिसुकै ठूलो ओहोदामा आसीन किन नहोस्।
यसपालि संयोग कस्तो पर्यो भने जुन बेला नेपालमा रविको अपराध ढाकछोप गर्न राज्यका संयन्त्र तल्लीन थिए, त्यही समयमा अमेरिकामा राष्ट्रपति जो बाइडेनले आफू उपराष्ट्रपति हुँदा राज्यका संवेदनशील कागजपत्र घर लगेको मामिलामा एफबिआईले छानबिन गर्दै थियो। बाइडेनको डेलावेरस्थित घरमा धमाधम एफबिआईको छापा चलिरहेको थियो।
edit version from setopati