रवि लामिछानेको ‘द लिडर’ कार्यक्रमका लागि तिरेको दर्ता शुल्क अझै फिर्ता नपाएको गुनासो

कैलालीको जानकी गाउँपालिका-५ का आदित्य न्यौपानेले असार २ गते फेसबुकमा एउटा स्ट्याटस लेखे। उनको स्ट्याटस ‍पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेसँग सम्बन्धित थियो।

न्यौपानेले लेख्छन्, ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँदै ‘द लिडर’ कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो। सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ। तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ। आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ। ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो।’

उनी अगाडि लेख्छन्, ‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो। अर्थात् ३०४७१×१०००= ३०४७१००० रकम हुन आउँछ। मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान्। अब हामी सबैको पैसाको जिम्मा कसले लिने? तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो। पैसा बुझाएको प्रमाण कतै दिइएन। रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो। रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन। तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता।’

यी सबै विवरण विस्तार लगाएपछि आखिरीमा न्यौपाने लेख्छन्, ‘अब यत्ति पढेपछि आलोचना सहन नसक्ने गाली गर्न आउने होलान्।’

न्यौपानेले फेसबुकमा यस्तो स्ट्याटस लेखेपछि हामीले उनीसँग सम्पर्क गर्यौं।

उक्त स्ट्याटस पढेर धेरैले गाली गरेका भए पनि चार-पाँच जनाले आफूहरूले पनि पैसा फिर्ता नपाएको भन्दै सम्पर्क गरेको न्यौपानेले सेतोपाटीलाई बताए।

‘उहाँहरूले कुन फेसबुक पेजमा स्ट्याटस लेखेर पैसा फिर्ता लिन भन्नुभएको थियो रे। हामीले त रवि लामिछानेको अनुहार सम्झेर रजिस्ट्रेसन गरेका थियौं। अरू पेज-सेजमा आएको कुरा थाहा पाएनौं,’ न्यौपानेले भने।

उनका अनुसार बिहीबार ग्यालेक्सी फोरकेबाट एक जनाले सम्पर्क गरेका थिए। पैसा पठाइदिन्छु भनेर खाता नम्बर मागेको उनले बताए।

न्यौपानेको स्ट्याटसले दुइटा प्रश्न उब्जाउँछ।

पहिलो, उनले भनेजस्तो ३० हजारभन्दा बढी मानिसले हजार रूपैयाँ तिरेर रजिस्ट्रेसन गरेका हुन् भने तीन करोडभन्दा बढी रकम आयोजकले उठाएको देखिन्छ।

दोस्रो, कार्यक्रम नहुने भएपछि आयोजकले फटाफट पैसा फिर्ता गरिदिनुपर्नेमा अल्झाउन खोजेको देखिन्छ।

२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गरिएको थियो। पत्रकार सम्मेलनमा बोल्दै रवि लामिछानेले भनेका थिए, ‘एउटा परिपक्व लिडर कसरी बनाउने? भिजन भएका मानिसहरूलाई कसरी समावेश गराउने? उहाँहरूलाई हाम्रा निर्णायकहरूबाट अझ कसरी तिखार्दै लगेर साँच्चै नै एउटा राष्ट्रको सेवक कसरी बनाउने भन्नेमा जोड दिएर यो कार्यक्रमलाई जोडेका छौं।’

सात प्रदेशका विभिन्न स्थान र विदेशमा अडिसन गरी एक सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने लामिछानेले बताएका थिए।

‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने भनिएको थियो। कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए।

सुरूमा ‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाइलो टिभी एचडी र गुन्द्रुक एपबाट प्रसारण हुने भनिएको थियो। लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरकेमा गएपछि यो कार्यक्रम त्यहीँ प्रसारण हुने अपेक्षा गरिएको थियो।

कार्यक्रम उत्पादक एसआरबिएन मिडियाका प्रमुख कार्यकारी विपिनकुमार आचार्य पनि लामिछानेको टिममै थिए। लामिछाने ग्यालेक्सी फोरके गएपछि उनी पनि त्यहीँ गएका थिए। आचार्य अहिले ग्यालेक्सी फोरकेमै क्रियटिभ डाइरेक्टर छन्।

द लिडरमा सहभागी हुन चाहनेको दर्ता शुल्कबारे हामीले शुक्रबार रवि लामिछानेलाई सोध्यौं।

उनले आफू कार्यक्रम सञ्चालक मात्र भएकाले कति जनाले रजिस्ट्रेसन गरे र तीमध्ये कतिको पैसा फिर्ता भयो र कतिको अझै बाँकी छ भन्ने ठ्याक्कै तथ्यांक नभएको बताए।

आफूले ग्यालेक्सी फोरकेमा अन्तिमपटक चलाएको कार्यक्रमबाट पनि पैसा फिर्ता लिन भनेको र त्यसअघि पनि धेरैपटक भनिसकेको उनको भनाइ छ।

आयोजकले पैसा फिर्ता नदिए आफूले नैतिक जिम्मेवारी लिँदै सबैको पैसा फिर्ता गरिदिने लामिछानेले बताए।

‘मान्छेहरूले मलाई देखेर त्यो कार्यक्रममा भाग लिन खोजेका थिए। त्यही भएर उनीहरूको पैसा फिर्ता दिनु मेरो नैतिक दायित्व हो। अरू कसैले फिर्ता नदिए म दिन्छु,’ उनले भने।

कति जनाले आवेदन दिएका हुन् र कतिको पैसा फिर्ता भयो भन्नेबारे हामीले एसआरबिएन मिडियाका प्रमुख कार्यकारी आचार्यलाई सोध्यौं।

उनले ११ सय जनाभन्दा बढीले रजिस्ट्रेसन गरेको र तीमध्ये ७० प्रतिशतले पैसा फिर्ता लिइसकेको दाबी गरे।

त्यसो भए न्यौपानेको रजिस्ट्रेसन नम्बर कसरी ३० हजारभन्दा बढी भयो त?

हाम्रो यो जिज्ञासामा आचार्यले रजिस्ट्रेसन नम्बर १ बाट सुरू भएर क्रमैसँग गएको नभई इच्छुकले विवरणहरू भरेपछि एपबाट जेनरेट भएको बताए।

‘सिरियल्ली गएर त्यति भएको होइन। एपबाट पाँच अंकको नम्बर जेनरेट भएकाले कसैको २७ हजार, कसैको ३० हजार भएको हो,’ आचार्यले भने।

उनले आफूहरूले पैसा फिर्ता दिन आलटाल नगरेको दाबी पनि गरे।

‘पहिलो कुरा हामी कार्यक्रम गर्ने कि नगर्ने भन्ने अझै निर्णयमा पुगिसकेका छैनौं। सुरूमा कोरोनाले रोकियो। अहिले रवि सर राजनीतिमा जानुभयो। अब अर्को सञ्चालक राखेर कार्यक्रम गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बाँकी छ,’ आचार्यले भने, ‘रजिस्ट्रेसन गरेका केहीले अहिले पैसा फिर्ता लिँदैनौं, पछि कार्यक्रम भयो भने सहभागी हुन्छौं भन्नुभएको छ।’

पैसा फिर्ता लिन चाहनेलाई एक हजारमा सय रूपैयाँ ब्याज थपेर एक हजार एक सय दिने उनले बताए। सय रूपैयाँ ब्याजको हिसाब कुन आधारमा निकालिएको भन्ने चाहिँ उनले स्पष्ट पारेनन्।

फिर्ता लिन चाहनेलाई विभिन्न वालेट, बैंक खाता र  प्रत्यक्ष नगद दिने गरिएको उनले बताए।

‘हामीले त्यो रकम चलाएका छैनौं, राखेका मात्र छौं। लिन्छु भन्ने जति सबैको पैसा फिर्ता गरिदिन्छौं,’ आचार्यले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *